८ वैशाख २०८१ शनिबार
अर्थ

व्यवस्थापन चुस्त बनाउन निगमलाई सुझाव

काठमाडौं– नेपाल आयल निगमले विविध कार्यक्रमसहित ४७औं वार्षिकोत्सब कार्यक्रम बनाएको छ । मंगलबार निगम परिसरमा आयोजना गरिएको कार्यक्रममा बोल्ने वक्ताले निगमलाई व्यावसायिक योजना अनुसार चुस्त व्यवस्थापनसहित अघि बढाउनुपर्ने बताए ।

सो अवसरमा आपूर्ति मन्त्री दीपक बोहोराले मुलुकको हितमा हुने गरी व्यापारिक योजना बनाएर अघि बढ्न निर्देशन दिए । ‘अहिले निगम नाफामा गए पनि चुस्त व्यवस्थापनले धेरै राम्रो भएको होइन,’ मन्त्री बोहोराले भने, ‘अब व्यापारिक दृष्टिकोणसहित राम्रो व्यवस्थापनबाट अघि बढाउनु पर्छ ।’

निगम सञ्चालक समितिका अध्यक्षसमेत रहेका आपूर्ति सचिव प्रेम कुमार राईले उपभोक्तालाई केन्द्रमा राखेर योजना बनाउनुपर्ने बताए । ‘नाफा हुनासाथ तत्काल लुटिहाल्नु पर्छ भन्ने भावना अन्त्य हुनुपर्छ,’ उनले भने, ‘संस्था दीर्घकालीन रुपमा फाइदामा गए त्यसको असर स्वतः कर्मचारीमा पर्छ ।’ निगमका कर्मचारीको काम गर्ने शैलीप्रति राईले असन्तुष्टि व्यक्त गरे । ‘व्यवस्थापनमा सुधार गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘सुविधामात्र खोज्ने जिम्मेवारी पूरा नगर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ ।’
निगमको वर्तमान व्यवस्थापनप्रति कर्मचारीले समेत असन्तुष्टि व्यक्त गरेका थिए ।  आयल निगम कर्मचारी संघका अध्यक्ष देवीप्रसाद न्यौपानेले निगमलाई गतिशील बनाउनको लागि विदेशी कम्पनीबाट व्यवस्थापन गर्नुपर्ने बताए । ‘केही समय विदेशी व्यवस्थापन चलेका नेपाल बैंक र राष्ट्रिय बैंकले ठूलो प्रगति गरे,’ उनले भने, ‘निगमलाई ट्र्याकमा ल्याउनको लागि चुस्त व्यवस्थापन आवश्यक छ ।’

कार्यक्रममा निगमका कार्यकारी निर्देशक गोपाल खड्काले संस्थालाई नयाँ योजनाका साथ अघि बढाउने बताए । ‘सबैको सहयोगमा ऋण मुक्त भएका छौं,’ उनले भने, ‘अब नयाँ योजना बनाएर अघि बढेका छौं ।’
सो अवसरमा पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले पेट्रोलियम पदार्थ कार्यविधि बनाउँदा व्यवसायीसँग सहकार्य नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । निगमका निमित्त नायक कार्यकारी निर्देशक सुशील भट्टराईले पेट्रोलियम पदार्थको कारोबारलाई आधुनिकीकरण गर्नुपर्ने बताए । निगम राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष श्यामकृष्ण कार्कीले कर्मचारीको भूमिकालाई अवमूल्यन गरिएको भन्दै प्रोत्साहनको माग गरे ।

प्रकाशित: २७ पुस २०७३ ०५:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App