४ वैशाख २०८१ मंगलबार
स्वास्थ्य

संक्रमित देशबाट फर्कनेलाई खोज्दै जनप्रतिनिधि

सिन्धुली- विदेशबाट फर्कनेमा कोरोना भाइरसको संक्रमण देखिएसँगै सिन्धुलीका स्थानीय तहका जनप्रतिनिधिहरु वैदेशिक रोजगारीबाट फर्कनेहरुलाई निगरानी गर्ने र उनीहरुको खोजी गर्ने कार्यमा लागेका छन्।

कोरोना संक्रमित देशबाट फर्कने स्थानीयलाई स्थानीय तहका कर्मचारी तथा जनप्रतिनिधिहरुले खोजी कार्य सुरु गरेको सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिहरुले जनाएका छन्। यहाँको दुधौलीमा पछिल्लो दश दिन यता वैदेशिक रोजगारबाट फर्कनेको तथ्याङक संकलन गरिएको दुधौली नगरपालिका प्रमुख घनश्याम राउतले बताए। उनका अनुसार हालसम्म ३७ जना वैदेशिक रोजगारबाट आएकालाई होम क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको छ।

हामीले घरैपिच्छे पुगेर होम क्वारेन्टाइनमा बस्न भनेका छौ, उनले नागरिकसँग भने। संक्रमित देशबाट आउने जो कोहिले क्वारेन्टाइनमा बसेर सहयोग गरिदिन अनुरोध गर्छौ, उनले भने, संक्रमित देशबाट आउनेलाई कोरोना देखिएन भने बाचिने आश रहन्छ। जिल्लाभरका स्थानीय तहलाई वैदेशिक रोजगारबाट फर्कनेको लगत संकलन गर्न अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। हामीले जिल्लाभर लगत संकलन गर्ने, उनीहरुको हालको अवस्था बुझ्ने र निगरानीमै राख्ने तथा संम्भव भएकालाई क्वारेन्टाइनमा नभए होम क्वारेन्टाइनमा बस्न लगाउने कार्य गरेका छौ, प्रजिअ योगेन्द्रप्रसाद पाण्डेले भने, बढी भारतबाट आउनेको सङख्या देखिएको छ, केहि मलेसिया कतार लगायतका देशबाट फर्कने पनि छन्।

जनप्रतिनिधिहरु गाँउगाँउ पुगेर विदेशबाट फर्कनेको खोजी गरिरहेका छन्। उनीहरुबाट स्थानीय समेत त्रसित भएपछि उनिहरुको स्वास्थ्य अवस्था बुझ्न र होम क्वारेन्टाइनमा बस्न अनुरोध गर्दै विदेशबाट फर्कनेको खोजी भइरहेको सुनकोसी गाउँपालिका प्रमुख दिपा बोहोराले जानकारी दिइन्। यस्तै गोलञ्जोर गाउँपालिका प्रमुख पुष्पबहादुर कार्कीले सबै वडा अध्यक्ष तथा वडा सदस्यहरुलाई आफ्नो वडाभित्र विदेशबाट आएका व्यक्तिहरुको लगत संकलन गर्ने र उनीहरुलाई होम क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउन आग्रह गरेका छन्।

वडाअध्यक्षहरु वैदेशिक रोजगारीबाट फर्कनेको खोजी गर्दै घरघर पुगेका छन्, उनले भने, वैदेशिक रोजगारीबाट फर्केका स्थानीयले पनि हामीलाई सूचना जानकारी दिएर सहयोग गरिदिन आग्रह गर्दछौ। तीनपाटन गाउँपालिकाले आफ्नो गाउँपालिकाभित्र विदेशबाट फर्कनेको संङख्या जिल्ला प्रशासनलाई जानकारी गराइसकेको गाउँपालिका प्रमुख कर्णबहादुर थापामगरले जानकारी दिए। उनले आफ्नो गाउँपालिकामा विदेशबाट फर्केकाको खोजी तिव्र पारिएको जानकारी दिँदै विदेशबाट आउने स्वयम्ले होम क्वारेन्टाइनमा बस्ने र गाउँपालिकामा जानकारी दिने गरि सहयोग गर्न आग्रह गरे।

कोरोनाको त्रास बढेसँगै जिल्लाभरा क्वारेन्टाइन निर्माण गरि सजगता अपनाउन थालिएको छ। कमलामाई नगरपालिकाले विदेशबाट फर्कनेको खोजी गर्नुका साथै आवश्यक सामग्री समेत व्यवस्था मिलाएको नगरप्रमुख खड्गबहादुर खत्रीले बताए।

प्रकाशित: १५ चैत्र २०७६ ०९:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App