८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

पीपीईबिनै स्वास्थ्य जाँचमा स्वास्थ्यकर्मी

खोटाङ– कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि खटाइएका स्वास्थ्यकर्मी आवश्यक सामग्रीको अभाव झेल्न बाध्य छन्। जिल्लाका स्वास्थ्यकर्मी पीपीई (पर्सनल प्रोटेक्टिम इक्वीपमेन्ट) लगायतका आवश्यक सामग्री अभावकाबीचमा बिरामीको स्वास्थ्य चेकजाँच तथा आवश्यक परामर्शका काममा खटिइरहेका छन्।

हालसम्म्म मास्क र ग्लोव्सको भरमा स्वास्थ्यकर्मीले जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र हेल्थ डेस्कबाट सेवा प्रवाह गरिरहेका छन्। पीपीई नलगाइ स्वास्थ्य जाँच गर्दा सबैभन्दा पहिला स्वास्थ्यकर्मीलाई नै भाइरस सर्ने खतरा भएकाले सचेत रहनुपर्ने जिल्ला अस्पताल खोटाङका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर शैलेस श्रेष्ठले बताए।

कोरोनाको संक्रमण रोक्नका लागि सरकाले लकडाउन गरेको छ। नागरिकलाई घरबाहिर निस्कन दिइएको छैन। तर, यहीबेला खटाइएका स्वास्थ्यकर्मी भने आवश्यक सामग्रीको अभावकाबीचमा सेवा प्रवाह गर्न बाध्य छन्। जिल्लाका १० स्थानीय तहका विभिन्न नाकामा राखिएका २० वटा हेल्थ डेस्कमा स्वास्थ्यकर्मीले पीपीईबिनै सर्वसाधारणको चेकजाँच गरिरहेका छन्। ‘यो बेला पर्सनल प्रोटेक्टिम इक्वीपमेन्ट चाहिने हो, तर जिल्लामा नभएकाले त्यो बिनै काम गरिरहनु परेको अवस्था छ,’ डा. श्रेष्ठले भने, ‘पीपीई नहुँदा स्वास्थ्यकर्मी आफै रिस्कमा छन्। एकदमै संवेदनशिल बनेर काम गरिरहनु परेको अवस्था छ।’ पीपीई नहुँदा लकडाउनको अवधिमा खटाइएका सुरक्षाकर्मी र संक्रमण भएका सम्भावित व्यक्तीको कुरुवा समेत जोखिममा छन्।

जिल्लामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मात्र पीपीईको पाँच थान साधारण सेट खरिद गरेर ल्याएको छ। अन्य स्थानीय तहमा काम चलाउ पीपीई समेत ल्याइएको छैन। जिल्ला अस्पतालमै पीपीईको व्यवस्था छैन। पीपीई नहुँदा अरुको जीवन बचाउमा लागेका स्वास्थ्यकर्मी आफै जोखिम मोलेर सेवा गर्न बाध्य बनेको जन्तेढुंगा गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक पवन पोखरेलले बताए।

कोरोना रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिको बुधबारको बैठकले स्वास्थ्य परीक्षणका क्रममा स्वास्थ्यकर्मीले लगाउने पीपीई मास्क, ग्लोव्स लगायतका सामग्री व्यवस्थापनका लागि आवश्यक रकम जुटाउन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र १ नम्बर प्रदेशको मूख्यमन्त्रीको कार्यालय समक्ष सहयोग माग गर्ने निर्णय गरेको छ। तर माग गरिएको सामग्री कहिले आउने टुंगो नभएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङले बताए।

‘कोरोना भाइरसको संक्रमण रोकथाममा हाम्रा स्वास्थ्यकर्मीले जोखिम मोलेर सेवा गरिरहनु भएको छ,’ चाम्लिङले भने, ‘अरुको जीवन रक्षाका लागि खटिएका स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षामा हेलचक्र्याइँ गर्नु राम्रो होईन।’

प्रकाशित: १३ चैत्र २०७६ १०:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App