coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

डिस्चार्जपछि पनि १४ दिन आइसोलेसनमा बस्न सुझाव

काठमाडौं - कोभिड-१९ को उपचारका लागि निश्चित पद्धति र भ्याक्सिनको निक्र्याेल नभएको अवस्थामा नेपाल र चीनका स्वास्थ्यकर्मीले रोगको उपचार र रोकथामका विषयमा एकअर्काका अनुभव तथा तयारीबारे छलफल गरेका छन्। ‘नेपाल–चीन कोभिड १९ महामारी रोकथाम र नियन्त्रण अनलाइन सञ्चार तथा अदानप्रदान सम्मेलन’ शीर्षकमा शनिबार भिडियो कन्फरेन्स आयोजना भएको हो।
रेन्बो भोलेन्टियर क्लब, पिसल्यान्ड फाउन्डेसन, अरनिको सोसाइटी र गान्सु रेन्बो पब्लिक वेलफेयर सोसाइटीले संयुक्तरुपमा आयोजना गरेको छलफलमा चिनियाँ चिकित्सकले कोभिड १९ को उपचार र नियन्त्रणमा आफ्ना अनुभव सुनाएका थिए भने नेपाली चिकित्सकले चिनियाँ उपचार विधि र रोकथामबारे जिज्ञासा राखेका थिए।

गत डिसेम्बर अन्त्यमा चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोना भाइरस संक्रमणले त्यस मुलुकमा हालसम्म तीन हजार दुई  सय ९५ जनाको ज्यान लिइसकेको छ भने ९४ हजार मानिस संक्रमित छन्। पछिल्ला दिनमा चीनमा कोरोना संक्रणमा व्यापक गिरावट आएको छ। नेपालमा शनिबारसम्म पाँचजनालाई संक्रमण पुष्टि भएको छ। तीमध्ये एकजनालाई निको भइसकेको छ भने चारजना उपचारका क्रममा छन्।

नेपाली स्वास्थ्यकर्मीलाई व्यक्तिगत सरसफाइ र सुरक्षाका सामग्रीको उपयुक्त प्रयोगका साथै रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने वस्तु सेवन गर्न चिनियाँ चिकित्सकले सुझाएका छन्।

छलफलमा सांघाईको मिनहाङ डिस्ट्रिक्टस्थित टेडिसनल चाइनिज मेडिसिन हस्पिटलको इमरजेन्सी वार्डका फिजिसियन डा. लिउ झाउलुले कोरोनाका बिरामी अस्पतालबाट डिस्चार्ज भएपछि पनि १४ दिनसम्म आइसोलेसनमा  बस्नुपर्ने बताए। ‘डिस्चार्ज भएको दोस्रो र चौथो सातामा बिरामीको फलोअप आवश्यक छ’, उनले भने। चीनमा संक्रमणको दोस्रो लहर आउने सम्भावना नरहेको पनि उनले बताए। पछिल्ला दिनमा चीनमा भेटिएका संक्रमित सबै बाहिरबाट आएका अर्थात् आयातित रहेको पनि उनको दाबी थियो।

न्यु निमोनिया प्रिभेन्सन ग्रुपका विशेषज्ञ सदस्य तथा  सोही अस्पतालका चिफ फिजिसियन डा. लि जिलिङले कोरोना भाइरसको पुनः संक्रमणको सम्भावना अत्यन्त न्यून रहेको बताए। ‘जब मानव शरीरले भाइरसविरुद्ध प्रतिरोधी क्षमता विकास गर्छ, त्यति बेला पुनः संक्रमणको सम्भावना अत्यन्त न्यून हुन्छ,’ उनले भने।

डा. लिउ झाउलुले कोरोना भाइरसको संक्रमण भएर निको भइसकेको बिरामीको रगत नयाँ संक्रमितको उपचारमा उपयोगी पाइएको चिनियाँ अनुभव रहेको सुनाए। ‘ब्लड प्लाज्मा उपचार विधि चीनमा उपयोगी पाइएको छ तर गम्भीर बिरामीका लागि यो त्यति प्रभावकारी हुँदैन’, उनले भने। विश्व स्वास्थ संगठनले चीन र जापानका अनुसन्धानकर्ताले निको भइसकेका बिरामीको रगतको प्लाज्माले नयाँ बिरामीका लागि ‘एन्टिडोड’ काम गरेको उत्साहवद्र्धक परिणाम आएको हालै बताएका थिए। 

यसअघि भाइरसले फोक्सो, पाचन प्रणालीजस्ता शरीरका निश्चित भागलाई मात्र प्रभाव पार्ने अनुमान गरिएकोमा डा. झाउलुले भने, ‘रोगका कारण मृत्यु भएकाको पोस्टमार्टम रिपोर्टले यो भाइरस शरीरका विभीन्न अंगसम्म पुगेको देखाएको छ। यसैगरी अनुकूल वातावरणमा यो भाइरस सुरुमा अनुमान गरिएको भन्दा बढी समय बाँचेको पाइएको छ।’ कोरोना भाइरस २० डिग्री तापक्रम र ४० प्रतिशत आद्रतामा पाँच दिनसम्म बाँच्न सक्ने जानकारी उनले दिए।

यो भाइरसले छालालाई छेडेर मानिसलाई संक्रमित नगर्ने डा. झाउलुले स्पष्ट पारे। ‘यो भाइरस मानिसको श्वासप्रश्वास नलीमा रहेको म्युकस मेमरेन अर्थात् पातलो झिल्लीबाट मात्र शरीरमा प्रवेश गर्छ’, उनले भने। नेपाली स्वास्थ्यकर्मीलाई व्यक्तिगत सरसफाइ र सुरक्षाका सामग्रीको उपयुक्त प्रयोग गर्न सुझाव दिँदै उनले भने, ‘नेपाली डाक्टर तथा स्वास्थ्यकर्मीले चीनको अनुभवबाट धेरै सिकेका छन्।’

चीनमा स्वास्थकर्मीको रोगप्रतिरोधी क्षमता बढाउन साताको एक डोज थाइमोपेन्टाइन दिने गरिएको र उनीहरुले चीनका परम्परागत जडिबुटीको सेवन पनि गर्ने गरेको उनले बताए। वुहानमा सुरुमा ३ हजारभन्दा बढी स्वास्थ्यकर्मी यो भाइरसबाट संक्रमित भएकोमा पछि आएर आइसोलेसन कपडा, एन ९५ मास्क, चस्मा, पन्जालगायतका व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) प्रयोग गर्न थालेपछि एकजना स्वास्थ्यकर्मी पनि संक्रमित नभएको उनले दाबी गरे।

 

प्रकाशित: १६ चैत्र २०७६ ०१:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App