४ वैशाख २०८१ मंगलबार
स्वास्थ्य

सिन्धुका स्थानीय तहमा ३१ आइसोलेसन र १ सय ६३ क्वारेन्टाइन शैया

जिल्ला समन्वय समितिमा स्थापना गरिएको आइसोलेसन वार्ड । यहाँ चार शैया उपलब्ध छ । तस्बिर : ध्रुव/नागरिक

सिन्धुपाल्चोक- कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमण नियन्त्रणका लागि सिन्धुपाल्चोकका स्थानीय तहले आइसोलेसन र क्वारेन्टाइन वार्ड स्थापनालाई तीव्रता दिएका छन्।

जिल्लाका १२ स्थानीय तहमध्ये १० ले कतै आइसोलेसन, कतै क्वारेन्टाइन त कतै दुबै वार्ड स्थापना गरेका छन्। अहिलेसम्म जुगल र भोटेकोसी गाउँपालिकाले मात्र छुट्टै आइसोलेसन र क्वारेन्टाइन स्थापना गरेको छैनन्। स्थानीय तहले ३१ शैया क्षमताको आइसोलेन र एक सय ६२ शैयाको क्वारेन्टाइन स्थापना गरेको तथ्यांक संकलन भएको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए।

उनका अनुसार चार स्थानीय तहले आइसोलेसन र आठ स्थानीय तहले क्वारेन्टाइन वार्ड स्थापना गरेका हुन्। तीन स्थानीय तहले भने आइसोलेसन र क्वारेन्टाइन दुबै वार्ड स्थापना गरेका छन्। मेलम्ची नगरपालिकाले चार शैयाको आइसोलेसन र ३० शैयाका क्वारेन्टाइन वार्ड बनाएको छ। चौतारा साँगाचोकगढी नगरपालिकाले १० शैयाको आइसोलेसन र १४ शैयाको क्वारेन्टाइन वार्ड स्थापना गरेको छ। त्यस्तै बलेफी गाउँपालिकाले दुई शैयाको आइसोलेसन र १६ शैयाको क्वारेन्टाइन वार्ड बनाएको छ।

इन्द्रावती गाउँपालिकामा ६, बाह्रविसे नगरपालिकामा नौ शैयाको क्वारेन्टाइन बनेको छ। आइसोलेसन वार्डतर्फ हेलम्बु र पाँचपोखरी गाउँपालिकाले २०/२०, त्रिपुरासुन्दरीले २४, लिसंखुपारले १० र सुनकोसी गाउँपालिकाले २८ शैया स्थापना गरेका छन्। जिल्ला अस्पताल, स्थानीय स्वास्थ्य संस्था, सरकारी र सामुदायिक भवनमा आइसोलेसन र क्वारेन्टाइन वार्ड स्थापना गरिएको हो।

त्यस्तै निजी क्षेत्रको सिन्धु सदावहार अस्पतालले आठ शैयाको आइसोलेसन वार्ड बनाएको छ। योसमेत जिल्लामा आइसोलेसन वार्डको शैया क्षमता ३९ पुगेको छ। उल्लेखित आइसोलेसन र क्वारेन्टाइनको क्षमता हालसम्म जिल्लामा उपलब्ध कूल संख्या भएको सहयाक प्रजिअ खनालले जानकारी दिए।

आइसोलेसन र क्वारेन्टाइन तयारी हालतमा रहे पनि चौतारा जिल्ला अस्पताल, बाह्रविसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रका आइसोलेसनमा मात्र चार बिरामी उपचाररत छन्। कोरोनासँग मिल्ने रुघा, खोकी र ज्वरोको लक्षण देखिएपछि केही दिनदेखि उनीहरुको आइसोलेसनमा उपचार भइरहेको छ। उनीहरुको स्वाब लिएर परीक्षणका लागि पठाइए पनि रिपोर्ट भने नआइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ।

त्यस्तै जिल्ला बिपद् व्यवस्थापन समितिले जिल्लाको सदरमुकाम चौतारा, प्रमुख बजार क्षेत्र बाह्रविसे र मेलम्चीमा क्षेत्रीयस्तरको सुविधा सम्पन्न आइसोलेसन वार्ड स्थापनाको तयारी अघि बढाएको छ। यसै साता जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले क्षेत्रीय कोषका बनाउँदै आइसोलेसन वार्ड बनाउने निर्णय गरेको थियो। वार्ड स्थापनाको लागि जिल्लाको सबै १२ स्थानीय तहले पाँच लाख रुपैयाँका दरले ६० लाख रुपैयाँ कोषमा जम्मा गर्ने प्रमुख तामाङले जानकारी दिए।
 

प्रकाशित: १७ चैत्र २०७६ १०:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App