७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

मनकारी व्यावसायी : रोकिएका विदेशीलाई निःशूल्क खाना

पोखराको लेकसाइडस्थित मुनडान्स रेस्टुरेन्टमा निःशुल्क खान लिन आएका विदेशी पर्यटक। तस्बिरः नागरिक

पोखरा- कोरोना भाइरसको संक्रमणले विश्व त्रसित छ। यही त्रासलाई ध्यान दिँदै नेपालमा पनि सरकारले घरबाहिर ननिस्कन नागरिकलाई आग्रह गरिरहेको छ। तर, यो अप्ठेरोका बावजुद पनि मानवीय काम गर्ने व्यक्ति हाम्रो समाजमा छन्। त्यसको गतिलो उदाहरण हो, लेकसाइडको मुनडान्स रेस्टुरेन्ट एण्ड बारको प्रयास।

रेस्टुरेन्टले विगत तीन दिनदेखि पोखरामा रोकिएका जो कोही विदेशी पाहुनालाई निःशुल्क भोजन गराइरहेको छ। रेस्टुरेन्टका सञ्चालक दोर्जे लामासहितको टोली अहिले विदेशी पाहुनालाई निःशुल्क खाना खुवाउन जुटिरहेको छ। हरेक दिन मध्यान्ह १२ देखि २ बजेसम्म स्वदेशी वा विदेशी जो कोहीलाई पनि रेस्टुरेन्टले नेपाली खाना (दाल, भात, तरकारी र सलाद) निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ। रेस्टुरेन्टमा खाना खोज्दै पुग्नेमा एकाध नेपाली बाहेक सबैजसो विदेशी नागरिक रहेको सञ्चालक लामाले बताए। ‘अहिलेको संकटमा पनि हामीले व्यापार मात्र गर्ने र नाफा मात्र खोज्यौ भने त्यो मानवीयता हुँदैन,’ लामाले भने, ‘यतिबेला अप्ठेरो परेका जो कोहीलाई पनि खाना खुवाउन सकियो भने त्यो मानवता हुनेछ।’

उनका अनुसा तीन दिनदेखि लामाले रेस्टुरेन्टमा पाहुनालाई निःशुल्क खाना उपलब्ध गराईरहेका छन्। ‘लकडाउन’ को पहिलो दिन ६७, दोश्रो दिन ७८ र तेश्रो दिन ६० जनाले रेस्टुरेन्टबाट खाना लगेको उनले बताए। ‘रेस्टुुरेन्टमा बसेर खाने होइन, खानाका लागि आएका पाहुना निश्चित दुरीमा रहन्छन्। हामीले उनीहलाई प्याकिङ खाना उपलब्ध गराउँछौ,’ उनले भने, ‘होटलमै फर्केर ती पाहुनाले खाना खान्छन्।’ सरकारले अवरोध नगरेको खण्डमा लकडाउन अवधिभर आफूले निस्शुल्क खाना उपलब्ध गराउने उनले बताए।

उनले अहिलेको लागि आफूसँग मौज्दात खाद्यान्नबाट सेवा दिईरहेको र अपुग भएको खण्डमा भारतको सुनौली पुगेर ल्याएर भएपनि खुवाउने बताए। ठूला होटलले बसेका पाहुनालाई जसोतसो खाना खुवाए पनि साना होटलले भने खाना खुवाउन नसक्ने अवस्था आएपछि आफूले निःशुल्क खानाको व्यवस्थापन गरेको लामाले सुनाए। ‘बरु सुनौली पुगेर दालचामल किनेर ल्याउँछु। तर, खुवाउन भने छाड्दिन,’ उनले भने, ‘सरकारले अन्यथा नसोची मलाई नितान्त सेवा गर्न दिने हो भने यो अप्ठेरो रहुन्जेल मैले खाना खुवाउँछु,’ लामाले भने।

एकाएक आउजाउ रोकिएपछि नेपाल आईसकेका विदेशी यतै रोकिएका थिए। त्यसबाहेक अन्नपूर्ण क्षेत्रको पदयात्रामा रहेका पर्यटक पनि पोखरा आईसकेका छन्। तर, ती विदेशी तत्काल घर फिर्ने अवस्थामा छैनन्। पाहुना बसेका सबै होटलले पाहुनालाई बिहान बेलुकी खाना खुवाउने अवस्था समेत छैन। ‘पर्यटक हाम्रा अतिथि हुन्। ती पाहुनालाई सेवा दिँदा धर्म नै हुन्छ,’ लामाले भने, ‘सधैं कमाउने गरेका थियौ। यतिबेला सेवा गर्ने अवसर मिलेको छ। यो नै ठूलो कर्म ठानेको छु।’

एकाएक आउजाउ बन्द भएपछि पर्यटक भोकै परेको जानकारी पाएपछि लामाले रेस्टुरेन्टको सेवाबारे सामाजिक सञ्जालमार्फत सार्वजनिक जानकारी गराएका थिए। त्यही सूचनाका भरमा बाराहीचोकको मुनडान्स रेस्टुरेन्टमा खाना खोज्दै पाहुना आउन थालेका थिए। अरु व्यवसायीले पनि रेस्टुरेन्टको निःशुल्क सेवाबारे पाहुनालाई जानकारी दिएका थिए। लामाले हरेक दिन मध्यान्ह १२ देखि २ बजेसम्म आएजति पाहुनाका लागि खाना उपलब्ध गराउँछन्। रेस्टुरेन्टमा कार्यरत ११ जना कामदार अहिले सबै पाहुनाको निःशुल्क सेवामा खटिएको उनले बताए। लामाका अनुसार खानाका लागि दोहोरिएर आउने विदेशी पाहुना प्रयाप्त छन्।

कतिपयले एटिएम मेसिनमा पैसा भएर पनि निकाल्न पाएका छैनन्। हिडडुल नैै अवरुद्ध भएकोले यो बेला जसोतसो राजधानी गएपनि अन्तर्राष्ट्रिय उडान रोकिएकोले स्वदेश फर्किन नसक्ने अवस्थामा विदेशीले पोखरामै बसोबास उचित ठानेको उनले बताए। ‘यहाँ त कम्तिमा होटलमा बास पाएका छन्। योजनावद्ध तरिकाले घुमेका कतिपय पाहुना पैसाविहीन पनि भईसकेका छन्। त्यसैले ती पाहुनाका लागि निःशुल्क खानाले राहत दिईरहेको छ,’ उनले भने, ‘पैसाविहीन हुँदैमा ती पाहुनालाई भोकै राख्न मानवीयताले दिएन।’

खानाका लागि रेस्टुरेन्ट आएका पाहुनाले प्रवेशद्वारमै हात धुन्छन्। त्यसपछि उभिएर निश्चित दुरी कायम गरेर खाना माग्छन्। रेस्टुरेन्टले तयार पारेको खाना प्याकिङ गरेर पाहुनालाई उपलब्ध गराउँछ। पाहुना खाना बोकेर बसेको होटलतिर जान्छन्। ‘सकेसम्म तोकिएको समयमा मात्र हामीले खाना उपलब्ध गराउने हो। २४ सै घण्टा भने गाह्रो छ,’ उनले भने, ‘दिनको एकपटक भएपनि भरपेट खाना पाउँदा पर्यटक खुसी पनि छन्। नेपाली खानाको स्वाद पनि उनीहरुले चाख्न पाएका छन्।’

विदेशीहरु पनि लामाको यो कदमप्रति निकै नै खुसी छन्। पोखरामा रहेका क्रिस्टोफे नोइलले मुनडान्स रेस्टुरेन्टले निःशुल्क खाना उपलब्ध गराएकोमा सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेका छन्। मुनडान्सको कामप्रति उल्लेख गर्दै नोइलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पाहुना नै भगवान’ भनेर मुनडान्सले रोकिएका पाहुनालाई निःशुल्क खाना खुवाईरहेको छ,’ निकै नै गज्जबको संस्कार रहेछ। होटलमा बसेर पनि खाना नपाउँदा भोकै पर्ने अवस्था रहेकोमा चुनौतीका बावजुद पनि पाहुनालाई खाना खुवाउनु सानो कदम होईन।’

 

प्रकाशित: १३ चैत्र २०७६ ०८:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App