coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कोरोनासँग कसरी लड्दैछ युएई?

युएई - नयाँ वर्षको बिदा मनाउन चीनको वुहानबाट युएई आएका एक चिनियाँ परिवारबाट शुरु भएको कोरोना भाईरसको संक्रमणबाट युएईमा अहिलेसम्म ५७० जना संक्रमित भइसकेका छन्।

जनवरी १६ मा ७३ वर्षिया वृद्द र ९ वर्षीय छोरी साथमा लिएर युएई आएका एक चिनियाँ परिवारलाई पहिलोपटक कोरोनाको पुष्टि भएको थियो। आमालाई फ्लुको लक्षण देखिएपछि जनवरी २३ मा उनिहरु स्वास्थ जाँचका लागि अस्पताल गएका थिए। सोहिबेला उनिहरुलाई कोरोनाको संक्रमण भएको पत्ता लागेको थियो।

चिनियाँ परिवारलाई कोरोनाको संक्रमण पुष्टि भएको २ दिन पछि पुनः १ जनामा यसको संक्रमण पाइएको थियो। जो भर्खरै  वुहानबाट दुबई फर्किएका थिए।

यसरी शुरु भएको कोरोनाको संक्रमण युएईमा पहिलो महिना फाट्टफुट्ट रूपमा देखापरेको थियो। तर मार्च लागेपछि भने यसको फैलावटले गति लियो। संक्रमण फैलने क्रम बढेपछि मार्च ८देखि सम्पूर्ण विद्यालयहरु बन्द गरिए।

मार्च ९ मा दुई नेपाली पनि यसबाट संक्रमित भए। यसैबीच युएई सरकारले मुलुक भित्र बसोबास गर्ने विभिन्न देशका नागरिकहरुलाई कोरोनाबाट बच्न अपनाउनुपर्ने सावधानी र रोकथामका उपायहरूबारे सूचना तथा सन्देशहरु संप्रेषण ग-यो।

कोरोना भाईरसको संक्रमणले विश्वभर महामारीको रुप लिएपछि विश्व स्वास्थ संगठनले मार्च ११ मा विश्वव्यापी महामारी घोषणा ग¥यो। युएई सरकारले पनि संक्रमणलाई नियन्त्रण गर्न विशेष होसियारी र नियन्त्रणको उपायहरु अवलम्बन ग-यो। स्कुल, कलेज, सार्वजनिक पार्क, सिनेमाहल, मनोरन्जनका क्षेत्र, बार, क्लब, मसाज सेन्टर आदि बन्द गरिए, हुक्का सेवनलाई प्रतिबन्ध लगाइयो।

मार्च १८ बाट लागु हुने गरी २ हप्ताको लागि सबै प्रकारका भिसा जारी गर्न बन्द गरियो। त्यस्तै ४ हप्तासम्मको लागि मस्जिदहरुमा प्रार्थना गर्न रोक लगाइयो। चर्च र मन्दिरमा पनि भेला हुन प्रतिबन्ध लगाइएको घोषणा गरियो।

दुबईमा मार्च २० देखि ११ दिने निर्मलिकरण अभियान घोषणा भयो र दुबईका संपुर्ण सडक तथा सवारी साधनहरुलाई विषादी छर्केर निर्मलिकरण गर्न थालियो। यसैबीच मार्च २१ मा कोरोनाबाट संक्रमित २ वृद्दको मृत्यु भएको खबर आयो। ती मध्ये एक ७८ वर्षिय अरबी मुलका नागरिक थिए भने दोस्रो ५९ वर्षीय एसियाली थिए।

मार्च २३ मा युएई सरकारले सबैलाई घरभित्रै बस्न आग्रह गर्दै संपुर्ण मलहरु २ हप्ताको लागि बन्द गरिएको घोषणा ग-यो। त्यसको २ दिनपछि अर्थात मार्च २५ मध्यरातदेखि सम्पूर्र्ण हवाई उडानहरु २ साताका लागि स्थगन गरियो। मार्च २५ सम्म युएईमा ३ सय ३३ जना कोरोना संक्रमित भएको पुष्टि भइसकेको थियो। यस अवधिमा ५२ जना उपचार पछि निको भइसकेका थिए। जसमध्ये २ नेपाली थिए , जसलाई मार्च ९ मा कोरोना संक्रमण भएको पुष्टि गरिएको थियो।

अहिले युएईका सम्पूर्ण सार्वजनिक स्थल, सवारी साधन, हवाईजहाज, रेल आदिको सफाई एवं निर्मलिकरण गर्नका लागि  मार्च २६ देखि अप्रिल ५ सम्म राष्ट्रिय निर्मलिकरण अभियान संचालन गरिएको छ। यस अवधिभर राति ८ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु जारी गरिएको छ। सर्वसाधारणलाई हिंडडुल गर्न, बाहिर निस्कन पुर्ण रूपमा बन्देज छ। यस अवधिमा दिनभर  भिडभाड हुने सार्वजनिक स्थल, बजार, तथा औधोगिक क्षेत्र बन्द गरिए पनि अत्यावश्यक सेवा भने नियमित सन्चालन हुँदै आएका छन्।

गत शुक्रबार युएईमा पुनः २ नेपाली कोरोनाबाट संक्रमित भएको पुष्टि भयो। स्वास्थ तथा रोकथाम मन्त्रालयका अनुसार शुक्रबार र शनिबार गरि कुल १ सय ३५  संक्रमित थपिए। यसैगरी युएईमा आईतबार मात्रै १ सय २ जना नयाँ संक्रमित थपिएका छन् भने मृत्यु हुनेको संख्या ३ पुगेको छ।

यो संगै अहिलेसम्म युएईमा कोरोना संक्रमितहरुको कुल संख्या ५ सय ७० पुगेको छ भने ५८ जना उपचार पछि रोगमुक्त बनिसकेका छन्।

सरकार कसरी काम गर्दैछ ?
युएईमा २ सय भन्दा बढि मुलुकका नागरिक बसोबास गर्ने गर्दछन्। यहाँ बसोबास गर्ने हरेक व्यक्तिको सुरक्षाका लागि सरकार गम्भीरतापूर्वक लागिपरेको छ।

कोरोनाको लक्षण देखिएका बिरामीलाई आकस्मिक उपचारको व्यवस्था गरिएको छ। हरेक कम्पनीहरुलाई आफ्नो कामदारको स्वास्थ र सुरक्षाका लागि गम्भीर बन्न निर्देशन दिइएको छ। सरकारी निकायबाट दिईने सम्पूर्ण सेवाहरु अनलाईनको माध्यमबाट प्रदान गरिंदैछ।

युएई सरकारले हाल देखिएको युएईको आर्थिक तरलता र अप्ठेरोलाई सम्बोधन गर्न १ सय २६ बिलियन डलरको सहयोग प्याकेज घोषणा गरेको छ। दुबई सरकारले बिजुली बत्ती पानीमा सहुलियत दिने घोषणा गरेको छ। अबुधाबी र दुबईमा सार्वजनिक यातायातका कर (टोल) हटाइएको छ। अन्य राज्यहरुले पनि राहतका प्याकेजहरु सार्वजनिक गरिरहेका छन्।

युएईमा अहिले सरकारी तथा निजी कार्यालयका कामहरु घरबाटै संचालन गरिदैंछ।  ट्याक्सीमा २ जना भन्दा बढि यात्री राख्न निषेध गरिएको छ। बैंकहरुले आफ्ना ग्राहकलाई विभिन्न राहतका प्याकेजहरु सार्वजनिक गरेका छन् । रेष्टुरेन्टहरुमा बसेर खान मनाही छ, तर उनिहरुले डेलिभरी गर्न पाउनेछन्। निजी कारमा ३ जना भन्दा धेरै यात्रा गर्न निषेध गरिएको छ।

नियम उल्लंघन गर्नेलाई कार्वाही 
द्रुतगतिमा फैलिइरहेको कोरोनाको प्रकोपलाई हेलचक्राई गर्ने र सरकारी नीति नियम नमान्नेहरुलाई युएईमा कडा सजाय हुने व्यवस्था गरिएको छ।सामाजिक संजालमा कोरोनाका विषयमा जथाभावी लेखेर सर्वसाधारणमा भय सिर्जना गरे न्युनतम ३ वर्ष देखि जन्मकैदसम्म वा ३ मिलियम दिरामसम्म जरिवाना हुने युएईको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ। होम क्वारेन्टाइनमा बस्नुपर्ने व्यक्तीलाई बाहिर घुमफिर गरेको भेटे पक्राउ गरि ५० हजार दिराम सम्म जरिवाना गरिने मन्त्रालयले जनाएको छ।

यसअवधिमा सार्वजनिक सभा, समारोह, विवाह भोज आयोजना गरे आयोजकलाई १० हजार र प्रत्येक सहभागीलाई ५ हजार जरिवाना हुनेछ। यसैगरी कोरोना प्रभावित मुलुकबाट आएका नागरिकहरुले युएई सरकारले घोषणा गरेको सावधानीका उपायहरु उल्लंघन गरेको पाए पक्राउ गरि २ हजार जरिवाना गरिने मन्त्रालयले जनाएको छ।

 साथै बन्द घोषणा गरिएका सार्वजनिक स्थलहरु, मल, समुन्द्रको किनार, पार्कहरुमा भेटिईने जोसुकैलाई न्युनतम ५ सय जरिवाना गरिने बताइएको छ।

यसैगरी बिना काम स्वास्थ केन्द्रहरुमा गए १ हजार, स्वास्थ परिक्षणका लागि आग्रह गर्दा नकारेमा ५ हजार जरिवाना लाग्नेछ। रोगी एवं फ्लु लागेकाहरुलाई भिडभाड हुने स्थानहरुमा जाँदा मास्क अनिवार्य लगाउनुपर्ने नियम बनाइएको छ। यसको उल्लंघन गर्नेलाई १ हजार जरिवाना लाग्नेछ।

नेपाली समुदायमा परेको असर
नेपाली राजदुतावास युएईको तथ्यांकअनुसार यहाँ २ लाख ७५ हजार नेपाली बसोबास गर्छन्। ती मध्ये अधिकांश निर्माण, सेवा, सुरक्षा एवं तथा घरेलु कामदारको क्षेत्रमा कार्यरत छन्। कोरोनाको प्रकोप बढेसंगै यी क्षेत्रमा कार्यरत नेपाली कामदारहरु चिन्तित बनेका छन्। आफुलाई रोग सर्ने भय भन्दा परिवारको चिन्ताले बढी सताउने गरेको उनीहरु बताउँछन्।

स्वास्थ संस्था, सुपरमार्केट र सुरक्षा क्षेत्रमा कार्यरत नेपालीहरुको दैनिकि पहिलेको भन्दा व्यस्त बनेको छ संगै संक्रमण सर्ने संभावना पनि उत्तिकै बढेको छ। पारिवारिक भेटघाट एवं घुम्नका लागि युएई आएकाहरुको घर फिर्ती अनिश्चित बनेको छ। कैयन कम्पनीहरुले बेतलबी बिदा दिएर आफ्ना कामदार क्याम्पमै राखेका छन्। यसको असर नेपालीमा समेत परेको छ।

युएईमा रेस्टुरेन्ट, ट्राभल, रोष्टरी लगायतका व्यवसाय गर्दै आएका २ सय भन्दा धेरै नेपाली व्यवसायीहरु छन्। अहिले यी सबैको कारोबार बन्द भएको छ। स्टाफलाई तलब दिन समेत ऋण खोज्नुपर्ने स्थिति आएको रेस्टुरेन्ट व्यवसायीहरु बताउँछन्।

यी सबै घटना तथा समस्याहरुबाट नेपाली राजदुतावास समेत जानकार छ। दूतावासले विभिन्न माध्यमबाट सन्देशमुलक सामाग्रीहरु प्रसारण गर्दै आएको छ। दूतावासले आफ्ना नागरिकलाई संक्रमण हुनबाट बचाउन फेसबुक तथा ट्विटरबाट सुरक्षा तथा सावधानी अपनाउन आग्रह गरिरहेको छ।

दूतावासले अहिलेसम्म अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरेको छ। यद्यपि अत्यावश्यक सेवा प्रवाह एवं समस्यामा परेका नेपालीहरुको सहयोगका लागि  सम्बन्धित कर्मचारीहरुको मोबाईल नम्बर उपलब्ध गराइएको छ। दूतावासले विज्ञप्ति जारी गरेर सबै नेपालीहरुलाई संयमित बन्न र स्थानीय प्रशासनले जारी गरेका सुरक्षा एवं  सावधानीका उपायहरु अवलम्बन गर्न आग्रह गरेको छ। यसैगरि गैहआवशिय नेपाली संघ, नेपाल एसोसिएसन लगायतका संघसंस्थाहरुले समेत विभिन्न माध्यमबाट कोरोनाको जोखिमबाट बच्न सावधानी गराइरहेका छन्।

प्रकाशित: १७ चैत्र २०७६ ०४:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App