coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पोखरा महानगरद्वारा ३० सडक बालबालिकाको उद्धार

चिप्लेढुङ्गा - पोखरा महानगरपालिकाले पोखरामा क्षेत्रमा रहेका ३० सडक बालबालिकालाई आज उद्धार गरेको छ। कास्की प्रहरीको सहयोगमा महानगरका सडक बालबालिकाको उद्धार गरिएको हो।  कोरोना भाइरस संक्रमणको उच्च जोखिममा सडक बालबालिका रहेकाले तिनलाई त्यसबाट जोगाउन र संक्रमण फैलिन नदिनका लागि कास्की प्रहरीको सहयोगमा उनीहरुलाई अन्नपूर्ण गाउँपालिकास्थित लेबाडेमा रहेको चिल्ड्रेन नेपालको भवनमा राखिएको छ। 

महानगरका प्रमुख मानबहादुर जिसी, उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत धु्रवकुमार पोखरेलसहितको टोली लेबाडे नै पुगेर उनीहरुलाई त्यहाँ राख्ने व्यवस्था मिलाएको महानगरका सूचना अधिकारी भरतराज पौडेलले बताए। महानगरले करीब १० दिनलाई पुग्ने खाद्यान्न साथै बसोबासका लागि आवश्यक शय्याको पनि व्यवस्था मिलाएको  पौडेलले जानकारी दिए।   कोरोना संक्रमणबाट बचाउनाका साथै उनीहरुलाई परामर्श दिएर समाजमा पुनःस्थापित गर्ने गरी महानगरले सडक बालबालिकालाई उद्धार गरेको  महानगरपालिकाका प्रमुख  जिसीले बताए। 

उद्धार गरिएका बालबालिकाका अभिभावक वा आफन्तको खोजी गरी उनीहरुलाई परिवारको जिम्मा लगाउने र परिवारको पत्ता नलागेकालाई कसरी समाजमा पुनःस्थापना गर्न सकिन्छ भन्नेतर्फ महानगरले काम गर्ने जिसीको भनाइ छ। ती बालबालिकालाई नेपाल प्रहरी र नगर प्रहरीले सुरक्षा दिनेछन्। उपप्रमुख गुरुङले चिल्ड्रेन नेपालको भवनमा राखिएका बालबालिकालाई उचित परामर्श दिएर समाजमा घुलमिल गराउन महानगरले पहल गर्ने बताए।  महानगरले पनि उनीहरुलाई परामर्श दिनको लागि परामर्शदाता व्यवस्था गर्ने उनको भनाइ छ। बालबालिकाको रेखदेखका लागि चिल्ड्रेन नेपालले पनि दुई जनालाई खटाएको छ। संस्थाका तर्फबाट उनीहरुलाई परामर्श दिइने चिल्ड्रेन नेपालका संस्थापक अध्यक्ष रामचन्द्र पौडेलले बताए। रासस

प्रकाशित: १६ चैत्र २०७६ १२:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App