coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

रोकिएका पर्यटकको मुस्ताङ र पोखराबाट उद्धार

पोखरा विमानस्थलका विहीबार दिउँसो जहाजक चढ्दै विदेशी पर्यटक । तस्बिर सौजन्यः देवराज सुवेदी

पोखरा- कोरोना भाईरसको त्रासले मुलुक ‘लकडाउन’ हुनुअघि नै नेपाल भित्रिसकेका विदेशी यहाँका विभिन्न पदमार्गमा पदयात्रामा थिए। पदयात्रा सकेर ती पर्यटक सहर झरिसक्दा मुलुकभित्रको आउजाउ बन्द भईसकेको थियो भने अन्तर्राष्ट्रिय हवाई सञ्जाल पनि टुटिसकेको थियो। लकडाउन र उडान समेत अवरुद्ध हुँदा आफ्नो मूलुकसम्म पनि फर्किन नसक्ने अवस्थामा सयौं पर्यटक यहाँँ रोकिएका थिए। विभिन्न ठाउँमा रोकिएका तिनै विदेशी पर्यटकको बल्ल उद्धार गर्न थालिएको छ।
हिमालपारिको जिल्ला मुस्ताङमा रोकिएका १ सय ४५ जना पर्यटकलाई तीनदिन अवधिमा उद्धार गरेर राजधानी पठाइएको छ। मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालका अनुसार लकडाउन भएको तीनदिन अवधिमा ती पर्यटकलाई स्थलमार्ग हुँदै राजधानी पठाइएको हो। लकडाउनको पहिलो दिन ९, दोश्रो दिन ८ नेपाली र ४१ विदेशी तथा तेश्रो दिन ९ नेपाली र ४८ जना विदेशी पर्यटकको उद्धार गरिएको हो। परराष्ट्र र गृह मन्त्रालयको समन्वयमा ती पर्यटकलाई उद्धार गरिएको अर्यालले बताए। विदेशी पाहुनासँगै नेपाली गाइड र पोर्टर पनि पदयात्रामै थिए। ती सबैको उद्धार गरिएको उनले बताए।
अर्यालका अनुसार मुस्ताङका विभिन्न ठाँउमा अझै पनि विदेशी पर्यटक बसिरहेका छन्। ती पर्यटक अझै केहीदिन त्यही क्षेत्रमा बस्ने र तत्काल फर्किन नचाहेको उनले बताए। प्रजिअ अर्यालका अनुसार कागबेनी, लेते, मुक्तिनाथ क्षेत्रका होटलमा अझै केह विदेशी पाहुना बसिरहेका छन्। ती विदेशीले हिडडुलमा समस्या हुने भन्दै तत्काल स्वदेश फर्किन नचाहेको उनले बताए। ‘हिडडुलमा समस्या हुने भएकोले पनि कतिपय पर्यटक यतै बस्ने भनेका छन्। घर फिर्न सहज नभएको भन्दै केही पर्यटक अहिले जान नमानेका हुन्। हामीले पनि उनीहरुलाई जर्बजस्ती जाउ भनेका छैनौ,’ उनले भने, ‘उनीहरुको भिसा अवधि सकिएको पनि छैन। त्यसैले बस्दा समस्या पनि छैन।’ विभिन्न मूलूकले चार्टर उडान गरेर आफ्ना नागरिक लैजाने भनेपछि ती विदेशी पर्यटक काठमाडौं जान चाहेको उनले बताए। झन्डै दर्जन मुलुकका विदेशी घर फर्किने योजना सहित काठमाडौंका लागि हिडेको प्रजिअ अर्यालले बताए।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का जोमसोमस्थित संरक्षण अधिकृत तुलसी दाहालका अनुसार ती पर्यटकलाई स्थलमागैबाट पठाईएको हो। विहीबार दिउँसो मुस्ताङबाट दुईवटा बसमा हिडेका उनीहरु शुक्रबार बिहानसम्म काठमाडौं पुग्नेछन्। त्यसपछि उनीहरुको दुतावासको सम्पर्कमा पुगेर आउजाउ गर्ने उनले बताए। ‘पर्यटकहरु फर्किन पनि चाहे। यहाँ बस्दा जोखिम निम्तिन सक्ने भएकोले पनि उनीहरुको व्यवस्थापन गरिएको हो,’ उनले भने।
दाहालका अनुसार ती सबै पर्यटक मुलुक लकडाउन हुँदा अन्नपूर्ण क्षेत्रको पदयात्रामा थिए। अधिकांश पर्यटक मनाङको माथिल्लो भेगमा थिए र उनीहरु थोराङला भञ्ज्याङ पार गरेर मुस्ताङ झर्ने क्रममा थिए। कम्तिमा ५ दिनको यात्रा पार गरेपछि मात्र उनीहरु जोमसोम आउन सक्ने भएकोले पनि पर्यटकले लकडाउन हुनासाथ आउन नसकेको एक्यापका दाहालले बताए। ‘भञ्ज्याङ पार गरेर आउने पर्यटक अब छैनन। किनकी मनाङ प्रवेश बन्द भईसकेको छ,’ उनले भने।
त्यस्तै विभिन्न क्षेत्रको पदयात्रा सकेर पोखरा झरिसकेका ५८ जना विदेशी पर्यटकको विहीबार हवाईजहाजबाट उद्धार गरिएको छ। पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीका अनुसार ५६ जना पर्यटक फ्रेन्च र अरु दुइजना अन्य मुलुकका थिए। तीमध्ये फ्रेन्च पर्यटक लिन जहाज आउने भएकाले पोखरामा रोकिएका पर्यटक काठमाडौं पुगेका हुन्। पोखरामा रोकिएका ती पर्यटकलाई लिन बुद्ध एयरको एटिआर–७२ जहाज दिउँसो पोखरा आएको थियो। ‘पदयात्राबाट फर्केर पोखरा झरेका ती पर्यटक आउजाउ रोकिँदा पोखरामा अडिएका थिए। उनीहरुलाई काठमाडौंसम्म जान सरकारले स्वीकृति दिएपछि जहाज आएर लिएर सुवेदीले बताए।


 

 

 

 

प्रकाशित: १३ चैत्र २०७६ ११:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App