coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

प्रदेश १ मा आइपुग्यो स्वास्थ्य सामग्री, कुन जिल्लालाई कति पीपीई पठाइयो ?

मोरङ- नेपाल सरकारले आइतबार चीनबाट कोरोना भाइरस (कोबिड १९) को संक्रमण रोकथामका लागि चाहिने स्वास्थ्य सामग्री ल्याएसँगै सोमबार नै प्रदेश १ मा स्वास्थ्य सामग्री आइपुगेको।

संघीय सरकारले ७ वटै प्रदेशमा सोमबार स्वास्थ्य सामग्री पठाएको हो। संघीय सरकारले प्रदेश सरकारमार्फत स्थानीय तहसम्ममा पुग्ने गरी सामग्री पठाएको जनाएको छ। नेपाली सेनाको एनए जिरो सिक्स थ्रीको स्काई ट्रकबाट कोरोना भाइरसको संक्रमण रोकथाम तथा उपचारमा संलग्नका स्वास्थ्यकर्मीका लागि प्रयोग हुने स्वास्थ्य उपचारका सामग्री विराटनगर आइपुगेको छ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले भने, ‘आज पहिलो चरणमा स्वास्थ्यकर्मीले लगाउने पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) हवाइ मार्गबाट आइपुगेको छ भने थप अन्य सामग्री गाडीबाट भोलि (मंगलबार) आइपुग्ने छ।’ तत्कालका लागि हवाइ मार्ग (विमान) बाट १ हजार थान पीपीई आएको बताए।

‘संख्यात्मक रूपमा पिपिई कम आएको छ,’ मन्त्री घिमिरेले भने, ‘तत्काल कोरोना उपचारको विषयमा सेवा दिँदै आएका विराटनगरको कोसी र धरानको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान र निर्माण भइरहेको अर्को एक अस्पताललाई पहिलो चरणमा पिपिई उपलब्ध गराउने छौं।’ उपचारमा संलग्न स्वास्थ्यकर्मीको स्वास्थ्य सरकारको पहिलो प्राथमिकतामा रहेको बताउँदै मन्त्री घिमिरेले भने, ‘कोरोनामा उपचारमा संलग्न स्वास्थ्यकर्मीका लागि आवास, खाना, भत्ता, बिमालगायतको सेवा उपलब्ध गराउने छौं।’

 मन्त्री घिमिरेले प्राप्त गरेको स्वास्थ्य सामग्री पीपीई वितरणबारे योजना बनाएको र निर्माण भइरहेको एक अस्पताललाई २ सय वटा, बिपी र कोसी अस्पतालमा समान १ सय ५० वटा, मेची अस्पतालमा ४६ वटा उपलब्ध गराउने बताए। 

प्रदेश सरकारले स्थानीय तहको संख्याको आधारमा मोरङमा ३४, सुनसरी २४ धनकुटा १४, तेह्रथुम १२, संखुवासभा २०, भोजपुर १८, सोलुखुम्बु १६, उदयपुर १६, खोटाङ २०, झापा ३०, पाँचथर १६, ताप्लेजुङ १८, इलाम २० र ओखलढुंगामा १६ वटा पीपीई उपलब्ध गराउने छ।

यसैगरी पिपिईसँगै विमानबाट ल्याइएका सेनेटाइजर, मास्क, पञ्जालगायतका अन्य सामग्री आधा बाटोबाटै काठमाडौं फिर्ता लगेको र ती सामग्री गाडीबाट मंगलबार विराटनगर ल्याउने तयारी भएको प्रदेश सरकारले जनाएको छ।

 

प्रकाशित: १७ चैत्र २०७६ १३:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App