coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

जनप्रतिनिधिलाई अनलानइनबाटै कोरोनासम्बन्धी तालिम

काठमाडौं - कोरोना संक्रमणको रोकथाम र व्यवस्थापनमा स्थानीय जनप्रनिधिको भूमिकालाई सक्रिय बनाउन संघीय सरकारले स्थानीय तहका प्रमुख÷उपप्रमुखलाई कोरोना संक्रमण नियन्त्रण र व्यवस्थापनसम्बन्धी अनलाइनबाटै तालिम दिने भएको छ। कोरोनाको सफल व्यवस्थापन गरेको चीन र सक्रमण भोगिरहेका इटलीलगायत देशका विज्ञ तथा त्यहाँका स्थानीय जनप्रनिधिको अनुभवसमेत सुनाएर जनप्रनिधिलाई यस्तो तालिम दिने तयारी भएको हो।

संघीय मामिला मन्त्रालयले त्रिभुवन विश्वविद्यालयको इन्स्टिच्युट अफ क्राइसेज मेजेजमेन्ट स्टडी (आइसिएमएस–त्रिवि) सँग समन्वय गरी यस्तो तालिम दिने तयारी गरेको छ। संघीय मन्त्रालयका सहसचिव जयनारायण आचार्यले लकडाउनको अवधि लम्बिए पनि यस्तो तालिम दिने तयारी भएको जनाए। ‘लकडाउनको अवधि सकियो भने अवधि सकिनेबित्तिकै यस्तो तालिम दिने छौं,’ आचार्यले भने, ‘कारणवश लकडाउनको अवधि लम्बिए पनि लकडाउनकै अवधिमा तालिम दिने प्रयास गर्दै छौं।’ मन्त्रालयका अनुसार चैत ११ गतेदेखि नै यस्तो तालिम दिने तयारी भएको थियो तर सरकारले ११ गतेबाटै लकडाउन घोषणा ग-यो।

लकडाउन घोषणा भएपछि तालिम दिने दिन केही पर सार्नु परेको आचार्यले जनाए। तालिम पाँच दिनेको हुनेछ। प्रत्येक दिन तीन घण्टा जनप्रनिधि अनलाइनमा बस्नुपर्नेछ। उनीहरूलाई विज्ञहरूले अनलाइनबाटै सबै विषयमा जानकारी गराउनेछन्। कोरोना के हो ? यसको व्यवस्थापन कसरी गर्ने ? कोरोनाको संक्रमण नियन्त्रण गर्न कुन कुन विधि अपनाउने ? विपद्को बेला जनप्रनिधिले कस्तो भूमिका निभाउनुपर्छलगायत विषयमा विज्ञले उनीहरूलाई तालिम दिने भएका छन्। यसैगरी कुनकुन अवस्थामा कोरोना सर्छ ? भन्ने विषयमा पनि जनप्रतिनिधिलाई जानकारी गराइनेछ। यही मौकामा जनप्रतिनिधिलाई नेतृत्व विकास र जोखिम न्यूनीकरणको विषमया पनि विज्ञले थप तालिम दिने भएका छन्।

त्रिविका प्राध्यापक तथा संकट व्यवस्थापनमा विद्यावारिधि गरेका डा. राम थपलियाले संघीय मन्त्रालयबाट ग्रिन सिग्नल पाउनेबित्तिकै यस्तो तालिम दिने बताए। ‘यसका लागि सबै तयारी पूरा भएको छ। मन्त्रालयबाट ग्रिन सिग्नल पाउनेबित्तिकै तालिम दिने छौं,’ उनले भने। लकडाउन नभएको भए मन्त्रालयले उपत्यकाका जनप्रनिधिलाई काठमाडौंमा बोलाएर तथा उपत्यकाबाहिरका जनप्रनिधिलाई अनलाइनबाट तालिम दिने विधि बनाएको थियो। तर, लकडाउनपछि सबै जनप्रनिधिलाई अनलाइनबाटै तालिम दिने तयारी मन्त्रालयले  गरेको छ।

संघीय मन्त्रालयले यसपटक सात सय ५३ वटै स्थानीय तहका मेयर÷उपमेयर तथा प्रमख÷उपप्रमुखलाई तालिम दिने भएको हो। वडाध्यक्ष तथा वडासदस्यलाई भने यस पटक त्यस्तो तालिम दिने तयारी नभएको मन्त्रालयले जनाएको छ। ‘तालिममा कोरोनाको सफल व्यवस्थापन गरेको चीन तथा संक्रमण भोगिरहेको इटलीलगायत देशका विज्ञ तथा त्यहाँका स्थानीय जनप्रतिनिधिको अनुभव सुनाउने प्रयास गर्नेछांै,’ आचार्यले भने, ‘सकेसम्म ती देशका विज्ञले हाम्रा जनप्रतिनिधिसँग सोझै सम्पर्क गरी आफ्नो अनुभव तथा रोकथामका उपाय सुनाउने व्यवस्था मिलाउने छौं।’ 

यस पटकको प्रभावकारी भए अरू थप तालिम दिने योजना मन्त्रालयले बनाएको छ। यसअघि संघीय मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र गरी विदेशबाट फर्केका व्यक्तिको निगरानी तथा सूचना संकलन गर्न निर्देशन गरेको छ। यसका लागि प्रत्येक वडा तथा स्थानीय तहमा स्वयंसेवक टोली गठन गरी कोरोना  संक्रमणको रोकथाम तथा नियन्त्रणमा भूमिका खेल्न संघीयले स्थानीय तहलाई परिपत्र गरेको छ।

प्रकाशित: १६ चैत्र २०७६ ०३:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App