७ वैशाख २०८१ शुक्रबार
अर्थ

बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक पारित

काठमाडौँ– व्यवस्थापिका–संसद्को आजको बैठकले बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक, २०७३ लाई बहुमतले पारित गरेको छ ।

यस अघि बैठकमा अर्थमन्त्री कृष्णबहादुर महराले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए।

बैठकमा सांसदहरुले विधेयककाबारेमा उठाउनुभएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महराले बैकिङ क्षेत्रमा देखिएको विसङगतिलाई सुधार गर्दै बैंकप्रति जनताको विश्वास बढाउने र बैंकिङ कारोबारलाई अन्तर्राष्ट्रियस्तरको बनाउने विधेयकको उद्देश्य रहेको बताए।

उनले भने– “विधेयक पारित भएपछि मुलुकको अर्थतन्त्रमा सुधार आउने छ । बैंकिङ कारोबारमा देखिएको जोखिम नियन्त्रणमा योगदान पुग्ने छ । यसबाट बैंकिङ क्षेत्रको विकासमा ‘ब्रेक थ्रु’ हुनेछ ।”

विधेयकमा बैंक तथा वित्तीय संस्थाका सञ्चालक समितिमा रहेका व्यक्तिको योग्यता र कार्यकाललगायतको व्यवस्थालाई सुनिश्चित गरिएको छ । यसअघि उक्त विधेयकमाथि सांसद प्रेम सुवाल, डा सुबोध पोखरेल र चूडामणि विक जङ्गलीले अर्थमन्त्रीसँग स्पष्टीकरण माग गरे।

बैठकमा वाणिज्य मन्त्री रोमी गौचन थकालीले व्यापार सहजीकरण सम्झौता सदनसमक्ष पेस गरे। व्यवस्थापिका संसद्को अर्काे बैठक यही पुस २९ गते शुक्रबार १ बजे बस्ने छ। रासस

प्रकाशित: २६ पुस २०७३ ०८:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App