coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

रसुवागढी नाका खोल्ने बारे अन्योल

रसुवा- चीनबाट स्थलमार्ग हुँदै आउने अत्यावश्यक सामग्री रसुवागढी र तातोपानी नाकाबाट ल्याउने तयारी छ। सरकारले अत्यावश्यक सामग्री आयात गर्नका लागि हाल बन्द अवस्थामा रहेका दुवै नाका खोल्ने निर्णय गरिसकेको छ।

तर नाका खोल्ने बारेमा अन्योल देखिएको छ। नेपालतर्फ स्वास्थ्य जाँच प्रभावकारी बनाएको खण्डमा सामग्री आयात तथा निर्यात गर्न कुनै समस्या नरहेको चिनियाँ पक्षले जनाएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार नाका खोल्ने निर्णय भएको भएपनि कसरी सञ्चालन गर्ने भन्ने बारेमा कुनै परिपत्र नआएको कारण के गर्ने भन्ने निर्णय भएको छैन।

चिनियाँ पक्ष तथा स्थानीयसँग निरन्तर कुराकानी भइरहेको उनले बताए। ‘स्थानीयले नाका नखोल्न आग्रह गरिरहेका छन्,’ उनले भने, ‘तर नाका नखोल्ने भन्दा पनि कसरी सुरक्षित बनाएर खोल्ने भन्ने बारेमा हामीले छलफल गरिरहेका छौं।’नाका खोलेपछि ल्याइएका सामग्री, सवारी तथा चालकलाई कसरी क्वारेन्टाइनमा राख्ने, स्थानीयलाई कसरी आस्वस्त पार्ने र कसरी सुरक्षित बनाएर सामग्रीको आयात गर्ने भन्ने बारेमा अझै निर्णय भएको छैन।

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण बन्द भएको नाकाबाट अत्यावश्यक सामग्री ल्याउनका लागि तयारी थालिएको भएपनि यसको अझै निचोड निस्किएको छैन। सामग्री आयात भएमा जाँचपास गर्न पर्ने भएकाले रसुवा भन्सार कार्यालयले भने तयारी गरेको छ। सामग्री आएको खण्डमा जाँचपास गर्न कुनै कठिनाइ नहुने प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले बताए। ‘हामीले आवश्यक तयारी गरिसकेका छौं’, उनले भने, ‘सामग्री आएमा भन्सार जाँचपास प्रणालीलाई सहज बनाउँछौं।’

नाकामा अहिले थोरै सवारी साधन राखिएको छ। केरुङमा रहेका सामग्री आयातका लागि ३ सय कन्टेनर आवश्यक पर्छ। नाका सञ्चालनमा आएपनि अत्यावश्यक सामग्री मात्र ल्याउन अनुमति दिइने छ। नाकामा मानिसको आवतजावत गर्न दिइने छैन।

नेपाली कांग्रेस रसुवाले शुक्रबार साँझ एक विज्ञप्ती जारी गर्दै नाकाबाट आवतजावत बढेमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन सक्ने भन्दै अत्यावश्यक सामग्री ल्याउनका लागि पनि व्यवस्थित बनाएर खोल्न आग्रह गरेको छ।

नाकाबाट अत्यावश्यक औषधि र कोरोना नियन्त्रणको सामग्री मात्रै ढुवानी गर्ने व्यवस्था गर्न पर्ने विज्ञप्ती मार्फत जनाइएको छ। कोरोनाको जोखिम बढ्न सक्ने भन्दै जिल्लाबासी तत्काल नाका नखोल्न आग्रह गर्दै आएका छन्।

 

प्रकाशित: १५ चैत्र २०७६ ०६:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App