४ वैशाख २०८१ मंगलबार
राजनीति

योग प्रवर्द्धन गर्दै नयाँ शक्ति

काठमाडौं- नयाँ शक्ति पार्टी नेपालले ध्यान र योगलाई प्रवर्द्धन गर्ने नीति लिएको छ। पूर्वीय दर्शनका राम्रा कुरालाई आत्मसात गर्ने नीतिअनुरुप योग तथा विपश्यना ध्यानलाई पार्टीले प्रवर्द्धन गर्ने संयोजक बाबुराम भट्टराईले बताए।

मानसिक शान्ति र चरित्रवान जीवनशैलीका लागि विपश्यना ध्यान र शारीरिक तन्दुरुस्तीका लागि योग अभ्यास विश्वभरि लोकप्रिय रहेको अवस्थामा भट्टराईले यी विषयलाई पार्टीले प्राथमिकतासाथ अघि बढाउने उल्लेख गरेका हुन्। 'योग र विपश्यना ध्यानले मान्छेलाई शारीरिक तन्दुरुस्ती राखेर तनावमुक्त पार्न मद्दत गर्छ भन्ने कुरा विज्ञानले प्रमाणित गरेको छ। त्यसैले पार्टी पंक्तिबाटै प्रवर्द्धन गर्दैछौं।'

योग र ध्यानले मानसिक शान्ति दिन्छ भन्ने कुरा व्यवहारले समेत प्रमाणित गरेको उल्लेख गर्दै उनले नयाँ शक्ति पार्टीका नेताहरूले नै अभ्यास गरेर यी विषय जनसमक्ष पुर्‍याउने उल्लेख गरे। 'हामी आफैँ पनि योग ध्यान गर्नेछौं। यसलाई जनतासमक्ष पनि लैजाने छौं,' उनले भने, 'म आफैँ पनि ४० वर्षदेखि प्राणायम गर्दै आएको छु, धेरै तनाव भए सबासनमा केहीबेर सुत्छु।' पश्चिमले विकास गरेको प्रविधि र पूर्वीय दर्शनका राम्रा पक्षलाई पार्टीले अंगिकार गरेर अघि बढ्ने उनले सुनाए।

'विश्वमा मानव विकास सूचकको रूपमा आत्मिक आनन्दको कुरा आउन थालेको अवस्थामा नयाँ शक्तिले योग र ध्यानलाई पार्टीको नीतिमा समावेश गरेको छ, यसलाई कार्यान्वयन गर्ने मोडालिटी के हुन्छ?' भन्ने नागरिकको सवालमा संयोजक भट्टराईले भने, 'विश्वमा अहिले ह्यापिनेस इन्डेक्सका कुरा आइरहेका छन्, ह्यापिनेस आफैँमा सब्जेक्टिभ विषय भए पनि यो प्राप्तिका विधिलाई हामी अंगाल्नेछौं। जनतासमक्ष यी कुरा लिएर जानेछौं।'

विज्ञानले प्रमाणित गरेका राम्रा र सकारात्मक कुरालाई तलसम्म पुर्‍याउन सकेे त्यसले समाजलाई सही दिशातर्फ लानसक्छ भन्ने विश्वास लिएको उनले सुनाए। राज्यको नेतृत्व तहमा पुगेका नेतामा सेवा भावना क्षयको समस्या गहिरिँदै गएका बेला नयाँ शक्तिले ती कुरा प्रवर्द्धन गर्ने विषयलाई पार्टी नीतिमा समावेश गरेको हो। नयाँ शक्ति पार्टीको अन्तरिम विधान २०७३ मै योग र ध्यानबारे उल्लेख गरिएको छ। विधानको १५ नम्बर बुँदामा स्वस्थ जीवनका लागि योग, ध्यान र प्राणायाम शीर्षकमा पार्टीले यी विषय राखेको हो। 'स्वस्थ शरीर र मन निर्माणका लागि पूर्वीय दर्शनमा आधारित योग, ध्यान र प्राणायम जस्ता विधि उपयोग गर्न प्रेरित गरिनेछ,' विधानमा भनिएको छ, 'आवश्यकताअनुरुप तालिम तथा प्रशिक्षणको व्यवस्था गरिनेछ।'

हिन्दु बहुल नेपालमा ध्यान र योग साधक बढ्दो क्रममा छन्। ऊ बाखिन परम्पराको विपश्यना ध्यान विधि तथा बाबा रामदेवको पतञ्जली योग नेपालमा सबैभन्दा बढी लोकप्रिय योग र ध्यान विधि हुन्। विपश्यनालाई म्यानमार तथा भारतका केही प्रान्त सरकारले भ्रष्टाचार नियन्त्रण तथा चरित्र निर्माणका लागि कर्मचारीतन्त्रमा उपयोग गर्दै आएका छन्। नेपाल सरकारले अघिल्लो वर्ष लोकसेवा उत्तीर्ण गर्ने नयाँ अधिकृतलाई तालिमको सिलसिलामा विपश्यना ध्यानमा पठाएको थियो। यो वर्ष पनि कानुन सेवाका नयाँ अधिकृतले यो ध्यान गरेका थिए।

योग ध्यानका अतिरिक्त पार्टी पंक्तिलाई अध्ययनशील बनाइने संयोजक भट्टराईले उल्लेख गरे। अध्ययन–अनुसन्धान तथा प्रविधि प्रयोगलाई पार्टीले सशक्त रूपमा अघि बढाउने उनको भनाइ थियो। 'म ३१ वर्षअघि पिएचडी गर्दाको अध्ययन–अनुसन्धानको ब्याज खाएर बसिरहेको छु। मेरै यो अवस्था छ भने अरुको के होला?' उनले भने, 'त्यसैले हामी पार्टीभित्र अध्ययन–अनुसन्धान र सूचनालाई प्राथमिकता दिँदैछौं।'

प्रकाशित: २१ असार २०७३ ०१:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App