४ वैशाख २०८१ मंगलबार
कला

कोरोनाविरुद्ध सामाजिक सञ्जालमा सन्देश

काठमाडौं - ‘नाता, इष्ट र मित्रका नजिकमा राख्दै छु केही गन्थन
फोनैबाट कुरा गरौं कुशलका आत्मीय यही हो पन
कोरोनसित जोगिने विधि गरौं आफ्नै घरैमा बसी 
वार्ता गर्न त च्याट नै सजिलो माया छरौं बेसरी
पूजा, श्राद्ध परे पनि भोज सम्झेर श्रद्धा भरौं
हामी दैनिक कर्ममा सजग हौं, आफ्नो सुरक्षा गरौं।’

विश्वमा महामारीका रूपमा फैलिइरहेको कोरोनासम्बन्धी जनचेतना समेटिएको यो कविता फेसबुकलगायत सामाजिक सञ्जालमा आदानप्रदान भइरहेको छ। बद्री दाहालको यस रचनालाई शिव त्रिपाठीले वाचन गरेका छन्। उनले कोरोना मानिसले जितेरै छाड्ने तर अहिले एकान्तमा बस्नैपर्ने सुझावसहितका शब्द कवितामा समेटेका छन्।

अघिपछि निकै व्यस्त हुने मानिसहरू केही दिनलाई फुर्सदिला बनेका छन्। कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सरकारले लक–डाउन गरेपछि मानिसहरू फुर्सदको उपयोग गर्दै सामाजिक सञ्जालमा जनचेतना जगाउने, मनोरञ्जन तथा व्यंग्यमिश्रित सामग्री पस्केका छन्। फेसबुक, ट्विटर, इन्स्टाग्राम, टिकटकमा बनाइएका कोरोनासँग सम्बन्धित थुप्रै अडियो, भिडियो सुन्न, देख्न पाइन्छ।

‘यो कोरोनाविरुद्धको विश्वयुद्ध हो। यो संकट अस्थायी हो। सारा मानव जातिका लागि आज समय प्रतिकूल छ। तर भोलि हामीले जित्ने छौं। आशावादी छौं।’

सामाजिक सञ्जाल हेर्दा लाग्छ, विश्व नै कोरोनाविरुद्ध जुधिरहेको छ। कतिपयले व्यंग्यात्मक भिडियो बनाएका छन्। कतिले सन्देशमूलक, गीत, भजन, नृत्य, अभिनयमार्फत कोरोनाविरुद्ध घरमै बसेर सुरक्षित रहन सन्देश दिएका छन्। कतिपयले छोराछोरीलाई खाना पकाउन, भाडा माझ्न, लुगा धुनलगायत घरेलु काम सिकाएको फोटो तथा भिडियो सामाजिक सञ्जालमा राखेका छन्।

‘मान्नै पर्छ विज्ञका मति यहाँ चोखो नमस्ते सित
भूतैको मित्र दुष्ट रुष्ट कोरोना गर्दैन कहिल्यै हित
पासा तास भेटघाट अहिले रोमान्चकारी क्षण
ठान्ने कोसिसमा ग¥यौं यदि भने झम्टन्छ रे कोरोना
खाँदै मासु सुरा पिएर बेसुरा बन्ने घडी होइन
हल्का सात्विक हौं भोजनले तग्रिन्छ हाम्रो तन।’

कवि बद्री दाहालले सन्देश दिने माध्यम कविता रोजेका छन्। उनी मात्रै होइन, कोरोना फैलिन  नदिन सरकारले गरेको लक–डाउनलाई सघाउन घरभित्रै बसेर सुरक्षित हुन कवि, लेखक, कलाकार समग्रले सन्देश दिएका छन्। घरै बसेर सुरक्षित रहन ‘स्टे होम, स्टे सेफ’ ह्यास–ट्यागसमेत सञ्चालनमा आएको छ। सामाजिक सञ्जालमा एकले अर्कालाई घरमै बसेर सुरक्षित हुन सुझाएका छन्।

‘तन्नेरी मुटुभित्र झांगिन् सकुन आशा, उषा। धैर्यता
आवेगी नबनौं र मोज नबनौं मासिन्छ रे सभ्यता
कोरोनासित लड्नु छ डटी एकान्तको ध्यानले
तन्नेरी अब बन्नु सोधक यहाँ आफ्नै नयाँ ज्ञानले
हावा वा जल व्योमत तेज अवनि यही पाँचका मिश्रण
प्राणी जीवन भौतिकी रूप लिँदै उब्जन्छ रे तत्क्षण
यही वातावरणै अशुद्ध हुन गई जन्मे केयौं फ्लु यहाँ
मान्छे साहसको जगको मगज हो ढाल्छन् कयौं कोरोना।’

कवि दाहालले आफ्नो कवितामा निकै सन्देशमुलक शब्द राखेका छन्।
त्यसैगरी, एकजना दाइले आफन्तलाई फोनमा कुरा गरेजस्तै गरी एउटा सन्देशमूलक भिडियो टिकटकमा भेट्न सकिन्छ। ‘नआइज बाबु, मामाको छोरा भाइ भए पनि मेरो घरमा नआइज। म पनि तेरो घरमा आउँदिन। बेकारमा रोग सारेर मरेपछि अँगालो हालेर रुन पनि नपाउलास्। तँसँग पनि छ कि मसँग रोग छ कि ! अझै तँ त इन्डियाबाट आएको होस्। हामी त्यसै राम्रा छौं। कोरोना सकिएपछि भेटौंला,’ यति संवादसहितको व्यंग्यात्मक भिडियो शिव पोखरेलले टिकटकमा राखेका छन्।

त्यसैगरी, एकजना मामाले आफ्ना भान्जालाई आश्वस्त पारेको अडियो पनि म्यासेन्जरमा सुन्न सकिन्छ। ‘भान्जा मेरो आज बिहान कोरोनासँग भेट भयो। नेपाल आएर ठूलो गल्ती गरिस् भनेर गाली गरेको छु। भान्जा कारोनाले टिकट काटेर गैहाल्छु भनेको छ,’ भन्दै हास्य–व्यंग्य शैलीमा अडियो म्यासेन्जरमा आएको छ। 
‘सुन सुन आमाबुबा दाजुभाइ
कोरोनाबाट बच्न मास्क लगाइ हिँड्नुस् है
हात मिलाउने बानी छोडौं नमस्ते गरौं है
कोरोनाबाट बच्न मास्क लगाइ हिँड्नुस है
कोरोना भाइरसबाट सबै बाँचौं है।’

लोक–पप लयमा सचेतना फैलाउने गीत पनि सामाजिक सञ्जालमा सेयर गरिएको छ। त्यसैगरी, जनगायक जीवन शर्माले यतिबेला कोरोनाविरूद्ध विश्वयुद्ध चलिरहेकाले एकान्त बासमा बस्न आग्रह गरेका छन्। उनले युटुबमार्फत भनेका छन्, ‘यो कोरोनाविरुद्धको विश्वयुद्ध हो। यो संकट अस्थायी हो। सारा मानव जातिका लागि आज समय प्रतिकूल छ। तर भोलि हामीले जित्ने छौं। आशावादी छौं।’ 

‘समयसँग सम्झौता होइन संघर्ष गर, संघर्ष। आउँछन् हजार चुनौती स्विकार गर सहर्ष,’ गीत गाउँदै जनगायक जीवन शर्माले सबैलाई घर, कोठाभित्र एकान्त बासमा बस्न सन्देश दिएका छन्। युटुबमा भिडियोसहित उनले भनेका छन्, ‘हामी सबै घरघर कोठाकोठाभित्र एकान्त बासमा छौं। देश–विदेशका बाटाघाटामा कैयौं दाजुभाइ अलपत्र हुनुहुन्छ।

गायक शर्माले भनेका छन्, ‘हामी फेरि नयाँ उचाइमा उठ्नेछौं। मानवता र विश्वबन्धुत्वको नयाँ युग बोकेर सभ्य, स्वस्थ र सचेत संसार जगमगाउनेछ। संकटको यो घडीमा एक्लाएक्लै बसेर सहकार्य गर्नु जरूरी छ।’

त्यस्तै, गायक प्रकाश सपुतको सुन्नुस् हजुर म केही भन्छु कोरोनाको सवाइ कहन्छु भन्ने गीत रचना पनि अहिले सामाजिक सञ्जालमा चर्चित बन्न पुगेको छ। उक्त रचनाले हात धुने तरिकादेखि यसबाट कसरी जोगिन सकिन्छसम्मको सन्देश दिइएको छ। त्यसलाई विभिन्न व्यक्तिले आफ्नो ढुंगबाट गाएर निकटहरूलाई प्रवाह गरिरहेका छन्।

त्यसैगरी, गीतकार उद्योगपति वसन्त चौधरीले पनि यो अप्ठेरो परिस्थितिमा गीत रचनामार्फत सुरक्षित र दृढ रहन सबैसँग आग्रह गरेको भिडियो पनि सामाजिक सञ्जालमा निकै सेयर भइरहेको छ।

गीतकार चौधरीका शब्दलाई चर्चित गायक–गायिकाहरू रामकृष्ण ढकाल, जेम्स प्रधान, बबिन प्रधान, धमेन्द्र सेवाङ, प्रीति कौर, प्रलीन, भीम तुलाधर, सुवानी मोक्तान, राज सागर विश्व नेपाली, मीना निरौलाले स्वर दिएका छन्। चौधरीको गीतमा भनिएको छ, ‘उद्धार गरौं यो मानवताको विषाणुको संहार गरी। अन्त गरौं यो निशाचरको आऊ मिली विश्वभरि।’

प्रकाशित: १५ चैत्र २०७६ ०६:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App