८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

मार्तडी बजारमा किटनाशक औषधि छर्कियो

मार्तडी बजारमा औषधि छर्किदै । तस्बिर : कृष्ण/नागरिक

बाजुरा- कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै मार्तडी बजार क्षेत्रमा किटनाशक औषधि छर्किएको छ। बडिमालिका नगरपालिका, कृषि ज्ञान केन्द्र, स्वास्थ्य कार्यालय बाजुरा र समरजीत गुल्मको सयुक्त सहकार्यमा बजार क्षेत्रमा किटनाशक औषधि छर्किएको हो।

मार्तडी बजार क्षेत्रका चहल पहल बढी हुने न्यूरोड, अस्पताल क्षेत्र, माथिल्लो बजार, प्रशासन कार्यालय आसपास पर्ने खुला क्षेत्रमा कोरोना भाइरसको जोखिम कम गर्न किटनाशक औषधि छर्किने कार्य गरिएको नगर प्रमुख पदम बडुवालले बताएका छन्। आवत जावत र फोहरका कारण भाइरस फैलिएको हुन सक्ने र जसका कारण संक्रमण फैलिने जोखिम हुँदा पूर्व सतर्कताका लागि औषधि छर्किएको स्वास्थ्य कार्यालय बाजुराका बरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताएका छन्।

समरजीत गुल्मबाट औषधि छर्किने प्राविधिक खटिएका थिए, भने स्वास्थ्य कार्यालय र कृषि ज्ञान केन्द्रबाट भाडाहरुको प्रयोग गरिएको थियो। सीमित स्रोत–साधन छ, त्यसैलाई पुग्ने स्थानमा छर्किएर जोखिम कम गर्ने विकल्प स्वरुप औषधि छर्किएको हो।

सदरमुकाममा मानव आवत जावत नियमित भईरहने र उपचारका लागि पनि अस्पताल आउन विरामी आइरहने अवस्था भएकोले बाटो, कार्यालय छेउछाउ र क्वारेन्टाइन बनाईएको मालिका मावि क्षेत्रमा औषधि छर्किएको नगर प्रमुख बडुवालले बताएका छन्।

अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन र सरकारले थालेको कोरोना रोकथाम र नियन्त्रणको लकडाउन अभियानमा सघाउन पनि औषधिले काम गर्ने भएको छ। औषधि छर्किएको स्थानमा सहज आवत जावत, बसाइ गर्न नमिल्ने गरि सचेत गराईएको छ। सुरक्षा संवेदनशिलता बारे स्थानीय सचेत नहुँने देखिएपनि औषधि छर्किएर जोखिम कमका लागि विकल्प रोजिएको हो।

कोरोनाको संक्रमण जोखिम बाजुरामा पनि बढी नै देखिएको छ। भारतका विभिन्न शहरबाट आएकाहरु गाउँमा भित्रिएका छन्। भने अधिकांशले कुनै जानकारी विनै चेकजाँच नगराएर घरमा बसेका छन्। हाल ३४ जना मार्तडी, २ जना बुढीगंगा, २ जना गौमुल र १० जना त्रिवेणीमा क्वारेन्टाइनमा बसेका छन्। बुढीनन्दा नगरपालिकामा क्वारेन्टाइनमा बसाउनु पर्नेलाई नगरले वास्ता नगरेपछि मुम्मईबाट आएरपनि घरमै बस्ने गरेको पाईएको छ।
 

प्रकाशित: १६ चैत्र २०७६ ११:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App