coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

१७ शैयाको आइसोलेसन सञ्चालनमा, स्वास्थ्यकर्मी र सामग्री अभाव

सिन्धुपाल्चोक- महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड–१९) फैलन सक्ने सम्भावित खतराप्रति उच्च सतर्कता अपनाउँदै सिन्धुपाल्चोकका चार स्थानमा १७ शैयाको आइसोलेसन वार्ड सञ्चालनमा ल्याइएको छ।

स्वास्थ्य कार्यालयले जिल्ला अस्पताल चौतारा तथा प्राथमिक स्वासथ्य केन्द्र बाह्रविसे, मेलम्ची र जिल्ला समन्वय समितिको कार्यालयमा आइसोलेसन बार्ड सञ्चालनमा ल्याएको हो। ‘यी स्थानमा तत्कालका लागि १७ शैयाको आइसोलेसन वार्ड तयारी हालतमा छन्,’ वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईँले भने।

चौतारा जिल्ला अस्पतालमा ६, समन्वय समिति चौतारामा चार, प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा चार र बाह्रविसेकमा तीन शैयाको आइसोलेसन वार्ड तयारी अवस्थामा रहेको उनले जानकारी दिए। उनका अनुसार हाल चिकित्सक उपलब्ध स्थानमा मात्र आइसोलेसन वार्ड सञ्चालनमा ल्याइएको हो। ‘भविष्यमा सम्भावित कोरोनाका संक्रमित बढे आकस्मिक रुपमा थप आइसोलेसन वार्डको व्यवस्था गर्छौँ,’ चापागाईँले भने।

चौतारा साँगाचोकगढी नगरपालिकाको मेलचौर, त्रिपुरासुन्दरी गाउँपालिकाको तौथली र पाँचपोखरी थाङपाल गाउँपालिकाको तिपेनीमा क्वारेन्टाइन स्थापनाको तयारी भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ। ती स्थानमा भूकम्पपछि बनेका सामुदायिक भवन रहेकाले ठूलो क्षमतामा क्वारेन्टाइन सञ्चालनमा ल्याउन सकिने चापागाईँले बताए। उनका अनुसार यास्तो वार्डमा अत्यावश्यक औषधि, उपकरण र स्वास्थ्यकर्मीको व्यवस्था गरिने छ।

स्थापित आइसोलेसनमा औषधि र स्वास्थ्यकर्मीसमेत तयारी हालतमा रहेको चापागाईँले जनाए। आइसोलेसनमा तत्कालका लागि औषधि पर्याप्त भए पनि सम्भावित संक्रमित बढेमा भने पुग्ने अवस्था छैन। त्यस्तो अवस्थालाई मध्यनजर गर्दै प्रदेश सरकारसँग थप औषधि र उपकरण माग गरेको उनले बताए। उनका अनुसार जिल्लामा स्वास्थ्यकर्मी नै पर्याप्त छैनन्। जिल्लाका स्वास्थ्य संस्थामा दरबन्दी अनुसार स्वास्थ्यकर्मी कार्यरत छैनन्। ‘भएकै स्वास्थ्यकर्मीबाट काम गराउनुको बिकल्प छैन,’ वरिष्ठ जनस्वास्थ्य अधिकृत चापागाईँले भने। जिल्ला अस्पतालमा एक चिकित्सकले कोरोना भाइरसविरुद्धकको उपचारको विशेष तालिम लिएका छन् भने उनले अरु चिकित्सकलाई प्रशिक्षण दिइएका छन्।

नेपालमा समेत कोरोना संक्रमित भेटिएपछि गम्भीर बनेका जिल्लाका स्थानीय तहले समेत सचेतनाका गातिविधि तीव्र बनाउँदै लगेका छन्। स्थानीय तहले सामुदायिक भवन र विद्यालयमा क्वारेन्टाइन सञ्चालनको तयारी गरेका छन्। इन्द्रावती, हेलम्बु लगायत गाउँपालिकाले आफ्ना नाकामा हेल्प डेस्क स्थापना गरेर स्थानीयको स्वास्थ्य परीक्षणलाई तीव्रता दिइरहेका छन्। बजारमा अभाव भएपछि स्थानीय तहले स्थानीय कपडाको मास्क बनाएर वितरण गरिरहेका छन्।

कोरोनाबारे स्थानीय स्तरमा सचेतना फैलाउन र क्वारेन्टाइन स्थापना गरेर उपचारमा सघाउन जिल्लामा कार्यरत संघ, संस्था र निजी क्षमेत्रलाई आग्रह गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ। उपचारमा खटिने स्वास्थ्यकर्मीमा स्वास्थ्य सामग्री भने अभाव रहेको चौलागाईँले बताए। ‘तत्काल सबै स्वास्थ्यकर्मीलाई दुई सेटका दरले मास्क, एप्रोनलगायत स्वास्थ्य सामग्री वितरण गरेका छौँ,’ उनले भने, ‘संक्रमित बढ्न थाले त्यस्ता सामग्रीको अभाव हुनेछ।’

 

प्रकाशित: १४ चैत्र २०७६ ०७:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App