coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

जिल्लाभर लगत संकलन, इटहरीमा राहत वितरण सुरु

इटहरी- सुनसरी खनारको रिलायन्स स्पिनिङ मिलमा चार हजारभन्दा बढी कामदार काम गर्दै आएकोमा अहिले सीमितबाहेक अधिकतर घर फर्केका छन्। उद्योगमा काम गर्नेमध्ये एक हजार छ सय हाराहारी उद्योगले उपलब्ध गराएको आवासमा बसोवास गर्दै आएकोमा अहिले दुई सय पुग/नपुग छन्।

आवासमा बस्ने ‘सेल्फ क्वारेन्टाइन’ मा बसेका छन्। उनीहरुका लागि उद्योग परिसरभित्रै क्यान्टिनको व्यवस्था गरिएको छ। उद्योगका प्रमुख प्रशासकीय अधिकृत महेश पोखरेलले भने, ‘धेरै मजदुर उद्योगको आवासमै भएको भए निकै ठूलो समस्या हुने रहेछ, अहिले सीमित भएकाले गर्दा कुनै समस्या छैन।’ आवासमै ‘सेल्फ क्वारेन्टाइन’ मा बस्नेका  लागि कुनै पनि प्रकारको समस्या आउन नदिनका लागि उद्योग प्रशासन सतर्क छ।

त्यसो त दुहवी वडा नं. ८ क्षेत्रका दैनिक ज्यालादारी र उद्योगमा काम गर्ने मजदुरले बिहान/बेलुकाको गर्जो टार्न नै समस्या भएको जनाउँदै स्थानीय जनप्रतिनिधिको घरमा पुगेर हारगुहार गर्न थालेका छन्। दुहवी वडा नं. ८ का वडासदस्य विनय दाहालका अनुसार, आइतबार समूह–समूह बनाएर दुई सयको हाराहारीमा घरमै आएर दैनिक खाद्यान्न माग गरे। सोमबार पनि दिउँसो २ बजेसम्म ७० जना हाराहारी आइसके।

यहाँ अरिहन्त मल्टिफाइवर्स, अरिहन्त पोलिप्याक, सनराइज पेपर मिल, एशियन थाइफुड, अन्नपूर्ण जुत्ता चप्पल उद्योग, ओम प्लाई उडलगायतका थुप्रै उद्योगमा काम गर्ने कामदार छन्। उद्योगमा काम गर्नेबाहेक दैनिक ज्याला मजदुरीको रुपमा काम गर्नेको संख्या पनि ठूलो छ।

सरकारले शहरी क्षेत्रमा रहेका श्रमिकहरुलाई एक महिनाको घर भाडा मिनाहा गर्न सम्बन्धित घर घनीलाई आग्रह गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद बैैठकले एक महिनाको घर भाडा छुट दिँदा सरकारले करमा समेत छुट दिने निर्णय गरेको हो।

यस्तै, दैनिक ज्यालादारी मजदुरहरुलाई पनि राहत उपलब्ध गराउने भएको छ। जसका लागि स्थानीय तहले त्यस्ता व्यक्तिको पहिचान गरि राहत उपलब्ध गराउने निर्णय गरेको छ। दैनिक ज्यालादारी मजदुरहरुले आफ्नो परिचयपत्र सम्बन्धित स्थानीय तहलाई दिनुपर्नेछ। तर, यस क्षेत्रका दैनिक ज्यालादारी मजदुरी गर्नेको संख्या यकिन नहुँदा राहत वितरणमा ढिलाई हुने भएको छ।

दुहवी नगरपालिकाका मेयर वेद गच्छदारका अनुसार, असंगठीत जो दैनिक ज्यालादारी काम गर्नेको लगत संकलन थालिएको छ भने उद्योगमा काम गर्ने मजदुरलाई सम्बन्धित उद्योगीलाई आग्रह गरिएको छ। ‘राहत बाड्नकै लागि नगरपालिकाले दस लाख रुपैयाँ राहत कोषमा जम्मा गरेको छ। यसका लागि अरुलाई पनि कोषमा रकम जम्मा गर्न आह्वान गरेका छौ,’ मेयर गच्छदारले भने, ‘दैनिक ज्यालादारी काम गर्नेलाई लगत संकलन भएलगतै काम थाल्नेछौ। उद्योगमा काम गर्नेलाई पनि उद्योगीलाई भनि सकेका छौं।’

सुनसरी–मोरङ औद्योगिक कोरिडोर क्षेत्रमा पाँच सय भन्दा बढी साना तथा ठूला उद्योग सञ्चालनमा छन्। यी उद्योग अहिले कोरोना भाइरसको संक्रमणसँग सरकारले देशभर आह्वान गरेको लकडाउनले गर्दा बन्द छन्।

यसैबीच, इटहरी उपमहानगरपालिकाले न्यून आय भएका र मजदुरी काम गर्नेलाई राहत वितरण थालेको छ। आइतबार इटहरी वडा नं. १ को मुसहरी टोलमा भने ठूलो संख्यालाईं एकै स्थानमा भेला गरेर राहत वितरण गरिएकोमा बिरोध भएको थियो। अहिले त्यसमा सुधार गरेर वितरण गर्न थालिएको जनाएको छ। यहाँ दस हजारभन्दा बढी घर परिवारलाई राहत वितरण गर्ने लक्ष्य राखिएको छ।

उत्ता, इनरुवामा पनि राहत वितरणका लागि लगत संकलन थालिएको छ। इनरुवामा जुन एकदमै आर्थिक रुपमा कमजोर भएका परिवारलाई मात्र राहत वितरण गर्ने योजना बनाएर अघि बढेको छ। जिल्लाका अरु गाउँपालिका र नगरपालिकामा पनि राहत वितरण गर्नका लागि आर्थिक अवस्था न्यून भएका तथा मजदुरी गर्नेको लगत संकलन वडास्तरबाटै भइ रहेको छ। जिल्लामा दुई उपमहानगरपालिका, चारवटा नगरपालिका र छवटा गाउँपालिका छन्।

प्रकाशित: १७ चैत्र २०७६ ०८:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App