८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

मानसिक स्वास्थ्य हेल्पलाइन सञ्चालक डु मिङजुनको कथा

मध्यरातमा चीनको वुहान सहरमा रहेको डु मिङजुनको एपार्टमेन्टमा फोनको घन्टी बज्छ। फोन उठाउँदा उताबाट एक बेचेन महिलाको आवाज सुनिन्छ। क्वारेन्टाइनमा रहेकी ती महिला डराइरहेकी थिइन्।

‘डरले मेरो मुटु कामिरहेछ,’ उताबाट आवाज आउँछ। फोन गर्ने ती महिला र उनका पति छातीको दुखाइ र ज्वरोले ग्रसित थिए। उनीहरूलाई यो कोरोना भाइरसका लक्षण हुन् भन्ने लागेको थियो। विशेषगरी ती महिला सुत्न सकेकी थिइनन् र श्वासप्रवाश्समा पनि कठिनाइ थियो। घरीघरी डिस्टर्ब गरेकोमा माफी माग्दै उनले आफ्नो रामकहानी मिङजुनलाई सुनाइन्। ‘अस्पताललाई हामीलाई लिन आउन भनिदिनुहोस्,’ ती महिलाले भनिन्, ‘त्यसो नगरे हामी दुवै मर्नेछौं।’

मिङजुनले शान्त र सानो आवाजमा ती महिलालाई भनिन्, ‘म मेरा लागि के गर्न सक्छु र मेरो शरीरका लागि के.गर्न सक्छु भनेर सोच्नुहोस्,’ टेलिफोन गर्ने ती महिलालाई अस्पताल पुर्‍याउन आफूले सहयोग गर्ने आवश्वासन दिँदै उनलाई केही आराम गर्न मिङजुनले सुझाइन्।

‘तपाईं आफ्नो आवेगलाई यस्तो शक्तिमा बदल्नुस्, जसले भाइरसलाई परास्त गर्न सकोस्। यो दुःखमा तपाईं एक्लो हुनुहुन्न,’ मिङजुनले भनिन्।

डु मिङजुन कलरहरूलाई श्वासप्रश्वासको अभ्यास, व्यवहारगत थेरापी र मांसपेशी रिल्याक्स गर्ने विधि सिकाउँथिन्। मानिसमा भएको अन्तरनिहित शक्तिलाई उजागर गरेर तनावबाट मुक्ति पाउने उपायहरू थिए ती। ‘यो बन्दुकबिनाको लडाइँ हो,’ उनी भन्छिन्।

ती महिलाले मिङजुनलाई सुनिरहिन् र केही शान्त भइन्। उनले आराम पनि गर्ने बताइन् र कुराकानीको अन्त्यमा ती महिलाले मेडिकल सहयोगको याचना फेरि दोहोर्‍याइन्, ‘प्लीज, हामी धेरै कुर्न सक्ने स्थितिमा छैनौं।’

महामारी सुरु भएको पहिलो दुई महिनामा भाइरससम्बन्धी समाचारले भाइरसको उत्पत्ति भएको वुहान सहरको लकडाउनले थुनिएका मानिसलाई अत्यधिक बेचैन पारेको थियो। सरुवा रोगका कारण मानिसहरू बिरामी भइरहेको, कतिको मृत्यु भएको र जीवनयापनका सम्भावनाहरू नष्ट हुँदै गरेको कुराले मानिसहरू डराइरहेका थिए। वुहानमा जनवरी २३ देखि लकडाउन सुरु भएपछि हुबेई प्रान्तमै त्यसलाई विस्तार गरिएको थियो। लकडाउनले वुहानका एक करोड १० लाख मानिसलाई घरैबाट सोसियल मिडियामार्फत भाइरस कसरी फैलिन्छ भन्ने विषयमा कतिपय सही र कतिपय गलत सूचनालाई प्रशोधन गर्नै सकस भइरहेको थियो।

वास्तवमा यो रोग मात्र संक्रामक थिएन, यो रोगलाई लिएरसँगै आएको डर र बेचैनी झन् बढी संक्रामक थियो। आफ्नै बस्ने कोठावाट मिङजुनले सहरका विभिन्न कुनाकुनाबाट यो बैचैनीलाई नियालिरहेकी थिइन्। उनी हुबेई प्रान्तमा रहेको एक गैरसरकारी मनौवैज्ञानिक परामर्शदाता संघकी परामर्शविद् थिइन्। उनको संस्थाले मानसिक स्वास्थ्यबारे घरेलु परामर्श दिँदै आएको थियो। लकडाउनको सुरुका दिनमा सो संस्थाका अध्यक्षले मिङजुनलाई हटलाइन स्थापना गरेर सहरवासीलाई परामर्श दिन सल्लाह दिएका थिए। सुरुका केही दिनसम्म त भाइरसबाट त्रसित मानिसहरूलाई परामर्श सेवा उपलब्ध गराउन मिङजुन एक्लै थिइन्। धेरै मानिसमा समस्या भएको थाहा हुँदाहुँदै पनि त्यसलाई स्वीकार गर्न तयार हुँदैनन र परिवारजन पनि यो सूचनालाई लुकाउन चाहन्छन्। त्यो मध्यरातमा टेलिफोन गर्ने ती महिलाले पनि आफ्नो बारेमा परिवारका अन्य सदस्यलाई नभनेको मिङजुनलाई बताएकी थिइन्। उनले परिवारका मानिसहरू झन् चिन्तित हुन्छन् भनेर आफ्नो पीडालाई सार्वजनिक गरेकी थिइनन्। त्यसो त मानसिक स्वास्थबारे परामर्श दिने प्रशिक्षित जनशक्तिको पनि चीनमा अभाव छ। चीनमा प्रत्येक एक लाख मानिसका लागि दुईजना मात्र मनोचिकित्सक रहेको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाउँछ। जापानमा प्रत्येक २० जनाका लागि एक र अमेरिकामा प्रत्येक १२ जनाका लागि एक मनोचिकित्सक छन्।

हटलाइन सुरु भएको केही दिनमा मिङजुनले केही स्वयंसेवीको आवश्यकता रहेको भनेर स्थानीय सञ्चारमाध्यममार्फत जानकारी गराएकी थिइन् र इच्छुक दुई सयजनालाई छानेकी थिइन्, जसले चीन र विदेशबाट आउने जिज्ञासालाई दिनरात सम्बोधन गर्थे।

महामारीको उत्सर्गमा वुहानमा निराशा र असहायतको भावना उर्लंदो थियो। मानिसहरू आफ्ना घरका बिरामी सदस्यहरूलाई अस्पतालको बेड सुरक्षित गर्न जे गर्न पनि तयार थिए। अपांगता भएकाहरूसमेत हटलाइनको सम्पर्कमा आउँथे र उनीहरूका लागि यो अन्तिम विकल्प थियो। सोसियल मिडिया सूचनाको माध्यम भए पनि यसले झन् बेचैनी थपेको थियो। ट्विटरजस्तै वाइवो नाम गरेको सोसियल मिडिया प्लेटफर्म लोकप्रिय थियो र यो माध्यममार्फत स्वयंसेवी परिचालन र भाइरसबारेमा सूचना प्रवाह हुने गर्थ्यो। एउटा पोस्टमा एकजनाले आफ्ना पितालाई क्वारेन्टाइनमा लगेको र कोमामा राखिएको फोटोसहित सामग्री राखेका थिए। पछि मृत्यु भएका उनका पितालाई कोमामा घोप्टो पारेर राखेको तस्बिर पनि सार्वजनिक भएको थियो।

त्यो फोटोबारे नौ हजार मानिसले प्रतिक्रिया दिएका थिए। अधिकांशले सरकारी अधिकारीले आवश्यक भूमिका ननिभाएको भनेर आलोचना गरेका थिए भने कतिपयले सरकारले एकथोक भनेको र अर्कोथोक गरेको भनेर रोष प्रकट गरेका थिए।

‘यस्ता समान प्रकृतिका सयौं घटना हामीले देखेको छौ, हजारौं मानिस संक्रमित भएका छन् तर सरकारी समाचार माध्यमले केही दिनमै अस्पताल बनाएको समाचारलाई मात्र प्राथमिकता दिएका छन्,’ एकजनाले वाइवोमा लेखेका थिए।

वुहानबाट चीनका अन्यत्र भागमा पनि संक्रमण बढ्दै गर्दा सम्पूर्ण भाइरसको नियन्त्रणको विषयमा चिन्ता बढिरहेको थियो। एकजना आमाले रगतको क्यान्सर भएकी छोरीलाई उपचार गर्न रोडको अवरोध हटाउन प्रहरीसँग अनुरोध गरेको, क्वारेन्टाइनका लागि अधिकारीहरूले जबर्जस्ती अपार्टमेन्टबाट तानेको, आमाबाबु दुवै क्वारेन्टाइनमा रहँदा ६ दिनसम्म एक्लै बस्नुपर्दा एक अपांग बालकको मृत्यु भएकोलगायत भिडियोहरू सोसियल मिडियामा भाइरल भइरहेका थिए। घरमै बसेर सोसियल मिडियामा आएका यी भिडियो र पोस्टिङले आममानिस असहज अनुभूति गरिरहेका थिए।

त्यसो त मानिसहरूले सहयोगको याचना मागिरहँदा मिङजुन पनि आफ्नै अपार्टमेन्टभित्र कैद थिइन। हटलाइन थालिएको सुरुका साताहरूमा उनले केही घन्टा मात्र आराम गरेर दिनभरिजस्तै यस्ता कलहरूलाई सम्बोधन गर्ने गरेकी थिइन्। कहिलेकाहीँ त रातभर पनि कल गर्नेहरूसँग उनी कुरा गर्थिन्।

जनवरीको अन्त्यतिर सुरु गरिएको सो हटलाइनमा दुई हजारजनाले फोन गरेका थिए र उनीसँगै २६ जना स्वयंसेवीले विश्वका कुनै स्थानबाट भाइरससम्बन्धी जिज्ञासाको समाधान गरिरहेका थिए। फेब्रुअरीको अन्त्यसम्म पहिलो चरणमा हटलाइनमा दिनको सरदरमा ५० कल आउँथे। सामान्य जिज्ञासालाई सम्बोधन गर्न १५ मिनेट र फलोअप कल गर्नेहरूलाई ९० मिनेटसम्म परामर्श सेवा दिने गरिएको थियो। यो चरणमा जनस्वास्थको यत्रो संकटबीच मानिसहरूमा बेचैनी अत्यधिक थियो। सामान्य रोगका लक्षण भएकाहरू पनि अत्यधिक चिन्तित थिए। अरू मानिसहरू लकडाउनका बेला आफ्ना कुरा अन्यसँग राख्न पनि उत्तिकै आतुर देखिन्थे।

जब अस्पतालहरूमा भीड बढ्न थाल्यो, बेचैन मानिसहरूलाई मिङजुन एक सहारा बनेकी थिइन्। औपचारिक परामर्श सकिए पनि मानिसहरू चिनियाँ मेसेजिङ एप्लिकेसन विच्याटमार्फत उनलाई सम्पर्क गर्थे। घरमा बस्दा कसरी बेचैनीको सामना गर्ने भन्ने ह्यासट्याग वाइवोमा सबैभन्दा बढी ट्रेन्डिङ बनेको थियो। युवाहरू फोनमै रुन्थे, उनीहरू डरले अभिभावकसँग आफ्ना कुरा भन्न डराइरहेका थिए। पाका उमेरकाहरू सुरुमा खुल्दैनथे तर कुरा गर्दै जाँदा आफ्ना कुराहरू खुलस्त पार्थे। घरमै रहेका केटाकेटीको पढाइबारे पनि अभिभावको चिन्ता थियो भने सासूसँगै घरमै क्वारेन्टाइनमा बस्दा बुहारीहरूलाई तनाव थियो। क्वारेन्टाइनमा रहँदा वैवाहिक संम्बन्धका समस्याहरू उत्तिकै थिए।

यो महामारीपछि पारपाचुके भएको कतिपयले बताएको पनि मिङजुन बताउँछिन्। आफ्नै घरका परिवारका सदस्यहरूको मृत्यु भएकाहरूको कल रिसिभ गर्दा सबैभन्दा कठिन हुने गरेको अनुभव उनको छ। उनी कलरहरूलाई श्वासप्रश्वासको अभ्यास, व्यवहारगत थेरापी र मांसपेशी रिल्याक्स गर्ने विधि सिकाउँथिन्। मानिसमा भएको अन्तरनिहित शक्तिलाई उजागर गरेर तनावबाट मुक्ति पाउने उपायहरू थिए ती। ‘यो बन्दुकबिनाको लडाइँ हो,’ उनी भन्छिन्।

पछि गएर आपत्कालका लागि हटलाइन अभिन्न अंग बनिसकेका थिए। सन् २००३ मा सार्सको महामारीका बेलामा यस्ता हटलाइनले ठूलो भूमिका खेलेको हङकङमा रहेको चिनियाँ विश्वविद्यालयका मानवशास्त्रका प्राध्यापक उहान यिङ हुआङ बताउँछन्। यस्तै वानचुआनमा सन् २००८ मा गएको भूकम्पपछि पनि हटलाइनहरूको स्थापना गरिएको थियो।

मनोचिकित्साको क्षेत्रमा प्रशिक्षित जनशक्तिको अभाव रहे पनि पछिल्ला दिनहरूका मानसिक स्वास्थ्यको विषयमा समर्थन र चासो बढदो क्रममा छ। चेङदुमा रहेको वेस्ट चाइना अस्पतालको एक अध्ययनले सोसियल मिडियाअन्तर्गत पाइने परामर्श सेवा पनि उपचार विधिसँग सँगसँगै लग्दा राम्रो हुने देखाएका थियो।

चीनको कम्युनिस्ट पार्टीलाई कोभिड–१९ को मनौवैज्ञानिक प्रभावलाई व्यवस्थापन गर्नु भनेको सामाजिक स्थायित्व र सुरक्षाको विषयमा जोडिएका प्रश्न हुन्। भाइरसको महामारीले जनताको एकल सुरक्षा गर्छु भन्ने सरकारलाई चुनौती थपेको छ। चीनको स्वास्थ्यसम्बन्धी नीति निर्माण गर्ने निकाय नेसनल हेल्थ कमिसनले गत फेब्रुअरीमा मानसिक स्वास्थलाई कसरी सम्बोधन गर्ने भनेर निर्देशिका नै जारी गरेको छ। यसमा हटलाइनलाई प्रमुख माध्यम मानिएको छ।

कतिपय मानिसलाई आफूले प्राप्त गर्ने सूचनाप्रति अविश्वास छ। विशेषगरी भाइरसबारे पहिलोपटक जानकारी दिने डा. ली वेङलिङको मृत्युले उनीहरूलाई यस्तो सोच्न बाध्य बनाएको हो। फेब्रुअरीको सुरुमै ती डाक्टरको मृत्यु भएको थियो।

वुहानका अन्य मानिसहरूजस्तै मिङजुन पनि जीवनको नयाँ यथार्थसँग बाँच्न र सम्झौता गर्न सिकेकी छन्। उनका अभिभावक नजिकै बस्छन तर फेब्रुअरीदेखि नै उनीहरूसँग देखभेट छैन।

मार्चमा महामारीले दोस्रो चरणमा प्रवेश गरेको छ। हटलाइनका कल गर्नेको संख्या पनि घटेको छ। लकडाउनको पीडा पनि घटदो क्रममा छ र थोरै मानिसले मात्र मध्यरातमा फोन गर्ने गरेका छन्। तर यो अवस्थामा पनि केही गम्भीर प्रकृतिका कल आउने गरेका छन्। लकडाउनले गर्दा अत्यधिक प्रभाव परेकाहरू आत्महत्या गर्नसमेत चाहेको बताउँछन्। उनी र स्वयंसेवीहरूले त्यस्ता बिरामीलाई विशेष ख्याल गर्ने गरेका छन्।

हाल वुहानमा लगाइएका प्रतिबन्धहरू फुकुवा गरिएको छ। भाइरसले संक्रमण नगरेका मानिसहरू स्वतन्त्र बाहिर जान पाउँछन् र सार्वजनिक यातायात पनि सुचारु भएको छ। अप्रिल ८ देखि लकडाउन सम्पूर्ण रूपमा अन्त्य हुने अपेक्षा गरिएको छ। तर मिङजुनले अर्को वर्ष पनि यो हटलाइन सुचारु नै राख्ने योजना बनाएकी छन्। ‘यो महामारीको असर धेरै पछिसम्म रहनेछ,’ मिङजुन भन्छिन्।

(बेलायतको इकोनोमिस्ट पत्रिकामा प्रकाशित)

प्रकाशित: १८ चैत्र २०७६ ०६:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App