coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

सिन्धुपाल्चोकमा तीन जना आइसोलेसनमा

सिन्धुपाल्चोक – कोरोना भाइरस (कोभिड–१९) को लक्षणसँग मिल्ने सुख्खा रुघा, खोकी र ज्वरो देखिएपछि सिन्धुपाल्चोकमा एकै गाउँका तीन जनालाई इमर्जेन्सी आइसोलेसनमा राखेर उपचार थालिएको छ। उपचाररतमध्ये एक बिदेशबाट फर्किएकी महिला हुन्। 
    
बाह्रविसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रको आइसुलेसन वार्डमा उनीहरुको उपचार भइरहेको हो। तीनै भोटेकोसी गाउँपालिकाका हुन्। केन्द्रका डा. किशोर सुब्बाका अनुसार ३४ वर्षीया निमास्याङवो शेर्पा, उनकी १७ वर्षीया छोरी याङी शेर्पा र ८० वर्षीय छिरिङ दोर्जे लामाको बिहीबारदेखि आइसोलेसनमा उपचार भइरहेको छ। 
    
‘तीनै जनामा रुघा, खोकी र ज्वरो देखिएपछि आइसोलेसनमा राखेर उपचार गरिरहेका छौँ,’ उनले भने। केन्द्रमा युटिएम टेस्ट किट नभएकाले उनीहरुको नमुना संकलन हुन नपाएको उनले बताए। उनका अनुसार केन्द्रका स्वासथ्यकर्मी किट लिन राजधानीको टेकस्थित सरुवा रोग अस्पताल पुगेका छन्। ‘साँझ किट आइपुगे नमूना संकलन गरेर शनिबार परीक्षणका लागि पठाउने तयारी छ,’ डा. सुब्बाले भने। उनीहरुलाई रुघा, खोकी र ज्वरोको सामान्य औषधी चलाइएको उनले जानकारी दिए। 
    
सुरुमा उनीहरु भोटेकोसी गाउँपालिकामा सञ्चालित हेल्थ डेस्कमा पुगेका थिए । डेस्कले बिदेशबाट फर्किएकी महिलासहित तीनै जनालाई बाह्रविसे पठाएपछि केन्द्रले उनीहरुलाई आइसुलेसनमा राखेको हो । निमास्याङ्वो बिदेशबाट फर्किएकी हुन् । बैदेशिक रोजगारीको सिलसिलामा इराक रहेकी उनी माघ २७ गते नेपाल फर्किएकी थिइन् । राजधानीमा पढ्ने छोरी याङीसँगै उनी होस्टेल बस्न थालिन् । 

अस्पतालमा निमास्याङवोले दिएको जानकारी अनुसार होस्टेल बसाईँका क्रममा याङीलाई साताअघि रुघा, खोकी र ज्वरो देखिन थालेको थियो । यस्तैमा गएको आइतबार आमाछोरी भोटेकासीस्थित गाउँ आइपुगेका थिए । गाउँ बसाईँका क्रममा आमा निमाछिरिङमा पनि रुघा, खोकी र ज्वरो देखिन थाल्यो । आमाछोरी उपचारका क्रममा भोटेकोसी पुग्दा छिमकी छिरिङ दोर्जे पनि भेटिए । 

उनी पनि सोही लक्षण देखिएपछि उपचारमा आएका थिए। तर हेल्थ डेस्कले भने तीनै जनालाई एउटै एम्बुलेन्समा राखेर आइसोलेसनका लागि पठाएको थियो। वरिष्ठ जनस्स्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईँले कोरोनाको आशंकामा आइसोलेसन वार्डमा राखेर उपचार गरेको सिन्धुपाल्चोकमा यो पहिलो घटना भएको बताए। ‘परीक्षणविना अहिल्यै केही भन्न सकिने अवस्था भने छैन,’ उनले भने। 
 

प्रकाशित: १४ चैत्र २०७६ १०:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App