coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

‘लकडाउन’ भित्रका खुला गाउँ

कोरोनाविरुद्ध लकडाउन चलिरहँदा तनहुँको ब्यास नगरपालिका–११ घाँसीकुँवामा चैतेधान रोप्न व्यस्त किसान। तस्बिरः श्रीहरि पौडेल

सन्तोष पोखरेल/विनोद ढुंगाना

पोखरा/तनहुँ

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण त्रासले यतिबेला मूलुक पुरै ‘लकडाउन’ मा छ। ‘लकडाउन’ थपिँदा एकसातादेखि घरभित्रै थुनिएका नागरिक अझै एकसातासम्म घरबाहिर निस्कन पाउने छैनन्। सहरमा बस्ने नागरिक त झनै कडाईका सात घरभित्रै थुनिएका छन्।

हुन त ‘लकडाउन’को नियम गाँउलेलाई पनि हो। तर, गाउँमा भने दैनिकी पहिले झैं नियमित छ। घरभित्रै थुनिएर बस्दा आफुहरुलाई नपुग्ने भन्दै गाउँलेहरु नियमित काममा घरखेतमा जुटेका छन्। कोरोनाको त्रास भएपनि खेतबारी जोत्नेदेखि गाइगोठाला जाने काम पहिले झैं चलिरहेको छ। कोरोना भाईरसको त्रासका बीच सहरीया दैनिकी भन्दा फरक रुपमा उनीहरुले घरगोठको काम नियमित गरिरहेका छन्। बरु, सहर र विदेशबाट घर फिरेका आफ्नै भाईछोराबाट गाउँमा कोरोना भाईरस भित्रिने पो को ही भन्ने चिन्तामा गाउँले छन्।

तनहुँको म्याग्दे गाउँपालिका–४ छिम्लीस्वाँराका किसान चन्द्रबहादुर राना भन्छन, ‘सहरमा झैं घरभित्र बसेर हामीलाई कहाँ पुग्छ र ? घरखेतमा काम नझरि सुखै छैन्।’ यतिबेला उनको परिवारलाई चैतेधान रोप्ने चटारो छ। ‘चैतेधान रोप्न ढिला भइसक्यो। बेलैमा खेत रोपिएन भने बिउ काम लाग्दैन,’ उनले भने, ‘लकडाउन भनेर घरभित्र थुनिएर बस्ने हो भने त हाम्रो चैतेधानको सिजनै सकिन्छ।’

गाउँलेलाई लकडाउन को बेला घरभित्रै बस्ने मन नभएको पनि होईन। बाहिर हिडडुल र भेटघाट गर्दा कोरोनाको भाईरस भित्रिने त्रास उनीहरुमा छ। तर, त्यो त्रासले मात्र नहुने भन्दै गाउँलेले सकेसम्म कसैसँग भेटघाट नगरि घरको काम निरन्तर गर्दै आईरहेका छन्। ‘खेतको काम नसिध्याई त कसरी बस्नु’, उनले भने, ‘बुझेर पनि बाध्यताले खेतिपाती लगाउनै पर्‍यो।’

तनहुँका विभिन्न गाउँमा यतिबेला चैतेधान रोप्ने चटारो छ। खेतमा चैतेधान रोप्ने, खेतमा लगाएको मकैमा गोडमेल गर्ने, मल बोक्ने लगायतका काममा यतिबेला गाउँले व्यस्त छन्। स्वास्थ्यकर्मी, प्रहरी, प्रशासन, जनप्रतिनिधी लगायत गाउँमै पुगेर कोरोनाबिरुद्ध जनचेतनाका कार्यक्रम गर्दै आएपनि त्यसले सबै गाउँलेलाई घरभित्र ‘लक’ गर्न सकेको छैन। बुझेर पनि बुझपचाए जसरि चन्द्रबहादुर जस्ता धेरै गाउँले कृषिकर्ममा व्यस्त छन। वर्षभरीलाई खान पुग्ने अन्नवालीको जोहो गर्न गाउँघरमा अर्मपर्म गरेर खेती लगाउनु आफुहरुको बाध्यता रहेको उनीहरुले बताए।

कोरोना विरुद्धको लकडाउनको गाउँमा प्रभावकारी कार्यन्वयन भएको छैन्। कतिपयले सरकारले आफ्नालागि लकडाउन गरेको उनीहरुको बुझाई छ। प्रहरी प्रशासनको निरन्तर निगरानीमा रहेका कतिपय नजिकका गाउँका गाउँलेले भने कृषिकर्म रोकेर घरमै बसिरेका छन्। म्याग्दे–४ तालचौताराका किसान तिलबहादुर डिसुवा भन्छन, ‘मान्छे घरमा बसेपनि मन खेतमा छ।’ पृथ्वीराजमार्गसँगै जोडिएको अकला फाँटमा रहेको खेत बाँझिएको उनको चिन्ता छ। ‘दुईरोपनी खेतमा धान रोप्नलाई राखेको बिउ छिप्पिन आट्यो, खेत अझै बाँझै छ,’ उनले भने, ‘कुलोमा पानी चलाउन समेत पाइएन। यहाँ खेत भएका सबै मिलेर एकपटक कुलो सफा गर्नुपर्छ। सरकारले भिडभाड नगर्नु भनेपछि कुलो सफा गर्न पनि झरेनौ।’

जिल्लाका कतिपय गाउँलेले भने कोरोनाबाट बच्न सुरक्षा अपनाउँदै सिंगो गाउँलाई नै लकडाउन गरेका छन्। भिमाद नगरपालिका–९ भानुमतीलाई नै लकडाउन गरिएको वडाध्यक्ष इमानबहादुर थापा बताउँछन्। ‘गाउँ आउने मोटरबाटो बन्द गरिदिएका छौँ। खेतीबारीको काम परिवारका सदस्यले मात्र गर्न थालेका छन,’ उनले भने, ‘गाउँघरमा पनि विस्तारै चेत पस्दैछ। सरकारले लकडाउन हाम्रै लागी गरेको हो भनेर।’ मान्छेको आउजाउ हुने भएकोले यो बेला अर्मपर्म पनि रोकेको उनले बताए।

घिरिङ गाउँपालिका–३ उवाथोकमा गाउँमा छिमेकी गाउँका गाउँलेलाई आउन रोकेको स्थानिय पूर्णसिंह थापाले बताए। कतिपय ठाउँमा भने लकडाउनको प्रवाह नगरी समुहमै खेतीपाती गर्ने मात्रै नभई खोलामा माछा मार्न जाने, चौतारीमा बसेर गफिने, जमघट बनाएर जुवातास, क्यारेमबोर्ड खेल्ने प्रवृत्ति पहिलेकै जत्तिकै छ।

यहाँका दुई स्थानिय तहले अटेर गर्नेलाई नगदसहित जरिवाना समेत गर्ने निर्णय गरेको छ। भानु नगरपालिकाले लकडाउनको अवज्ञा गर्दै चौतारीमा बसेर गफिनेलाई एकहजार रुपैयाँ,  चियापसल र रक्सीपसल खोल्नेलाई दुईहजार रुपैयाँ, क्यारेमबोर्ड खेल्ने र खेलाउनेलाई  तीनहजार रुपैयाँ, जुवातास खेल्नेलाई पाँच हजार र खेलाउनेलाई दशहजार रुपैयाँ जरिवाना तोकेको सूचना अधिकारी सुनिल पाण्डेले जानकारी दिए। बन्दीपुर गाउँपालिकाले जुवातास खेल्ने र खेलाउनेलाई १० हजार, भलिबल, फुटबल र ब्याडमिन्टन खेल्नेलाई ५ हजार, अनावश्यक काममा घरबाहिर जानेलाई  एकहजार रुपैयाँ जरिवाना गर्ने गाउँपालिकाले जनाएको छ।

यस्तै अवस्था कास्कीमा पनि छ। कास्कीको रुपा गाउँपालिकाका प्रशासकीय अधिकृत विष्णु पोखरेलले गाउँका काम नियमित रुपमा भईरहेको बताए। ‘परिवारकै सदस्यले मात्र काम घरखेतको को काम गरेका छन्। कतिपयले अर्मपर्म पनि रोकेका छन,’ पोखरेलले भने, ‘घरको दैनिकी रोकेर पनि भएन।’ संक्रमण फैलने त्रास बढेपछि गाउँपालिकाले कडाई गर्दा बाहिरबाट आएका मान्छे गाउँ डुल्न भने कम गरेका छन्। सुरुमा बाहिहरबाट आएकालाई राख्नका लागि रुपा गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा २४ जना राखेकोमा अहिले १६ जना छन्। अरु घर फर्किसकेका छन्। गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा दुबइ, मलेशिया, भारत लगायतका मुलुकबाट फर्किएका युवाहरु बसेका छन्। ‘दैनिक रुपमा चल्ने घरायसी कामकाज नगर भनेर रोक्नै मिलेन, तर भेटघाटमा भने रोक लगाइएको छ,’ पोखरेलले भने, ‘गाइभैसीको स्याहारसुसार र घरखेतको काम गर्न रोकेर मात्र पनि भएन। त्यो काम त रोकेर पनि रोकिन्न।’ गाउँमा भित्रिएका युवालाई सुरुमा क्वारेन्टाइनमा राखेको भएपनि अहिले भने घरमै बस्न भनिएको उनले बताए।

अन्नपूर्ण गाँउपालिकाका अध्यक्ष युवराज कुँवर पनि गाउँका मान्छेले दैनिकी पहिले झै चलाएको बताए। ‘गोठमा रहेका गाईभैसी, बाख्रापाठा भोकभोकै राख्न पनि त मिलेन,’ कुँवरले भने, ‘गाउँलेबाट भन्दा सहरबाट झरेका युवाबाट जोखिम हो। गाउँमै बसेका मान्छेबाट त त्रास होइन।’ गाउँमा अहिले दसैंमा आए झै बाहिरका आफन्त भित्रिएपनि कतिपयले भेटघाटलाई जारी राख्दा चिन्ता पलाएको उनले सुनाए। ‘आफन्तबाटै गाउँमा रोग भित्रिने हो की भन्न चिन्ता हो। नत्र गाउँलेको काम रोकेर घरभित्र मात्र बस भनेर त भन्नै मिल्दैन,’ अध्यक्ष कुँवरले भने।

 

 

 

प्रकाशित: १७ चैत्र २०७६ १३:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App