coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

ज्वरोका विरामीलाई औषधि बोक्दै वडा अध्यक्ष

बाजुरा- बडिमालिका नगरपालिका ४ रिला गाउँमा ज्वरोका विरामी देखिए। ज्वरो आएलगत्तै उनीहरु उपचार तर्फ लागे, तर उपचारमा समस्या देखियो। स्वास्थ्य संस्थादेखि निजी मेडिकलले स्वयम विरामीलाई नजिक गएर उपचार गर्न तयार भएनन्। मौसमी संक्रमणबाट ज्वरो आएपनि कोरोनाकै त्रास सबैतिर फैलियो। यतिसम्म की विरामीलाई सवारी समेत साधनले बोक्न मानेनन्।

आवत जावतमा समेत समस्या भयो। विरामी अत्तालिए। उपचार नहुने चिन्ता विरामीमा देखियो। आत्मबल कमजोर हुने अवस्था आयो। आत्मबल नै कमजोर हुँदा विरामीमा जोखिम बढ्ने देखेपछि वडा अध्यक्ष सुरेन्द्र नाथ आफै सक्रिय भए। स्वास्थ्य संस्थामा खबर गर्नेदेखि औषधि ल्याउने काम अध्यक्ष नाथले नै गरिरहेका छन्।

सरकारको लकडाउन घोषणापछि रिलामा २४ जना जिल्ला बाहिरबाट आएका छन्। ती मध्ये भारतबाट आएका ७ जना छन्। भारतबाटै आएका तीन जनामा ज्वरोको समस्या देखिएको हो। चदारा परिवारका बुबा छोरी नै विरामी परे।

उनीहरुलाई ज्वरो आएको हप्तादिन बितिसकेको छ। तर उपचारपछि अवस्था सामान्य हुँदै गएको विरामीका आफन्तले बताएका छन्। स्वास्थ्यकर्मीले धपेडी र मौसमी संक्रमण भएको बताएका छन्। उनीहरु प्रति पनि गाउँमा नकरात्मकता फैलियो र औषधि बिक्रीमा समेत मेडिकलले आनाकानी गरे।

वडा अध्यक्ष सुरेन्द्र नाथ स्वयमले लक्षण बताउदै औषधि ल्याएर खुवए। हाल उनीहरु सामान्य अवस्थामा छन्। तर पनि गाउँमा उनीहरु प्रतिको हेराइ फरक देखिन्छ। गाउँमा ज्वरोकै कारण थला परेका अर्का विरामी पनि छन्। उनको पनि समस्या उस्तै छ। सवारी साधानले बोक्न मानेनन् र औषधि उपचारमा पनि समस्या देखियो।

रातिको समयमा बढी ज्वरो आउने हुँदा टाइफाइडको संक्रमण हुने आशंकामा औषधि चलाइएको छ। त्यो औषधि बुढीगंगा नगरपालिकाको मेडिकलबाट ल्याएर अध्यक्ष नाथले नै दिएका छन्। मेडिकलमा औषधि किन्न जाँदा आफूलाई समेत नजिक नआउन र सुरुमा औषधि दिन नसकिने बताएको नाथको भनाई छ।

रिलामा मात्र भारतबाट ७ जना, काठमाडौंबाट ८ जना, धनगढीबाट ६ जना र महेन्द्रनगरबाट ३ जना आएका छन्। ती सबै होम क्वारेन्टाइनमा बसिरहेका छन्। तर पनि अलग कोठा र खानपानको व्यवस्था छैन। घरमै राख्नु पर्ने बाध्यता रहेको वडा अध्यक्ष सुरेन्द्र नाथले बताएका छन्।

सामान्य लक्षण देखिएकै भरमा कोरोनाको संक्रमण नहुने स्वास्थ्यकर्मीको भनाई छ। मौसम परिवर्तन भएको अवस्था हो, यो समय मौसमी संक्रमण पनि गएका वर्षहरुमा देखिदै आएकोले त्रसित हुनु पर्ने अवस्था नभएको बरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तको भनाई छ।

तर बाहिरबाट आएकाहरुले अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने सुझाव अधिकृत पन्तको छ। बाहिरबाट आएर पनि घरमै बस्नु परेका त्रास रिलाबासीमा छ। यस बारे नगरपालिकासँग वडाको बजेटबाट अलग बस्ने गरि क्वारेन्टाइनमा राख्ने प्रस्ताव गरेपनि सुनुवाई नभएको गुनासो अध्यक्ष नाथको छ।

यता नगर प्रमुख पदम बडुवालले भने स्वास्थ्यकर्मी सबैसँगको सम्पर्कमा रहीरहेको र अवस्था सामान्य रहेको बताएका छन्। बडुवालले सामाजिक सञ्जालमा भ्रमपूर्ण प्रचार भएकोले यसका पछि नलाग्न आग्रह गरेका छन्।

तर सामान्य ज्वरो आउँदा डराउने स्वास्थ्य संयन्त्रलाई सुरक्षित र भरपर्दो सुरक्षा सामग्री आवश्यक देखिएको छ। ज्वरो होस् की रुघाखोकी सबै प्रकारका विरामीलाई उपचार हुन जरुरी देखिन्छ। भारतबाट आउनेहबाट संक्रमणको खतरा देखिएकोले त्यसमा सरकारी संयन्त्र बढी सचेत हुनु पर्ने स्थानीयको माग छ।

प्रकाशित: १८ चैत्र २०७६ ०९:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App