coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

‘पाङग्राले रनवेमा नटेक्दै विमान झाडीमा पुग्यो’

नेपालगन्ज विमानस्थलको घाँसमा चिप्लिएको विमान । तस्बिर : नागरिक

नेपालगन्ज- काठमाडौंबाट मेडिकल ‘किट’ बोकेर उडेको नेपाल एयरलाइन्सको वाई १२, ९एन- एके यसू कल साइन विमान शनिबार बिहान ११ बजेर ३५ मिनेटमा नेपालगन्ज विमानस्थलमा अवतरण गर्ने तयारीमा थियो। तर, विमानको पाङग्राले रनवेमा नटेक्दै उक्त विमान घस्रिदै झाडीमा पुग्यो। नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगन्ज विमानस्थल कार्यालय प्रमुख प्रेमनाथ ठाकुरका अनुसार उक्त विमान रनवेबाट घस्रिएर करिब ४० मिटर पर पुगेको छ। विमान ठूलो दुर्घटना हुनबाट जोगियो।

विमानस्थलका कर्मचारी र सुरक्षार्थ खटिएका सुरक्षाकर्मी तत्कालै घटनास्थलमा पुगेर सवार पाँच जनाको सकुसल उद्धार गरे। उनीहरु कसैलाई चोट पटक लागेको छैन। ‘घटनाको प्रकृती हेर्दाखेरी डाउन थियो, जहाज रनवेमा टच नहुँदै बाहिर गएको जस्तो देखिन्छ,’ ठाकुरले नागरिकसँग भने ‘जहाज जुन एप्रोचमा हुनुपर्ने हो, त्यो नभएर धेरै तल थियो, कसरी दुर्घटना भयो त्यसमा अनुसन्धान होला।’

उक्त दुर्घटनामा सबै सकुशल रहेको र ठूलो दुर्घटना हुनबाट जोगिएको उनले बताए। प्रमुख ठाकुरका अनुसार चालक केबी लिम्बुले चलाएको उक्त विमानमा सह–चालक र एयर होस्टेज तथा अन्य दुई जना चिकित्सक सवार थिए।

कोरोना भाइरसका लागि आवश्यक मेडिकल किट तथा चिकित्सक बोकेर उक्त विमान नेपालगन्ज आएको बताइएको छ। उद्धारमा खटिएका एक सुरक्षाकर्मीका अनुसार पाँचै जनालाई सकुशल उद्धार गरिएको थियो। ‘पाँचै जनालाई सकुशल उद्धार गर्न सफल भयाैं, नेपाल प्रहरीका एक जवानले भने ‘कसैलाई पनि चोट पटक लागेको छैन, धन्न ठूलो दुर्घटना हुनबाट जोगियो।’ उक्त विमानले ६ कार्टुन मेडिकल किट बोकेको ल्याएको छ।

दुर्घटनाबारे अनुसन्धान भइरहेको विमानस्थल कार्यालयले जनाएको छ। नेपालगन्जमा शनिबार बिहानैदेखि हावा चलिरहेको हुँदा हावाका कारण विमान चिप्लिएको हुन सक्ने कतिपयको आशंका छ। नेपालगन्ज विमानस्थलसँग हाल १५ सय मिटर रनवे रहेको छ। यहाँ जहाजलाई विमानस्थलको पूर्व साइडबाट अवतरण गराइन्छ। २०३७ सालबाट सञ्चालनमा आएको उक्त विमानस्थल हाल १ सय ६६ विघा क्षेत्रफलमा फैलिएको छ।

 


 

 

प्रकाशित: १५ चैत्र २०७६ ०७:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App