८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

तनहुँमा पीपीई अभाव, स्वास्थ्यकर्मी भन्छन्– जोखिम मोलेर उपचार गर्दैछौंं

बेलचौतारास्थित जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको आईसोलेसन वार्ड ।

तनहुँ – विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) का संक्रमित बिरामीको उपचारार्थ खटिने स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) आवश्यक हुन्छ। तनहुँमा भने पीपीईको अभाव देखिएको छ। पीपीई नहुदाँ यहाँका स्वाथ्यकर्मीले असुरक्षित महसुस गर्ने थालेका हुन्।  कोरोनाको शंकास्पद बिरामी स्वास्थ्य परिक्षण गर्न आएमा असुरक्षित तरिकारले काम गर्नुपर्ने बाध्यता छ।  

जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा कोरोना संक्रमित बिरामीको नमुना संकलन गर्न १२ शैय्याको आईसोलेसन वार्ड तयार छ। तर, मात्र दुई थान पीपीई रहेको अस्पतालका प्रमुख डाक्टर रामकुमार श्रेष्ठले बताए। अस्पताललाई दुई थान पीपीई पनि शुक्लागण्डकी नगरपालिकाले दिएको हो। श्रेष्ठका अनुसार एक जना स्वास्थ्यकर्मीले एक पटक लगाएको पीपीई  प्रयोग गर्न मिल्दैन्। 

अस्पतालमा स्वास्थ्यकर्मी र कर्मचारी गरेर ७० जना कार्यरत छन्। पीपीईको सट्टामा एन–९५ मास्क, रेनकोट र गमबुट लगाई शंकास्पद बिरामीको स्वास्थ्य परिक्षण गर्ने गरेको उनले जनाए।  ‘दुई हप्ता यता विदेशबाट आएकाहरु कोरोनाको संक्रमण भए नभएको परिक्षण गर्न आईरहेका छन्। पीपीई नहुदाँ जोखिम भएतापनि स्वास्थ्य परिक्षण गर्नुपरेको छ’, उनले भने, ‘ढुक्क भएर काम गर्ने अवस्था छैन् ।’ उनका अनुसार अस्पतालमा कार्यरत स्वाथ्यकर्मी र कर्मचारी सबै असुरक्षित छन्।  

जोखिम मोलेर काम गर्न नसकिने उनको भनाई छ। ‘आफैँ असुरक्षित हुदाँ आईसोलेसनमा आएका बिरामीको उपचार गर्न मनोबल कमजोर हुन्छ। त्यसैले तत्काललाई कम्तीमा १५ थान पीपीई उपलब्ध गराउन जिल्ला प्रशासनसंग माग गरिएको छ’, डा. श्रेष्ठले भने।  
अस्पतालमा हालसम्म दुईसाता यता विभिन्न मुलुकबाट आएका ८ जनाको स्वास्थ्य परिक्षण गरिएको छ। उनीहरुको स्वास्थ्य सामान्य भएपछि अस्पतालको सम्पर्कमा रहने गरी होम क्वारेन्टाइनमा बसेको उनले बताए। 

बन्दीपुर अस्पतालमा आठ शैय्याको आईसोलेसन छ। यहाँका कार्यरत ३५ जना स्वास्थ्यकर्मी र कर्मचारीलाई बन्दीपुर गाउँपालिकाले एक सेट रेनकोट, गमबुट र एन–९५ मास्क दिएको छ। त्यस बाहेक स्ट्यान्र्ड खालको पीपीई नरहेको अस्पतालका प्रमुख डा. डिबी क्षेत्री बताउँछन्।  जिल्ला अस्पताल दमौलीमा पनि अभाव रहेको बताईन्छ। 

जिल्लाभर ४० शैय्याको आईसोलेसन वार्ड स्थापना गरिएको छ। स्वास्थ्यकर्मीको सुरक्षाका लागी पीपीई भने अभाव छ।  एक दुई दिनमा पीपीई उपलब्ध गराउने तनहुँका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले बताए। ‘प्रदेश सरकार, केन्द्र सरकारसंग माग गरेका छौँ’, उनले भने, ‘एक दुई दिनमा आईपुग्छ।’ जिल्लाभरका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारी र एम्बुलेन्सका चालकलाई समेत पुग्ने गरी माग गरिएको उनको भनाई छ।  

शुक्लागण्डकी नगरपालिकासंगको सहकार्यमा दुई शैय्याको आईसोलेसन वार्ड तयार पारेको दुलेगौँडास्थित तनहुँ सेवा हस्पिटलले भने १५ थान पीपीईको व्यवस्था गरेको छ। 

 

 

प्रकाशित: १३ चैत्र २०७६ ११:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App