७ वैशाख २०८१ शुक्रबार
समाज

‘समाजले कोरोना संक्रमित बनाइदियो’

कतारबाट आएकी बबई गाउँपालिका २ की लक्ष्मी ओली ।

दाङ- फ्रान्सबाट आएकी एक युवतीमा कोरोना संक्रमण पुष्टि भएपछि उनीसंगै जहाजमा आएका अन्य यात्रुहरुको खोजतलास सुरु भयो। यी मध्ये कतारबाट आएकी दाङकी बबई गाउँपालिका वडा नम्बर २ की लक्ष्मी ओली पनि ति युवतीसंगै एउटै जहाजमा आएको सार्वजनिक भयो। उनको नामै सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय उनको पहिचानमा लाग्यो। गत १२ गते उनलाई प्रहरी घरमै पुगेर आइसोलेसनमा बस्न आग्रह गर्‍यो।

प्रहरीले त्यो बेला भनेको थियो, तपाईसंगै जहाजमा आएका दुई जनामा कोरोना संक्रमण भएको छ, तपाई पनि आइसोलेसनमा बस्नु पर्‍यो। ‘प्रहरीले मसंगै आएकाहरुलाई कोरोना लागेको भन्ने सुनेपछि डर लाग्यो,’ उनले भनिन् ‘अनि प्रहरीको आग्रह बमोजिम म राप्ती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना भएँ।’ तर चार दिनको बसाईपछि उनको स्वास्थय रिपोर्ट सार्वजनिक भयो, 'नेगेटिभ'। कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनी आइतबार घर फर्किएकी छन्।

आफूमा कोरोना संक्रमण नभएको पुष्टि भएपछि लक्ष्मीसंगै उनको परिवारमा ठूलो खुसी छाएको छ। तथापी कोरोना संक्रमित भनेर लगाइएका आरोपले भने लक्ष्मीको मन उत्तिकै दुखाईरहेको पनि छ। उनी भन्छिन् ‘मलाई कोरोना संक्रमितै भनेर प्रचारबाजी गरिएन मात्रै, गाउँसमाजमा त अवहेलना नै खेप्नु पर्‍यो।’

यस्तो थियो कतार-दाङ यात्रा
दुई वर्षदेखि कतारमा श्रम गर्दै आएकी लक्ष्मी गत चैत ४ गते विहान तीन बजे कतारबाट नेपालका लागि उडेकी थिइन्। काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थलमा दुई पटक उनको स्वास्य जाँच भयो। उनको अवस्था सामान्य देखियो। उसैदिन बेलुका उनी आमासंगै दाङ हिँडिन्। ‘बेलुका ५ बजेतिर काठमाडौँबाट दाङका लागि हिँडेका हौँ,’ उनले भनिन् ‘त्यो बेलासम्म मलाई कोरोना संक्रमण छैन भन्ने ढुक्क नै थियो।’ अर्को दिन विहान तुलसीपुर आईपुगेकी लक्ष्मी र उनकी आमा दिउँसो बबई गाउँपालिका वडा नम्बर २ स्थित घर तर्फ लागे। विदेशबाट आएको व्यक्ति भनेर गाउँलेहरुले सजगता अपनाएका थिए।

यसैक्रममा कोरोना संक्रमण पुष्टि भएका दुई जनासंगै एकै जहाजमा आएको भन्ने खवरले लक्ष्मीसंगै गाउँलेहरुमा त्रास फैलियो। कोरोना संक्रमणको आशंका गरिएकी लक्ष्मीलाई समाजले भने संक्रमित भनेरै गलत पुष्टि गरिदियो। ‘म घरबाट निस्कन पनि नसक्ने अवस्था भयो, मेरो ममीलाई समेत कोरोना लागेको भनेर समाजले हेप्न थाले,’ उनले भनिन् ‘मेरो भाईलाई पनि उस्तै व्यवहार गरियो।’

आफूलाई कोरोना संक्रमण भए नभएको प्रमाणित नहुँदै कोरोना संक्रमति भनेर समाजले गरेको हेपाहा व्यवहारले लक्ष्मीलाई निकै दुखाएको छ। ‘यस्तो बेलामा आफूमा रोग लाग्यो कि भन्ने डर भन्दा पनि गाउँसमाजले गरेको दुरव्यवहारले धेरै पोल्दो रहेछ,’ उनले भनिन् ‘अहिले कोरोना नभएको भन्ने प्रमाणित भएर घर फर्किएँ,आखिर रिजल्ट नआउँदै ममाथि लगाईएको आरोपले मलाई कति पोलिरहेको होला? समाजले यो बुझ्दैन।’ यति सम्मकी छिमेकी गाउँमा रहेको एक मेडिकल हलमा समेत उनका गाउँका बासिन्दाहरुको उपचार गर्नै बन्देज गरियो। ‘मलाई कोरोना संक्रमण भएको भनेर एउटा मेडिकलले मेरो गाउँका कसैलाई पनि उपचार नगर्ने भनेछ,’ उनले भनिन् ‘आँफै सोच्नुस् मलाई कतिसम्म नकारात्मक सोचियो?’

गाउँमासजमा मात्रै हैन, उनलाई सम्भावित कोरोना संक्रमति भनेर सामाजिक सञ्जाल मार्फत सार्वजनिकै गरियो। उनको तस्बिरसहित सम्भावित कोरोना संक्रमित भनेर फेसबुकमा उनलाई सार्वजनिक समेत गरिएको थियो। ‘अहिले सम्म कोरोना संक्रमित वा आशंका गरिएकाहरु कसैको पनि तस्बिर सार्वजनिक भएको छैन, तर मेरो फोटो राखेर सचेत रहनु होला भनेर सम्म फेसबुकमा लेखियो,’ उनले भनिन् ‘म अविवाहित हुँ, भोली मलाई पर्न सक्ने असरका बारेमा पनि केहि सोचिएन, यसले झनै दुःखी बनाएको छ।’

१२ चैतमा राप्ती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना भएकी लक्ष्मीलाई १३ गते बेलझुण्डिस्थित कोरोना विशेष अस्पतालमा स्थानान्तरण गरिएको थियो। ‘कोरोना विशेष अस्पतालमा स्वास्थ्यकर्मीहरुले धेरै निगरानी गर्नुभयो,’ उनले भनिन् ‘चिकित्सकहरुले मेरो उपचारका निम्ती निकै सक्रियपूर्वक काम गर्नुभएको हो।’ १३ गते कोरोना विशेष अस्पतालबाट उनको स्याम्पल संकलन गरेर पठाईएपछि टेकुले उनको परीक्षण रिपोर्टमा कोरोना नेगेटिभ देखाएको हो। ‘मलाई कोरोना नलागेको पुष्टि भयो, कोरोना लागेको भनेर मेरो प्रचार गरियो, अब ममाथि लागेको दाग कसले मेटिदिने?’ उनले भनिन् ‘यहि कुराले अहिले धेरै दुःखी छु।’

‘जहाजै फरक’
लक्ष्मी आएको जहाजमा कोरोना संक्रमति फ्रान्सबाट आएकी अर्कि युवती र धादिङका युवा रहेको भन्दै सार्वजनिक भयो। तर लक्ष्मीका अनुसार उनको उडाननै फरक थियो। ‘घरमा आएका प्रहरीले एउटै उडान भएको भनेर मलाई भने, मैले पनि होला भन्ने सोचेँ,’ उनले भनिन् ‘पछि उनीहरु आएको फ्लाईट र म आएको फ्लाईट फरक रहेको थाहा भयो।’ लक्ष्मीले एउटै फ्लाईट भए नभएको पत्ता लगाउन आग्रह गरेकी थिईन्। पछि उनको जहाज टिकट र उनीहरु आएको फ्लाईट चेक गर्दा फरक उडान भएको तथ्य खुलेको थियो। ‘मैले मेरो प्लेन टिकट र उनीहरु आएको उडानको सेड्युल चेक गर्दा एउटै फ्लाईट नभएको थाहा भयो,’ लक्ष्मीले भनिन् ‘एउटै फ्लाईट नभएको भन्ने प्रमाणित भएपछि मेरो डर धेरै कम भयो।’


 

 

प्रकाशित: १८ चैत्र २०७६ ०७:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App