७ वैशाख २०८१ शुक्रबार
समाज

जथाभावी राहत वितरणमा रोक

वीरेन्द्रनगर- कोरोना भाइरसको संकटमा जथाभावी राहत वितरणमा वीरेन्द्रनगर नगरपालिकाले रोक लगाएको छ। नगरपालिकाको अनुमतिबिना विभिन्न संघसंस्था र व्यक्तिले विभिन्न बस्तीमा राहत एवम् सुरक्षा सामग्री वितरण गर्ने गरेको गुनासो नगरपालिकामा आएपछि नगरले यस्तो निर्णय गरेको हो।

संक्रमण व्यवस्थापनमा दोहोरोपन आउने, संक्रमण झनै फैलिने जोखिम भएको र काम लक्षित वर्गसम्म प्रभावकारी नहुने देखिएको हुँदा यस्तो निर्णय गरिएको नगरपालिकाद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ। विज्ञप्तीमा भनिएको छ, ‘यस (कोरोना) संकटको घडीलाई सबै मिलेर पार गर्ने उद्देश्यका साथ राहत, सहयोग सामग्री तथा जनचेतनाको कार्य एकद्वारबाट गर्ने गरी व्यवस्था मिलाइएको हुँदा कुनै पनि संघसंस्था वा व्यक्तिले आफूखुसी यस प्रकारको कार्य नगर्न नगराउन जानकारी गराइन्छ।’

कसैले खाद्यान्न वा जिन्सी सामग्री सहयोग गर्न चाहेमा नगरपालिकाबाट अनुमति लिनु पर्ने नगरपालिकाको भनाइ छ। नगदको सहयोग गर्न चाहेमा भने नगरपालिकाद्वारा सञ्चालित प्रकोप व्यवस्थापन कोषमा पैसा जम्मा गर्न सकिने वीरेन्द्रनगर नगरपालिकाकी कार्यवहाक नगर प्रमुख मोहनमाया ढकालले जानकारी दिइन्। यसले पीडितलाई एकद्वार प्रणालीबाट राहत वितरण हुने उनको विश्वास छ। जथाभावी राहत रकम वितरण हुँदा नगरपालिकासँग तथ्यांक नहुने र राहत दुरुपयोगसमेत हुन सक्ने नगरपालिकाले जनाएको छ।

केही सामाजिक अभियान्ताले भने यसको विरोध गरेका छन्। संकटको बेलामा विधि प्रक्रिया पुर्‍याउनुभन्दा तत्काल विपन्नलाई राहत दिनु उपयुक्त हुने उनीहरूको तर्क छ। जिल्ला विपन्नका लागि विभिन्न संघसंस्था र व्यक्तिहरूले राहत तथा सुरक्षा सामग्री संकलन र वितरण गर्दै आएका छन्। हालसम्म कसले के कति कसलाई दियो भन्ने नगरपालिकासँग एकिन तथ्यांक छैन।

प्रकाशित: १७ चैत्र २०७६ १०:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App