coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

संकटकाबीच यसरी भइरहेको छ एशियामा पत्रकारिताको अभ्यास

काठमाडौ- विश्वभर कोरोना भाइरस (कोभिड १९) को महामारी फैलिइरहँदा पत्रकारिता क्षेत्रले जोखिमको अवस्थामा पनि सूचना प्रदान गर्ने आफ्नो दायित्वलाई निरन्तरता दिँदै आइरहेको छ।  

चीनबाट सुरु भएको यो महामारी अहिले विश्वभर फैलिइसकेको छ। यो जोखिम परिस्थितिबाट आफूलाई सुरक्षित राख्न  अधिकांश मानिसहरु आफ्नो दैनिक कामकारबाहीलाई थाति राखेर सुरक्षित समयको पर्खाइमा बसिरहेका छन्।  तर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी जस्तै सञ्चारकर्मी भने आफ्नो जिम्मेवारीलाई अझ शसक्त ढंगले निभाईरहेको छन्।  

यो विशम र जोखिमपूर्ण अवस्थामा संचारको महत्वपूर्ण र विश्वसनीय माध्यम मानिने अखबारहरुको प्रकाशन गर्ने कि नगर्ने बहसकाबीच कोरोना प्रभावित विश्वका अधिकांश मुलुकमा निर्वाध रुपमा अखबार प्रकाशित भइरहेका छन्।  यसबीचमा एशियाली मुलुकमा अखबारहरु कसरी प्रकाशित भइरहेका छन् र पत्रकारहरुले कसरी काम गरिरहेका छन् भन्ने बारेमा विभिन्न एशियाली मुलकमा रहेका पत्रकारले आफ्नो अनुभव हामीसँग साटेका छन्।  

इन्डोनेसियमा रहेका पत्रकार इल्डो कृष्टोफर राफल कोरोनाको प्रकोपकाबीच इन्डोनेसियाका मुख्य समाचारपत्रहरु प्रकाशित भइरहेको बताउँछन्। इन्डोनेसियाबाट प्रकाशित हुने कम्पास, जावापोस्ट, कोरान सिन्दो, मिडिया इन्डोनेसिया, जाकर्ता पोस्ट, बिस्निस इन्डोनेसिया, कोन्तान र रिपब्लिका लगायतका समाचारपत्रहरु अहिले अहिले पनि प्रकाशित भइरहेको उनी बताउँछन्।  उनी कोभिड १९ को महामारी पछि पत्रकारहरुले घरमै बसेर समाचारहरु बनाइरहेको बताउँछन्।  समाचारका स्रोतहरुसँग टेलिफोन तथा भिडियो कन्फरेन्सको माध्यमबाट सूचना संकलन गरिरहेको र सरकारी निकायले पनि आवश्यक सामग्री यसैगरी उपलब्ध गराइरहेको उनी बताउँछन्।  ‘यदी हामीसँग कुनै विशेष अजेन्डा छ भने कार्यालयमा जानुपर्छ नत्र घरमै बसेर समाचार बनाउने सूविधा पत्रकारहरुलाई छ,’ उनले भने।  पत्रकार राफल पहिलेको तुलनामा पत्रिकाको प्रकाशनको परिणाम भने घटेको बताउँछन्।  

मलेशियाका बरिष्ठ पत्रकार, लेखक एवम दि वालस्ट्रिट जर्नलका प्रतिनिधी कि पुङ मलेशियामा संकटका बेला पनि पत्रकारले सामान्य दिनमा जस्तै काम गरिरहेको बताउँछन्।  तथापि उनी अधिकांश पत्रिकाहरुले सिमित जनशक्तिलाई समाचार संकलनमा परिचालन गरेको बताउँछन्।  सरकारी निकायले मुख्य घटनाहरुको जानकारी फेसबुक लाइभ र टेलिभिजनमार्फत  दिइरहेको उनले जानकारी दिए।  

पुङ अहिले पनि अखबारका सम्पादकीय टोलीले कार्यालयमै पुगेर काम गरिरहेको तर सम्पादकीय टोली बाहेका कर्मचारीहरुले घरमै बसेर काम गरिरहेको बताउँछन्।  पुङ पत्रिकाको प्रकाशन निरन्तर भइरहेपनि पहिलेको तुलनामा थोरै मात्र प्रकाशित भइरहेको बताउँछन्।  मलेशियामा अत्यावश्यक बस्तुको आपूर्तिमा बाहेक हिडडुल गर्न सरकारले रोक लगाएको भएपनि पत्रकारहरुलाई पनि समाचार संकलनमा स्वतन्त्रता रहेको पुङले जानकारी दिए।   

मलेशियाको स्टार मिडिया ग्रुपका सहायक मुख्य सह–सम्पादक डेरिक भिनेस पनि त्यहाँ पत्रपत्रिकाहरु सामान्य अवस्थामा जस्तै प्रकाशित भइरहेको र पत्रकारहरुले अग्रस्थानमा रहेर सूचना सम्प्रेषणको काम गरिरहेको बताउँछन्।  उनी त्यहाँ मिडिया कम्पनीहरुले संकटका बेला पत्रकारहरुलाई आधिकारिक पत्रहरु दिएर समाचार संकलनका लागि खटाउने गरेको बताउँछन्।  

फिलिपिन्सका पत्रकार जस्टिन डिजोन सरकारले राजधानी मनिला लगायतका क्षेत्रमा लकडाउन गरेकाले घरबाटै समाचार उत्पादनको काम गरिरहेको बताउँछन्।  ‘विगत १५ दिनदेखि हामी सामुदायिक क्वारेन्टाइनमा छौँ, तर अखबार, टेलिभिजन, रेडियो र अनलाईनमार्फत निरन्तर सूचना तथा समाचार प्रकाशन तथा प्रशारणको काम भइरहेको छ,’ उनले भने।  उनी संकटका बेला पत्रकारहरुले थप जिम्मेवार भएर काम गरिरहेको बताउँछन्।  

सिंगापुरस्थित स्कुट म्यागेजिनकी सम्पादक आरालुना रेस्टोन अहिले पनि सिंगापुरमा अखबारहरु निरन्तर रुपमा प्रकाशित भइरहेको र पत्रकारहरुले सुरक्षित ढंगले समाचार उत्पादनको काम गरिरहेको बताउँछिन्।  उनी पत्रकारहरुले घरमै बसेर र कार्यालयमा पुगेर पनि समाचार उत्पादनको काम गरिरहेको बताउँछिन्।  सिंगापुरकी स्थानीय नागरिक एलिनारिज चेन पनि सिंगापुरमा पत्रकारिकाहरु प्रकाशित भइरहेको र अहिले पनि आफूले पत्रिका खरिद गरेर बढिरहेको बताउँछिन्।  अहिले कतिपय पत्रिकाले महिनाभरी पत्रिका घरमा ल्याउनका लागि केही प्याकेजहरु पनि ल्याएको उनी बताउँछिन्।  अहिले पनि सिंगापुरबाट प्रकाशित हुने स्ट्राइट्स टाइम लगायतका मुख्य पत्रपत्रिकाहरु अहिले पनि प्रकाशित भइरहेको उनले जानकारी दिइन्।  

बंगलादेशका वरिष्ठ फोटोपत्रकार मोहम्मद राकिबुल हसन कठिन परिस्थितिमा पनि बंगलादेशका पत्रकारहरुले निरन्तर काम गरिरहेको र त्यहाँका मुख्य पत्रिकाहरु प्रकाशित भइरहेको बताउँछन्।  

हसनले अहिले पनि बंगलादेशका मुख्य अखबारहरु दि डेली स्टार, दि डेली प्रोथोम–लो लगायतका अखबारहरु प्रकाशित भइरहेको जानकारी दिए।  उनले अहिले पनि त्यहाँका पत्रकारहरु दिन रात नभनि खटिइरहेको र कोरोना भाइरससम्बन्धी जानकारी पाठकसमक्ष पुर्‍याइरहेको बताउँछन्।  उनी कतिपय अवस्थामा पत्रकारहरुले जोखिम मोलेर पनि सूचना सम्प्रेषण गरिरहेको बताउँछन्।  उनी यो बेलामा पत्रकार र पत्रकारिताको उचित मूल्यांकन हुने पनि बताउँछन्।  

पत्रकारिताको ठूलो बजार मानिने भारतमा पनि अखबारको प्रकाशन निरन्तर भइरहेको छ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले त गलत समाचारलाई चिर्नका लागि पनि अखबारको प्रकाशन अनिवार्य भएको अभिव्यक्ति दिएका छन्।  त्यहाँ अहिले पनि निरन्तर रुपमा अखबारहरु प्रकाशित भइरहेका छन्।

एशियाली मुलुकहरुमा मात्र नभएर कोभिड १९ को इपिसेन्टर मानिने चीनको वुहानदेखि युरोप र अमेरिकामा समेत पत्रपत्रिकाको प्रकाशन निरन्तर रुपमा भइरहेका छन्।  पछिल्लो समय गलत समाचार (फेक न्युज) को बिगबिगी भइरहेका बेला विश्वसनीय समाचारका लागि अखबारको प्रकाशनले विशेष अर्थ राख्ने मिडिया क्षेत्रका जानकारहरु बताउँछन्।     

प्रकाशित: १७ चैत्र २०७६ ०६:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App