७ वैशाख २०८१ शुक्रबार
समाज

कालोबजारी रोक्न बजार अनुगमन

डाँडागाउँको ओख्रेमा खुद्रा पसल अनुगमन गर्दै दिप्रुङ चईचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राई । तस्बिर : नागरिक

खोटाङ– ‘लकडाउन’को अवधिमा हुने कालोबजारी र कृत्रिम अभाव नियन्त्रणका लागि खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले बजार अनुगमन गरेको छ। कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि लगाइएको ‘लकडाउन’को अवधिमा हुने मूल्य वृद्धि एबं कृत्रिम अभाव नियन्त्रणका लागि गाउँपालिकाले सोमबार डाँडागाउँस्थित ओख्रेका खुद्रा तथा किराना पसल अनुगमन गरेको हो। विश्वव्यापी संकट र महामारीका समयलाई कतिपय व्यवसायीले ‘कमाई गर्ने मौका’का रुपमा उपयोग गर्ने र त्यसको प्रत्यक्ष मारमा सर्वसाधारण पर्ने सम्भावना देखिएकाले बजार अनुगमन गरिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए।

बजारमा आवश्यक मात्रामा दैनिक उपभोग्यवस्तु रहे÷नरहेको विषयमा बुझ्नका लागि पनि गाउँपालिकाले बजार अनुगमन गरेको हो। क्रमशः अन्य वडाका बजार तथा पसल अनुगमन गर्ने गाउँपालिकाले जनाएको छ। ‘लकडाउन’ सुरु भएसँगै कतिपय ठाउँमा मूल्य वृद्धि भएको सर्वसाधारणको गुनासो आइरहेको अध्यक्ष राईले बताए। ‘यो संकटको घडीमा कतिपय व्यवसायीले कमाउ धन्धा चलाउन सक्छन्, मूल्य वृद्धि गर्न सक्छन् वा कृत्रिम अभाव सिर्जना गर्न सक्छन्,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘यो बेला हुनसक्ने कालाबजारी रोक्नका लागि बजार अनुगमन गरिएको हो। बजारमा उपभोग्य सामानको पुग्ने मात्रामा स्टक छन्÷छैनन् भन्ने विषयमा पनि जानकारी लिएका छौँ।’

गाउँपालिकाले संकटलाई कमाउने अवसरका रुपमा नलिइ मानवीय सहयोग गर्ने अवसरका रुपमा लिन व्यवसायीलाई आग्रह गरेको छ। गत चैत १५ गतेको गाउँ कार्यपालिकाको बैठकले ‘लकडाउन’को अवधिमा अत्यावश्यक खाद्य तथा औषधिको अभाव हुन नदिने निर्णय गरे अनुसार बजार अनुगमन गरिएको हो। ‘लकडाउन’ भएसँगै जिल्लामा मूल्य वृद्धि भएको गुनासो आइरहेका छन्।
 

प्रकाशित: १८ चैत्र २०७६ ०७:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App