८ वैशाख २०८१ शनिबार
प्रवास

कोरियामा रहेका नेपालीले सरकारलाई १ करोड १५ लाख रुपैयाँ सहयोग गर्ने

सौल - विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसविरुद्ध लडिरहेको नेपाललाई सहयाेग गर्न काेरियामा रहेका नेपालीहरुले १ करोड १५ लाख रुपैयाँ (११ करोड ९८ लाख ९३ हजार ४ सय २२ वोन) संकलन गरेका छन्। गैरआवासीय नेपाली समन्वय समिति (एनआरएनए) दक्षिण कोरियाको नेतृत्वमा  ‘एक व्यक्ती, एक किट’ अभियान अन्तरगत यहाँका नेपालीहरुले उक्त रकम संकलन गरेका हुन्।

एनआरएनए  कोरिया संघका उपाध्यक्ष यदु लामिछाने नेतृत्वको सहयोग संकलन समितीमार्फत उठेको रकमबाट पहिलो चरणमा २ हजारको संख्यामा कोरोना परीक्षण उपकरण (किट)  नेपाल पठाउने र दोस्रो चरणमा अन्य सामग्रीहरु र उपकरणहरु पठाउने महासचिव बिमल  सुवेदीले जानकारी दिए।

 नेपालमा कोभिड-१९ को परीक्षणमा किट लगायत अन्य सामाग्रीहरुको अभाव भईरहेको अवस्थामा यो अभियानले धेरै सहयोग पुग्ने  कोरियाबासी नेपालीहरुले अपेक्षा गरेका छन्।

एउटा किटको कोरियन वन २० हजार  (लगभग २० डलर )पर्ने हुँदा ‘एक व्यक्ती एक किट’ अभियानमा कोरियाबासी नेपालीहरुको साथ पाएको अभियानका संयोजक लामिछानले बताए। उनका  अनुसार  कोरोना पीक्षण उपकरण खरिदको लागि कोरियाली कम्पनीसंग सम्झौता भईसकेको र छिट्टै खरिद गरेर नेपाल पठाउने उनले जानकारी दिए।

खरिद पारदर्शी बनाउन छुट्टै समिति

एनआरएनए कोरियाले  कोभिड(१९ परिक्षण उपकरण खरिदलाई पारदर्शी बनाउन भन्दै एक समिति गठन गरेको छ। समितीले खरिद सामाग्रीको गुणस्तर अध्यन गरेर दिएको सुझाव अनुसार कोभिड(१९ परीक्षण उपकरण  खरिद गरिने पनि एनआरएनए कोरियाले जनाएको छ। समितीमा डा. देवीबहादुर बस्नेत ,डा तारामान कडायत ,संगीता कार्की र संघका कोषाध्यक्ष चन्द्र बहादुर राना रहेका छन्।


विश्वलाई ‘किट’ बेच्दै कोरिया

कोरोना भाइरस संक्रमितको उपचारका लागि विश्वभर नै  स्वास्थ्य संस्थाहरुमा व्यक्तिगत सुरक्षा उपकरणका साथै अन्य आवश्यक सामग्रीहरुको अभाव भईरहेको समयमा कोरियाले भने अन्य मुलुकहरुमा किट लगायत अन्य उपकरणहरु पठाइरहेको छ। हिजो मात्र अमेरिकी राष्ट्रपती डोनाल्ड टृम्पले दक्षिण कोरियाली राष्ट्रपती मुन्जे ईनलाई टेलिफोन वार्तामार्फत  किटलगायत अन्य उपकरण सहयोग मागेका हुन्। 

कोरियाले १० मिनेट भित्र परीक्षण गर्नसक्ने उपकरण विकास गरेको छ। कोरियाले एक दिन पनि ‘लकडाउन’ नगरि कोरोना नियन्त्रणको नजिक पुगे पछि विश्वले प्रशंसा गरेका छन् भने कोरोना  नियन्त्रणमा कोरियाली मोडल नै स्थापित भएको छ।

प्रकाशित: १५ चैत्र २०७६ ०९:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App