७ वैशाख २०८१ शुक्रबार
समाज

‘लकडाउन’ पालना गराउन नगरमा एकजुट

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा ‘लकडाउन’लाई पूर्णरुपमा पालना गराउनका लागि सर्वदलीय निर्णय गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका प्रयासलाई फलदायी बनाउनका लागि नगरपालिकाको आव्हानमा शनिबार आकस्मिकरुपमा बसेको सर्वदलीय बैठकले ‘लकडाउन’लाई पूर्णरुपमा पालना गर्न/गराउन आ–आफ्नोतर्फबाट सहयोग पुर्‍याउने निर्णय गरेको हो ।

बिश्वमा फैलिँदो कोरोना भाइरसबाट बच्ने एक मात्र उपाय ‘लकडाउन’कै पालना भएकाले यसलाई पूर्णरुपमा पालना गराउनका लागि नगरप्रमुख इवन राई संयोजक र उपप्रमुख बिमला राई सह–संयोजक रहेको नगर स्तरिय समन्वय समिति गठन गरिएको छ । समितिको सदस्यमा सदस्य ११ वटै वडाकाका वडाध्यक्ष, कार्यपालिका सदस्य, सवै स्वास्थ्यचौकीका प्रमुख, नेकपाका प्रतिनिधि सुरेन्द्र राई, कांग्रेसका प्रतिनिधि चक्र राई, समाजवादीका प्रतिनिधि मविन्द्र राई, ईलाका प्रहरी कार्यालय हलेसीका प्रमुख र रेडक्रस प्रतिनिधि समावेश छन् । समितिका सदस्यले वडादेखि टोल–टोलसम्म ‘लकडाउन’को पालनाका लागि आ–आफ्नो च्यानल प्रयोग गर्ने तथा कोरोनाबाट बच्ने सावधानीका विषयका नागरिकलाई सचेत गराउने नगरप्रमुख राईले बताए ।

अहिले पनि कतिपयले ‘लकडाउन’को मर्मलाई आत्मसाथ नगरेको पाइएकाले ‘लकडाउन’को अर्थ बारे स्पष्ट बनाउने र पूर्णरुपमा पालनाका लागि नागरिकलाई ‘कन्भिन्स’ गर्न सबै पार्टी सम्मिलित समन्वय समिति गठन गरिएको हो । यस्तै, नगरपालिकाका ११ वटै वडामा पनि सम्वन्धित वडाध्यक्षको संयोजकत्वमा वडाका राजनैतिक दल, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी सम्मिलित वडा स्तरिय समन्वय समिति गठन गरिएको छ ।

विदेशबाट फर्किएकाको तथ्यांक संकलन हुँदै
बैठकमा कोरोनाको संक्रमण फैलिन नदिनका लागि गत चैत १ गतेदेखि यता विदेशबाट फर्किएका नागरिकको पहिचान गरेर तथ्यांक संकलन गर्ने, लक्षणका आधारमा संक्रमण भएको आशंका गरिएका व्यक्तीलाई नगरपालिका तथा वडा–वडामा बनाइएका क्वारेन्टाइनमा राख्ने, क्वारेन्टाइनको अभाव भए थप गर्ने लगायतका निर्णय गरिएको छ । विदेशबाट आएका व्यक्तीलाई १४ दिनसम्म राख्नका लागि नगरपालिकाले जाम्बाला रिसोर्ट हलेसीमा ११ बेडको क्वारेन्टाइन बनाएको छ । यस्तै, हलेसी स्वास्थ्यचौकीमा ५ बेडको, राजापानी स्वास्थ्यचौकीमा ५ बेडको, दुर्छिम स्वास्थ्यचौकीमा ४ बेडको तथा अन्य स्वास्थ्यचौकीमा २ बेडका दरले नगरभित्र जम्मा ४५ बेडको क्वारेन्टाइन तयार भएको छ ।

बैठकमा स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने सुरक्षा कवज ९पिपिई० तथा अन्य सामग्री खरिदका लागि सम्बन्धित निकायमार्फत प्रदेश र संघीय सरकारलाई माग गर्ने, कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा खटिने स्वास्थ्यकर्मी, कर्मचारी र सुरक्षाकर्मीलाई नगरपालिकाकातर्फबाट प्रोत्साहन भत्ता प्रदान गर्ने निर्णय गरिएको नगरप्रमुख राईले बताए ।

प्रकाशित: १६ चैत्र २०७६ १२:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App