खोटाङ – खोटाङको ऐसेलुखर्क गाउँपालिकाले स्वास्थ्यकर्मीलाई व्यक्तिगत सरसफाई तथा सुरक्षाका सामग्री प्रदान गरेको छ। कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणकाक्रममा खटिएका स्वास्थ्यकर्मीलाई गाउँपालिकाले ६ लाख बराबरको व्यक्तिगत सुरक्षा सामग्री ९(पिपिई) सेट, गन थर्मोमिटर, सेनीटाइजर, मास्क, ग्लोव्स लगायतका सुरक्षा तथा सरसफाई सम्वन्धी सामग्री वितरण गरेको हो।
प्राथमिक स्वास्थ्य केन्द्र तथा ७ वटै वडाका स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई आईतबार कार्यालयमै पुगेर सरसफाई तथा सुरक्षाका सामग्री प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष बिश्वनाथ निरौलाले बताए।
प्राथमिक स्वास्थ्य केन्द्रलाई तीन सेट तथा स्वास्थ्यचौकीलाई एक÷एक सेट पिपिई प्रदान गरिएको छ। स्वास्थ्यचौकीलाई १५ सय एमएलको तीन÷तीन थान ह्याडसेनीटाइजर र प्राथमिक स्वास्थ्य केन्द्रलाई एक दर्जन सेनीटाइजर उपलव्ध गराइएको छ।
स्वास्थ्यकर्मीलाई सानो साइजको सेनीटाइजर पनि प्रदान गरिएको गाउँपालिका अध्यक्ष निरौलाले बताए। विशेषगरी कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि खटिएका स्वास्थ्यकर्मी पिपिई पाएपछि उत्साहित भएका छन्। ‘गाउँपालिकाले छ लाख बराबरको सामग्री ल्याएर स्वास्थ्यकर्मीलाई कार्यालयमै पुगेर हस्तान्तरण गरेका छौँ,’ अध्यक्ष निरौलाले भने, ‘पिपिई पाएपछि स्वास्थ्यकर्मी उत्साहित भएका छन्। पिपिई लगाएपछि स्वास्थ्यकर्मी जस्तोसुकै बिरामी पनि चेक गर्न अघि सर्दा रहेछन्।’
गाउँपालिका अध्यक्ष निरौला, प्राथमिक स्वास्थ्य केन्द्रका एमबिबिएस डाक्टर ज्योतीप्रकाश शाह लगायतको टोलीले राखाबांदेल, बाकाचोल र माक्पामा पुगेर स्वास्थ्यकर्मीलाई सामान वितरण गरेको हो। यस्तै, प्रमुख प्रशासकीय अधिकृत बुकुप्रसाद आचार्य नेतृत्वको टोलीले जलेश्वरी, महेश्वरी र ज्यामिरे पुगेर स्वास्थ्यकर्मीलाई सामग्री वितरण गरेको हो।
विदेशबाट फर्किएका व्यक्तिको विवरण संकलन गर्न फर्म वितरण
ऐसेलुखर्क गाउँपालिकाको टोलीले बिदेशबाट फर्किएका नागरिकको तथ्यांक संकलनका लागि फर्म वितरण गरेको छ। कोरोना भाइरस फैलिन नदिन क्वारेन्टाइनमा राख्नका लागि विदेशबाट फर्किएका युवाको तथ्यांक संकलन गर्न वडा–वडामा फर्म वितरण गरिएको गाउँपालिका अध्यक्ष निरौलाले बताए।
विदेशबाट फर्किएका कतिपय व्यक्तीको घरैमा पुगेर स्वास्थ्य परिक्षण गरिएको छ। गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र, ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलको देउरालीमा, ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीको रमिते र देम्लीटारमा र ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीको ट्वीनटारमा हेल्थडेस्क खडा गरेको जनाएको छ।
बराहपोखरी गाउँपालिकाले ३५ बेडको क्वारेन्टाइन
बराहपोखरी गाउँपालिकाले ३५ बेडको क्वारेन्टीन निर्माण गरेको छ। विदेशबाट फर्किएका व्यक्तीलाई १४ दिनसम्म राख्नेगरी बराहपोखरी गाउँपालिका–१ बराहपोखरीस्थित शंखेश्वरी माबिमा १८ बेडको, बराहपोखरी गाउँपालिका–४ फाक्टाङको धर्तुङ माबिमा १५ बेडको र बराहपोखरी गाउँपालिका–२ सुन्तलेको धाप्लाङ घाटमा २ बेडको क्वारेन्टीन निर्माण गरिएको हो।
उदयपुरको सिनामा पर्ने धाप्लाङघाटमा भने घर भाडामा लिएर क्वारेन्टीन स्थापना गरिएको गाउँपालिकाका प्रशासन सहायक रमेश पोखरेलले बताए।
पाँच लाखको सरसफाई सामग्री खरिद
गाउँपालिकाले पाँच लाख बराबरको सरसफाई तथा क्वारेन्टीन निर्माणका लागि आवश्यक सामग्री खरिद गरेर ल्याएको छ। गाउँ कार्यपालिकाको बैठकबाट बिनियोजन गरिएको रकमबाट ६ वटा स्वास्थ्यचौकी र २ वटा सामुदायीक स्वास्थ्य केन्द्रका लागि आवश्यक थर्मोमिटर, स्टेथेस्कोप, सेनेटाइजर, मास्क, ग्लोव्स, बाल्टीन, साबुन लगायतका सामग्री ल्याइएको हो।
सरसफाई लगायतका सामग्रीसँगै विभिन्न वडामा क्वारेन्टीन निर्माणका लागि आवश्यक सामग्री पनि खरिद गरेर ल्याइएको गाउँपालिकाका प्रशासन सहायक पोखरेलले बताए। सरसफाई तथा क्वारेन्टीन निर्माणका लागि आवश्यक सामग्री आईतबार वडा–वडामा पठाइएको छ।
बराहपोखरी गाउँपालिकाले पनि विदेशबाट फर्किएका व्यक्तीको पहिचान सुरु गरेको छ। क्वारेन्टीनमा राख्नेगरी उनीहरुको खोजी सुरु गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिका भित्रिने सर्वसाधारणको स्वास्थ्य जाँचका लागि धाप्लाङघाट, बंशिलाघाट, कम्पुघाट र आसवालामा हेल्थडेस्क स्थापना गरिएको छ। स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई खाने सुविधासहित हेल्थडेस्कमा खटाइएको गाउँपालिकाले जनाएको छ।
प्रकाशित: १७ चैत्र २०७६ ०७:४८ सोमबार