१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दुई देशको ‘लकडाउन’ले छेकेन लागुऔषध सेवनकर्तालाई

सर्लाही- कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न गत चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि १८ गतेसम्मका लागि नेपाल सरकारले मुलुकभर लकडाउन घोषणा गर्‍यो। लकडाउन घोषणासँगै भारतीय सीमाबाट सर्वसाधारणको ओहोरदोहोर एवं सवारी साधन आवतजावतमा पूर्ण रुपले प्रतिबन्ध लाग्यो।

त्यस्तै भारत सरकारले पनि बुधबार राति १२ बजेबाट २१ दिनका लागि लकडाउन घोषणा गरिसकेको छ। दुवै देशका सुरक्षाकर्मीले लकडाउन तोडेर घरबाहिर निस्कनेलाई सम्झाई बुझाई गरेर फर्काउने मात्र हैन, कुटपिट लगायत विभिन्न सजाय समेत गरिरहेका छन्।

यस्तो कडाईका बीच पनि लागुऔषध सेवनकर्ता भने दुवै देशको लकडाउन तोड्दै सीमा वारपार गर्ने गरेको खुलेको छ। बिहीबार दिउँसो कविलासी नगरपालिका–७, सिरसिया गाउँका लालबाबु महतो लागुऔषधको रुपमा प्रयोग हुने प्रतिबन्धित औषधिसहित पक्राउ परेका छन्।

ण्सशस्त्र प्रहरीको गस्ती टोलीले सय एमएलको कोझोम एलसीडी नामक १२ बोतल लागुऔषधसहित महतोलाई पक्राउ गरेको हो। भारतीय सीमा क्षेत्रस्थित सुनसान धानखेतको आलीमा लगाइएको रहरीको बोटहरुले छेलिएर लुक्दै नेपालतर्फ आईरहेको अवस्थामा महतोलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

दुवै देश लकडाउनको अवस्थामा रहेपनि महतोले कसरी भारतीय बजारबाट लागुऔषधको रुपमा प्रयोग हुने प्रतिबन्धित औषधि नेपाल भित्र्याउन सके भन्ने प्रश्न उब्जिको छ। आवश्यक कारबाहीका लागि महतोलाई जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले जानकारी दिए।

सप्रउ श्रेष्ठका अनुसार दुई दिनअघि पनि भारतको सोनवर्षा बजारबाट केही थान सिरिञ्ज बोकेर आउँदै गरेका एक युवालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको छ। सशस्त्र प्रहरीले लागुऔषधसहित पक्राउ गरेका युवा जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए। ‘सीमा क्षेत्रमा निकै कडाई गरेका छौं’, सप्रउ श्रेष्ठले भने, ‘धानखेत एवं एकान्त स्थानहरु निकै भएकाले एकादुई छिर्ने गरेको पाइएको छ, युवाहरु पक्राउपछि त्यस्ता सुनसान स्थानमा समेत सुरक्षा निगरानी बढाइएको छ।’

प्रकाशित: १४ चैत्र २०७६ १०:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App