६ वैशाख २०८१ बिहीबार
स्वास्थ्य

कोरोना कहर : जो हिँडेरै घर फर्किए (भिडियो)

काठमाडौैबाट वीरगञ्जका लागि हिँडेका यात्रुहरु कुलेखानीमा। तस्बिर : विजय राई

कुलेखानी - काठमाडौंमा मजदुरी गर्दै आइरहेका वीरगञ्जका मञ्जित कुलेखानीमा भेटिए। पसिनाले निथ्रुक भिजेका उनलाई वीरगञ्ज पुग्नु थियो। उनी र उनका साथीहरु आज विहान ३ बजे काठमाडौंबाट वीरगञ्जका लागि पैदल हिँडेका हुन्। उनीसँगै छन् रक्सौलका मुस्लिम आलम। उनलाई पनि रोगको भन्दा भोकको पिर छ। 'काठमाडौंमा बसियो भने भोकै पर्ने भइयो', उनले भने, 'खानकै समस्या भयो जेनतेन ८ दिन कोठामै बसियो। अब काम पनि छैन रासन पनि छैन।'

'भोकै बस्न कसरी सकिन्छ र?', मञ्जित प्रश्न गर्छन्, 'दुई दिनमा त गाउँ पुगिन्छ। घर पुगेपछि त त्यो सहजिलो हुन्छ नि।'

यतिबेला काठमाडौंबाट हिँडेर घर फर्कनेहरुको लर्को कुलेखानी, भीमफेदी, भैसे क्षेत्रमा देख्न सकिन्छ।  उनीहरुले दैनिक खानपिनकै समस्या भएपछि हिँडेरै घर जान लागेको बताए।

रक्सौलाका भोला काठमाडौंमा मिस्त्री काम गर्छन्। उनी काठमाडौं आएको पनि धेरै वर्ष वित्यो। तर यो पटक काम गर्न आउँदा नसोचेको समस्या दियो विश्वव्यापी फैलिएको कोरोना भाइरसले। उनले पनि लकडाउनलाई थेग्न सकेनन्। यसैले हिँडेरै साथीहरुसँग रक्सौल जाने सल्लाह गरे। विहान ३ बजे काठमाडौंबाट हिँडेका उनी ९ बजे कुलेखानी आइपुगेका छन्।

हिँडेर मात्र होइन साइकलमा समेत यहाँसम्म मानिसहरु आएका छन्। साइकलमा छिटो हुने भन्दै उनीहरु साइकलमा आएका हुन्। हेटौंडा पुगेपछि हाइवेमा साइकलमा सरर जान पाइने उनीहरुको आशा छ। लकडाउनमा बाहिर हिँड्दा प्रहरीले कारबाही गर्ने डरले पनि एकाबिहानै हिँडेको उनीहरुले बताए।

सरकारले कोरोना भाइरस नियन्त्रण गर्न लकडाउन गरेपछि श्रमिकवर्ग प्रभावित बनेका छन्। करिव १० लाख श्रमिक लकडाउनबाट प्रभावित बनेका छन्। काठमाडौंमा दैनिक गुजरा चलाउन मुस्किल भएपछि हिँडरै घर जान उनीहरु कस्सिएका हुन्। विशेषगरी प्रदेश नम्वर दुईमा घर भई काठमाडौंमा काम गर्दै आएकाहरु र भारतबाट काम गर्न यहाँ आएकाहरु काठमाडौंबाट हिँडेरै घरतर्फ लागेको कुलेखानीमा देख्न सकिन्थ्यो।

कुलेखानीसम्म साइकलमा आएका एक कवाडि मजदुरले भने, 'खानपिन केही मिलेन। साहुले घर जाउ भन्यो। तीन बजे काठमाडौंबाट निस्केको। भारतको मोतिहारी पुग्नु छ।'

काभ्रेस्थलीमा फलामको काम गर्ने राजबाबुलाई पनि दुई दिनमा घर पुग्नु छ। काभ्रस्थलीबाट उनी र उनका साथीहरु राति १ बजे घरको बाटो तय गरेका हुन्। उनको पनि त्यही गुनासो छ, 'हामी जस्ता दैनिक काम गरेर खाने मानिस काम नभएपछि कसरी काठमाडौं बस्ने? दुई दिनमा त घर पुगिन्छ। भोकको दु:ख भन्दा यही उपाय राम्रो लाग्यो।'

 

प्रकाशित: १८ चैत्र २०७६ ०९:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App