६ वैशाख २०८१ बिहीबार
समाज

प्रत्येक स्थानीय तहमा ५० बेडको क्वारेन्टाइन बनाउन आग्रह

खोटाङ – कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङले हरेक स्थानीय तहलाई ५०/५० बेडको क्वारेन्टाइन बनाउन आग्रह गरेको छ। सोमबार जिल्ला समन्वय समितिको सभाहलमा भएको समितिको बैठकले जिल्लाका १० वटै स्थानीय तहलाई क्वारेन्टीनको बेड संख्या ५०/५० पु-याउन आग्रह गरेको हो।

दुई नगरपालिका र आठ गाउँपालिकाले आ–आफ्नै तरिकाले क्वारेन्टीन तयार पारिरहेको अवस्थामा समन्वय समितिले बेड संख्या तोकेरै क्वारेन्टीन बनाउन आग्रह गरेको हो। कोरोना भाइरसको संक्रमण फैलिन सक्ने खतरा देखिएकाले स्थानीय सरकारलाई पुर्वतयारीमा बस्न आग्रह गर्ने निर्णय गरिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिका संयोजक एबं जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले बताए। 

बैठकले सबै स्थानीय तहमा कोरोना भाइरस संक्रमण रोकथामका लागि दुई जना स्वास्थ्यकर्मी र एक जना एम्बूलेन्स चालक सम्मिलित तीन/तीन सदस्यीय -यापिड रेस्पोन्स टिम (आरआरटि) गठन गर्न, एम्बूलेन्स र चालकलाई तयारी अवस्थामा राख्न, विभिन्न हेल्थडेस्कमा खटाइएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई खाजा पानीको व्यवस्था मिलाउन आग्रह गरेको छ।

यस्तै, प्रदेश सरकारबाट प्राप्त भएको व्यक्तीगत सुरक्षा सामग्री (पिपिई), सर्जिकल मास्क, ग्लोव्स र सेनीटाइजर जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्थानीय तहलाई समानुपातिक ढंगले वितरण गर्ने, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको मापदण्डको आधारमा पिपिईको उपयोग गर्ने प्रवन्ध मिलाउने निर्णय गरिएको छ।

प्रदेश सरकारले पठाएको पाँच सेट डिस्पोजेवल पिपिई, डेढ सय ग्लोव्स, सय वटा मास्क र १२ थान सेनीटाइजर आईतबार आइपुगेको स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए। 

प्रदेश सरकारबाट पुःन प्राप्त हुने २० थान पिपिई पनि आवश्यकताका आधारमा वितरण हुने जनाइएको छ। स्वास्थ्यकर्मीको सुरक्षामा चुनौती आएपछि स्वास्थ्य कार्यालय आफैले ३० सेट पिपिई खरिद गरेकामा १६ सेट राखेर अन्य सेट स्थानीय तहलाई वितरण गरिसकिएको स्वास्थ्य कार्यालय प्रमुख सिग्देलले बताए।

प्रकाशित: १७ चैत्र २०७६ १५:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App