५ वैशाख २०८१ बुधबार
समाज

दैनिक तीन घण्टा तरकारी हटिया सञ्चालन

राजविराज - लकडाउनका समयमा सप्तरीको राजविराज नगरपालिकाले राजरङ्गशालामा आजदेखि खुला तरकारी हटिया सञ्चालन गर्दैछ। नगरपालिकाको शुक्रबारको बैठकले तीन बुँँदे निर्णय गर्दै प्रत्येक दिन बिहान ६ देखि ९ बजेसम्म खेलमैदान राजरङ्गशालामा सामाजिक दूरी कायम गरी तरकारी हटिया सञ्चालन गर्ने निर्णय गरेको नगरप्रमुख शम्भुप्रसाद यादवले जानकारी दिए।

गुद्री तरकारी हटियामा जग्गा छोटो भएर भीडभाड बाक्लो हुन थालेपछि यस्तो तरिकाले आम जनसमुदायमा तरकारी किनमेलका लागि सहजता हुने उनले विश्वास व्यक्त गरे। राजरङ्गशालामा तरकारी व्यापारीबीच तीन मिटर र ग्राहकबीच दुई मिटरको दूरी कायम गरी घेराचिह्नभित्र बसेर तरकारी खरिद बिक्री गर्न पाइने व्यवस्था मिलाइएको राजविराज नगरपालिकाले जनाएको छ।

विश्वभरि फेलिएको कोरोना भाइरसलाई रोकथाम गर्न नेपाल सरकारले अह्वान गरेको लकडाउन अवधिभर दैनिक उपभोग्य वस्तु खाद्यान्नका लागि घरघरमा पुर्‍याउने व्यवस्था गर्ने र अनलाइनमार्फत खाद्यान्न सामग्री घरघरमा पुर्‍याउने प्रयाससमेत भइरहेको व्यापारीले बताएका छन्। नगरपालिकाले शनिबार बिहान १० बजेदेखि कोरोना भाइरस र अन्य किटाणुविरूद्धको किटनाशक औषधि (डिसइन्फेक्टान्ट) औषधि नियमितरूपमा छर्ने निर्णय पनि गरेको छ।
 
अहिले सञ्चालनमा रहेको तरकारी हटिया निकै साँघुरो रहेकाले यसलाई मध्यनजर गरी राजरङ्गशालामा तरकारी हटिया सञ्चालन गर्ने निर्णय गरिएको जनाइएको छ। नगरपालिकाको १६ वटै वडामा फराकिलो स्थानमा तरकारी हटिया सञ्चालन गर्न स्थानको खोजी गर्न वडाध्यक्षलाई समेत निर्देशन दिएको नगरप्रमुख यादवले जानकारी दिए। वडा नं ८ स्थित पुलचोकमा पाँच, सिन्हाग्यारेज नजिक दुई र रुपनी रोडस्थित सफटेक कलेज नजिक तीन तरकारी पसल व्यवस्थितरूपले सञ्चालनका लागि तयार भएको राजविराज नगरपालिका–८ का अध्यक्ष जयनारायण मण्डलले जानकारी दिए। रासस

प्रकाशित: १५ चैत्र २०७६ ०३:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App