८ वैशाख २०८१ शनिबार
समाज

सामान किन्दा एल आकारमा एक मिटर दूरी

काठमाडौं - यति बेला लकडाउन छ। अति आवश्यक सामान किन्न पसल जाँदै हुनुहुन्छ ? या अन्य भेटमा।सचेत हुनुहोस्,एकआपसमा एक मिटरभन्दा कम दूरी रहेमा कोरोना भाइरस सर्न सक्छ। स्वास्थ्य मन्त्रालयले अति आवश्यक कामका लागि बाहिर निस्कनुपरेमा एकअर्कोबीच एक मिटर दूरी राखेर मात्र सामान किन्न वा काम गर्न सुझाएको छ। कोरोनाको स्थितिबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका विज्ञ चिकित्सक डा. श्याम कार्कीले अर्को व्यक्तिको सीधा नजिक जाँदा मुखबाट निस्कने थुकको छिटाबाट कोरोना भाइरस सर्न सक्ने बताए। ‘कतै पसल जानुपरेमा एक मिटरको दूरीमा एल आकारमा उभिएर मात्रा सामान किन्नुहोला’, उनले भने। यसरी सामान किन्दा अरु व्यक्तिसित सीधै सम्पर्क नहुने र कोरोना भाइरस नसर्ने कार्कीले बताए।

कोरोना भाइरस प्रभावित देशहरुको स्थिति हेर्दा नजिकको सम्पर्क हुने क्रममा थुकको छिटाबाट सरेको देखिएकाले यस्तो अवस्थाबाट बच्न उनले सुझाए। ‘कोरोना थुकको छिटाबाट सर्छ,थुकको छिटा नपर्ने गरी एक मिटर छड्के दूरीमा उभिएर सामान किन्नुप¥यो’,डा.कार्कीले भने।

सरकारले लकडाउन गरेपनि साँझबिहान पसलमासामान किन्दा नजिकैको दूरीमा धेरैजना हुने गरेको,साँझपख सडकमा सामूहिक रुपमा निस्केर गफ गर्ने गरेको पाइएको बताउँदै उनले कोरोनाबाट बच्न यस्तो नगर्न अनुरोध गरे। ‘बेलुकी पख बजारमा निस्केर गफगाफ गर्ने र दूरी कायम नगर्ने प्रवृत्ति कायमै छ’, उनले भने। यसो गर्दा लकडाउनको नियम उल्लंघन भएको उनले बताए।

अर्को व्यक्तिको सीधा नजिक जाँदा मुखबाट निस्कने थुकको छिटाबाट कोरोना भाइरस सर्न सक्ने भएकाले आपसमा एल आकारमा एक मिटरको दूरी राख्न चिकित्सकले सुझाएका छन्।
 

समुदायमा कोरोना फैलिएको छैन 
पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालका सल्लाहाकार डा. खेम कार्कीले नेपालमा विदेशबाट आएकामा बाहेक स्थानीय रुपमा कोरोना भाइरसको संक्रमण नभेटिएको जानकारी दिए। ‘विदेशबाट आएका व्यक्तिबाहेक नेपालमै रहेकामा कोभिड–१९ अहिलेसम्म देखिएको छैन’, उनले भने। उनले अमेरिका र युरोपको तुलनामा दक्षिण एसियाली मुलुकमा यो भाइरसको संक्रमण कम मात्रामा फैलिएको बताए। ‘अफ्रिकापछि दक्षिण एसियाली मुलुकमा सबैभन्दा कम फैलावट दर देखिन्छ। भारतमा लकडाउनपछि सर्ने दर घटेर गएको छ’, उनले भने। 

बिपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि परीक्षण 
शुक्रबार साँझदेखि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समेत कोरोना भाइरस जाँच गर्ने व्यवस्था भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। शुक्रबार नै कोरोना परीक्षणका लागि आवश्यक रिएजेन्टहरु पठाइसकेको रसाँझदेखि नै परीक्षण सम्भव भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

उनले स्वास्थ्यकर्मीलाई आवश्यक व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) को अभाव केही दिनमा हट्ने बताए। उनका अनुसार चीनबाट पिपिई आइतबार आइपुग्ने र आउनेबित्तिकै सबै अस्पतालमा व्यवस्थापन गरिनेछ।

कार्कीले बिरामीको जाँच गर्ने चिकित्सक,ज्वरो नाप्ने स्वास्थ्यकर्मी र बिरामीको नियमित उपचार गर्ने चिकित्सकको हकमा व्यक्तिगत सुरक्षाको छुट्टै नियम बनाएको जानकारी दिए। सम्भावित महामारीलाई व्यवस्थापन गर्नेगरी युद्धस्तरमा काम गरिरहेको दाबी पनि उनले गरे।

शुक्रबारसम्म  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ८ सय २ वटा नमुना परीक्षण गरिएकोमा चारबाहेक सबै नेगेटिभ भएको तथ्यांक छ।

कोरोना संक्रमितसित जोडिएका सबै व्यक्ति सम्पर्कमा 
विदेशबाट आएका दुईजनाकोरोना संक्रमितको सम्पर्कमा आएका सबै व्यक्ति पत्ता लागिसकेको मन्त्रालयले जनाएको छ। उनीहरुमा अहिलेसम्म कुनै समस्या रहेको र समस्या भएमा सम्पर्क गर्नसुझाव दिएको पत्रकार सम्मेलनमा बताइयो।आफूलाई कोरोना संक्रमणको शंका हटलाइन नम्बरमा फोन गरेर जानकारी दिने व्यवस्था मिलाएको सरकारले मिलाएको छ। यसका लागि हटलाइन १११५ का साथै ९८५१२५५८३९,९८५१२५५८३७ र ९८५१२५५८३६नम्बरमा फोन गर्न सकिनेछ।

प्रकाशित: १५ चैत्र २०७६ ०१:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App