६ वैशाख २०८१ बिहीबार
स्वास्थ्य

क्षेत्रीय आइसोलेसन स्थापना गर्न स्थानीय तहको पाँच/पाँच लाख

सिन्धुपाल्चोक- जिल्लाका तीन प्रमुख बजार क्षेत्रमा क्षेत्रीयस्तरको आइसोलेसन वार्ड स्थापना गर्न जिल्लाका सबै १२ स्थानीय तहले पाँच लाख रुपैयाँका दरले योगदान गर्ने भएका छन्।

                जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङको संयोजकत्वमा जिल्लामा क्रियाशील राजनीतिक दलका नेता, गाउँ सरकारका प्रमुख र सरोकारवाला निकायका प्रतिनिधिबीच शनिबार बसेको बैठकले सदरमुकाम चौतारा, मेलम्ची र बाह्रविसे बजारमा क्षेत्रीयस्तरको आइसोलेसन वार्ड स्थापना गर्ने निर्णय गरेको हो। ‘यसका लागि प्रत्येक स्थानीय तहले पाँच लाख रुपैयाँका दरले बजेट विनियोजन गर्ने निर्णय भएको छ,’ बैठकपछि प्रमुख तामाङले भने, ‘नपुग रकम बागमती प्रदेश सरकारसँग माग गर्ने सहमति गरेका छौँ।’

                उनका अनुसार आइसोलेसनअघि क्षेत्रीय कोष स्थापना गरिने छ। यसै कोषमा स्थानीय तहले बजेट जम्मा गर्ने छन्।  बजेट परिचालन सम्वन्धी कार्यविधि बनाउने जिम्मेवारी प्रमुख तामाङलाई नै दिइएको छ। बैठकले क्षेत्रीय आइसोलेनको सेवा क्षेत्र र स्थापना तथा सञ्चालनको नेतृत्वसमेत तोकेको छ।

                मेलम्चीमा स्थापना गरिने आइसोलेसनको सेवा क्षेत्र मेलम्ची नगरपालिकासहित हेलम्बु, इन्द्रावती र पाँचपोखरी थाङपाल गाउँपालिका तोकिएको छ। यसको स्थापना र सञ्चालनको नेतृत्व गर्ने जिम्मेवारी मेलम्ची नगर प्रमुख डम्बर अर्याललाई दिइएको छ। चौतारामा बन्ने आइसोलसनको नेतृत्व यसै नगरका प्रमुख अमानसिं तामाङलाई दिइएको छ भने सेवा क्षेत्रमा चौतारा नगरसहित जुगल र बलेफी गाउँपालिका समेटिएको छ। बाह्रविसेमा स्थापना हुने आइसोलेसनले बाह्रविसे नगरसहित भोटेकोसी, सुनकोसी, त्रिपुरासुन्दरी र लिसंखुपाखर गाउँपालिकालाई सेवा क्षेत्र बनाएको छ। यहाँको नेतृत्व जिम्मेवारी बाह्रविसे नगर प्रमुख निमफुञ्जो शेर्पाले पाएका छन्।

                बैठकले एकद्धार नीतिद्धारा स्वास्थ्य सामाग्री वितरण गर्ने निर्णय गरेको छ। निर्णयअनुसार अब जिल्लामा स्वास्थ्य सामग्री बितरण गर्ने चाहने व्यक्ति वा संस्थाले त्यस्ता सामान जिल्ला तथा पालिका विपद् व्यवास्थापन समितिलाई बुझाउनु पर्ने छ। ‘अनावश्यक भिडभाड रोक्न यस्तो निर्णय गर्नु परेको हो,’ बैठकमा सहभागी गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य राजेन्द्र शर्माले बताए। उनका अनुसार बैठकले सम्भावित संक्रमण फैलन नदिन जिल्लामा उपलब्ध एम्बुलेन्सलाई पार्टेसन गर्ने र अपुग भएको खण्डमा सिंगलक्याविन बलेरो प्रयोगमा ल्याउने निर्णयसमेत गरेको छ।

               

प्रकाशित: १५ चैत्र २०७६ १४:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App