coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

विदेशबाट फर्किएका व्यक्ति १४ दिन क्वारेन्टाइनमा बस्नै पर्ने

खोटाङ– खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले विदेशबाट आएका हरेक व्यक्तिलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ।

कोरोना भाइरस (कोभिड–१९) रोकथाम सम्बन्धी पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धी गाउँपालिका स्तरिय समन्वय समितिको शनिबार बसेको बैठकले आगामी दिनमा रोजगारीका सिलसिलामा विभिन्न देश पुगेर फर्किएका जो कोहीलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हो। हालसम्मको तथ्यांकले विदेशबाट फर्किएका व्यक्तिबाटै कोरोना भाइरसको संक्रमण फैलिने त्रास देखिएकाले विदेशबाट आएका व्यक्तिलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए।

अधिकांश स्थानीय तहमा विदेशबाट फर्किएका कतिपय स्थानीयलाई घरैमा सेल्फ क्वारेन्टाइनमा बस्न छुट दिइरहेको अवस्थामा दिप्रुङ चुईचुम्मा गाउँपालिकाले भने अनिवार्य क्वारेन्टाइनमा बस्नै पर्ने निर्णय लिएको हो। होम क्वारेन्टाइनमा छाडेका व्यक्तिबाट छरछिमेकमा कुनै न कुनै माध्यमबाट संक्रमण फैलने खतरा भएकाले क्वारेन्टाइन बस्न अनिवार्य गरिएको अध्यक्ष राईले बताए। गाउँपालिकाले गत बुधबार याम्खा स्वास्थ्य चौकीमा बनाएको ४० बेडको क्वारेन्टाइनमा हालसम्म पाँच जनालाई राखिएको छ।

गाउँपालिकाले खाने सुविधा दिएर क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाएको जनाएको छ। ‘अबका दिनमा विदेशबाट आउने जो कोहीले क्वारेन्टाइनमा बस्नुपर्ने छ, म घरैमा सेल्फ क्वारेन्टाइनमा बस्छु भन्न पाउँदैन,’ अध्यक्ष राईले भने, ‘सेल्फ क्वारेन्टाइनमा छाड्दा गाउँघरमा घुमफिर गर्दा रहेछन्। त्यसो हुँदा संक्रमण फैलिने खतरा हुन्छ।’

अन्य स्थानीय तहमा बनाइएका क्वारेन्टाइन रित्तो रहेको अवस्थामा दिप्रुङमा भने पाँच जनालाई राखिएको छ। बैठकले क्वारेन्टाइनलाई थप व्यवस्थित बनाउँदै लैजाने निर्णय गरेको छ। यस्तै, निःशुल्क वितरण गर्नुपर्ने नियमित औषधि एबं कोरोना भाइरसविरुद्ध आवश्यक पर्ने औषधि तथा उपकरणहरु व्यवस्थापन गर्ने, संकटको घडीमा गाउँपालिकाभित्र नागरिकका लागि अत्यावश्यक खाद्य सामग्री अभाव हुन नदिने लगायतका विषयमा छलफल गरिएको गाउँपालिका अध्यक्ष राईले बताए।

प्रकाशित: १६ चैत्र २०७६ ०८:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App