वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इङ्ल्यान्डको राजप्रासाद छाडेर स्वतन्त्र जीवन बिताइरहेका बेलायती राजकुमार ह्यारी र मेघान मार्केलको सुरक्षा खर्च बेहोर्न नसक्ने बताएका छन् ।
ह्यारी र मेघान क्यानाडाबाट अमेरिकाको लस एन्जलस आइसकेको खबर सार्वजनिक भएसँगै आइतबार ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले उक्त विचार सार्वजनिक गरेका हुन् ।
‘म बेलायती महारानी र संयुक्त अधिराज्य बेलायतको ठूलो प्रशंसक हुँ । बेलायत छाडेर ह्यारी र मेघान क्यानाडा बस्न थालेको खबर यसअघि आएको थियो । अहिले उनीहरू क्यानाडा छाडेर अमेरिका आएको खबर पाएँ तर उनीहरूको सुरक्षा खर्च बेहोर्न अमेरिका तयार छैन । उनीहरूले आफ्नो बन्दोबस्त आफैं गरून् ।’
यसै वर्षको सुरुमा ह्यारी र मेघानले बेलायती राजदरबार परित्याग गरी आफ्नो पदसमेत त्याग गरेको घोषणा गरेका थिए । राजदरबार परित्याग गर्ने बेलामा उनीहरूले अमेरिका र बेलायतमा आलोपालो गरी बस्ने बताएका थिए ।
प्रकाशित: १८ चैत्र २०७६ ०५:४३ मंगलबार