८ वैशाख २०८१ शनिबार
राजनीति

भूकम्प पीडितको मुद्दामा सरकार असफलः राणा

काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपति शमशेर राणाले भूकम्प पीडित जनताको विषयमा काम नगर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीलाई कारबाही गर्नुपर्ने बताएका छन्।

रिपोर्टर्स क्लबले मंगलबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै राणाले भने, ‘भूकम्प पीडित जनताको विषयमा काम गर्न सरकार पूर्णरूपमा असफल भएको हो,’ उनले भने, ‘ प्रचण्डजीको सरकार पनि भूकम्प पीडितको पक्षमा काम गर्न नसकेर असफल भएको छ। दुई दुई वटा जाडोमा पनि कठ्यांग्रिएर राख्न नहुने थियो। यो सबैभन्दा ठूलो पाप हो। यसमा सरकार र प्राधिकरण दुबै दोषी छन्। त्यसैले ज्ञवालीलाई हटाएर भए पनि पीडित जनतालाई केही दिनुपर्यो।’

राणाले पीडित जनताका विषयमा आफूले पहिलेदेखि नै कुरा राख्दै आएको बताउँदै यसरी जनतालाई अलमल्याएर राख्न नहुने बताए। ‘सिईओ होस् कि सरकार काम गर्न नसक्ने कसैलाई पनि छोड्नु हुन्न, कारबाही गर्नैपर्छ,’ राणाले भने, ‘५० हजारले पीडितको घरको जग हाल्न पनि पुग्दैन तुरून्त कुनै बैकल्पिक व्यवस्था गर्नुपर्छ।’

सरकारले हालै संसदमा टेबल गरेको संविधान संशोधन विधेयकका विषयमा राप्रपाले कुनै आधिकारिक धारणा नबनाएको भन्दै राणाले भने, ‘यो विधेयकको विषयमा हामीले कुनै आधिकारिक धारणा बनाएका छैनौं, मधेसको समस्या समाधान गर्नुपर्छ भन्ने पक्षमा हामी छौं। संशोधन विधेयकमा उल्लेख भएको अंगीकृत नागरिकताबाहेक अरू विषयमा हाम्रो समर्थन हुनसक्छ। सीमांकनमा हाम्रो आपत्ति छैन।’

राणाले मधेशमा दुई प्रदेश राख्ने विषयमा आफ्नो आपत्ति नभएको बताए। ‘विधेयकमा राखिएको अंगीकृत नागरिकतको प्रावधान अलि खुकुलो छ। यसले गम्भीर खराबी ल्याउँछ,’ उनले भने।  
 

प्रकाशित: २६ पुस २०७३ १०:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App