८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

कर्णालीका पाँच सय बढी क्वारेन्टाइनमा

वीरेन्द्रनगरस्थित खुला चौरमा नेपाली सेनाको निर्माण गरेको क्वारेन्टाइन । तस्बिरः गणेश/नागरिक

वीरेन्द्रनगर- रोजगारीका लागि कर्णालीबाहिर तथा भारत गएका पाँच सय २५ जनालाई क्वारेन्टाइन र एक जनालाई आइसोलेसनमा राखिएको छ। कर्णालीमा कोरोना त्रास बढ्दै गएपछि उनीहरूलाई क्वारेन्टाइनमा राखिएको हो।

सबैभन्दा बढी कर्णाली प्रदेशको राजधानी सुर्खेतको क्वारेन्टाइनमा छन्। यहाँ एक सय ९२ जना क्वारेन्टाइनमा राखिएको छ। त्यस्तै दैलेखमा दुई, जाजरकोटमा आठ, रुकुम पश्चिममा ३० जनालाई क्वारेन्टाइनमा राखिएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी लोकनाथ तिम्सिनाले जानकारी दिए। उनका अनुसार सल्यानमा २१, डोल्पामा एक सय ३०, जुम्लामा ७८, मुगुमा नौ र कालीकोटमा ५५ जनालाई क्वारेन्टाइनमा राखिएको छ। चीनसँग सीमा जोडिएको हिमाली जिल्ला हुम्लामा भने हालसम्म कसैलाई क्वारेन्टाइनमा राखिएको छैन। प्रदेश प्रहरी कार्यालयका अनुसार जुम्लामा एक जनालाई आइसोलेसनमा राखिएको छ।

सुर्खेतका चार, रुकुम पश्चिमका चार, जुम्लाका १५ र कालीकोटबाट ४१ जना क्वारेन्टाइनबाट घर फिर्ता भएका छन्। त्यस्तै रुकुम पश्चिमका दुई, सल्यानका पाँच र डोल्पाका दुईजना होम क्वारेन्टाइनमा बसेको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी तिम्सिनाले जानकारी दिए। सबैभन्दा बढी भारतबाट आएकालाई क्वारेन्टाइनमा राखिएको जनस्वास्थ्य सेवा निर्देशनालयकी निर्देशक रीता जोशी भण्डारीले जानकारी दिइन्। कर्णालीको प्रमुख रोजगारीको गन्तव्य भारत भएको र त्यहाँबाट फर्केका धेरै क्वारेन्टाइनमा रहेको उनको भनाइ छ। भारतमा पनि दिनानुदिन कोरोना भाइरसका संक्रमण बढ्दै गएको छ।

भारतबाट आएकाले १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिले निर्णय गरेको थियो। उक्त निर्णय भए पनि कर्णालीमा भारतबाट आएका सबैलाई क्वारेन्टाइनमा राखिएको छैन। उनीहरूको स्वास्थ्य परीक्षण गर्दा ज्वरो देखिएकालाई क्वारेन्टाइनमा राखिएको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले जानकारी दिए। भारतबाट आएकाको स्वास्थ्य परीक्षण गरेर मात्र घर पठाइएको उनको भनाइ छ। भारतमा कोरोना संक्रमण बढेकाले त्यहाँबाट आउनेहरूबाट नेपालमा पनि संक्रमण फैलने जोखिम रहेको भन्दै स्थानीय स्थानीय गीता चपाईंले भारतबाट आउने सबैलाई क्वारेन्टानमा राख्नु पर्ने बताइन्।

हालसम्म कर्णालीमा करिब साढे आठ हजारभन्दा बढी मान्छे भित्रिएका छन्। साथै कर्णाली प्रदेशबाट कोरोना भाइरस नमुना परीक्षणका लागि थप ११ जनाको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा पठाइएको छ। कर्णालीका केही जिल्ला, आइसोलेसल, क्वारेन्टाइन र होम क्वारेन्टाइनमा बसेकाहरूको स्वाब पठाएको हो।

यसभन्दा अघि कर्णालीबाट १७ जनाको स्वाब परीक्षण गरिएको थियो। ती सबैको नमुना परीक्षण नेगेटिभ (कोरोना नभएको) देखिएका थिए। स्वाब संकलन गरिएका व्यक्तिहरूको ज्वरो, स्वासप्रश्वासमा समस्या देखिएकाले नमुना परीक्षणका लागि स्वाब संकलन गरी काठमाडौं पठाइएको जनस्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ। उनीहरूको परीक्षण रिपोर्ट दुई दिनसम्ममा आउने बताइएको छ। कोरोना भाइरसको जोखिम धेरै नभए पनि त्रास बढेको जनस्वास्थ्य निर्देशनालयले जनाएको छ।

 

प्रकाशित: १८ चैत्र २०७६ १०:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App