८ वैशाख २०८१ शनिबार
समाज

रसुवामा एक घर एक साबुन वितरण

रसुवा- रसुवाको आमाछोदिङ्मो गाउँपालिका–२, सानोहाकुमा युवाहरूले ‘एक घर एक साबुन’ वितरण गरेका छन्। युवाहरूले सानोहाकुमा शुक्रबार साबुन वितरण गरेका हुन्। युवाहरू बीच आर्थिक संकलन गरेर गाउँमा साबुन वितरण गरिएको स्थानीय सोमबहादुर तामाङले बताए। उनका अनुसार गाउँलेलाई मास्क वितरणको प्रक्रिया अघि बढाइएको छ।

साथै उनीहरूलाई हात धुने तरिका समेत सिकाइएको छ। विश्वभरी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को बारेमा सूचना दिने काम भइरहेको उनको भनाइ छ। मंगलबारदेखि लक डाउन भएपछि यहाँका स्थानीय हिँडडुल गर्न छाडेका छन्। स्थानीयले घरायसी काम गर्ने र घरमै बस्न थालेका उनले बताए।

मंगलबारदेखि जिल्लामा सवारी साधन सञ्चालनमा आएका छैनन् भने बजार दैनिक चार घण्टा खुल्ने गरेको छ। स्थानीय घर बाहिर निस्किएका छैनन्। सबै जना सेल्फ क्वारन्टाइनमा बसेका छन्। प्रहरीले माइकिङ अभियानलाई जारी राखेको छ।

जिल्लामा खाद्य सामग्री, पोल्ट्री फर्मका लागि ल्याउने दाना, औषधि ल्याउने सवारी साधन र स्थानीयले उत्पादन गरेका तरकारी तथा आलु बजारसम्म पुर्‍याउनका लागि अनुमति दिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए। गएको २४ घण्टामा जिल्लामा अन्य घटना नभएको उनले जानकारी दिए।

प्रकाशित: १४ चैत्र २०७६ ११:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App