५ वैशाख २०८१ बुधबार
स्वास्थ्य

उदयपुरका बेलकामा २० र चौदण्डीगढीमा २९ बेडका क्वारेन्टाइन

चौदण्डीगढी ६ स्थित तयारी अवस्थाको क्वारेन्टाइन । तस्बिरः महेश्वर

उदयपुर- विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न र बचाउन उदयपुरका बिभिन्न स्थानीय तहले क्वारेन्टाइन र हेल्थ डेस्क स्थापना गरेर सञ्चालनमा ल्याएका छन्। यसैबीच बेलका नगरपालिकाले २ नं. वडा भागलपुर बान्डाँडामा २० बेडको क्वारेन्टाइन स्थापना गरेर सञ्चालनका लागि तयारी गरेको छ।

नेपाल रेडक्रस, कल्याणकारी स्वयं सेवक संघ, सामाजिक विकास शाखा, नगर प्रहरीको साझेदारीमा १, २ र ३ नं. वडाबासीको सहयोगबाट बुधबारदेखि निर्माण सुरु गरेको क्वारेन्टाइन बिहीबार विहानसम्ममा सञ्चालन हुनेगरी तयारी भएको बेलका नगरप्रमुख दुर्गाकुमार थापाले बताए। उनका अनुसार बान्डाँडास्थित नेपाल रेडक्रसद्वारा निर्मित सुरक्षा भवनलाई नै क्वारेन्टाइनमा परिणत गरिएको छ। पानी, विद्युत, शौचालय, खाना, सुरक्षा र एम्बुलेन्सको व्यवस्था गरेर सञ्चालनको तयारी पूरा भएको थापाले बताए। उनका अनुसार बान्डाँडा नाका सुनसरी र सप्तरीबाट बेलका भित्रिने प्रमुख प्रवेशद्वार भएकाले नगर भित्रिने सबैलाई हेल्थ डेस्कमा स्वास्थ्य जाँच गरी अनिवार्य क्वारेन्टाइनमा राख्न लागिएको छ।

त्यसैगरी चौदण्डीगढी नगरपालिकाका बिभिन्न वडामा २९ बेडको क्वारेनटाइन स्थापना तयार भएको छ। नगरप्रमुख खगेन्द्र राईका अनुसार नगर केन्द्र बेलटारको रामप्रसाद राई स्मृति रंगशालाको खेलकुद भवनमा वडा नं. ६ र ७ लाई लक्षित गरी ८ बेडको क्वारेन्टाइन स्थापना गरिएको छ भने ४ नं. को बसाहास्थित नारद आदर्श क्याम्पस भवनमा ४ बेडको क्वारेन्टाइन पनि यसअघि नै तयार गरिएको छ। त्यसैगरी ५ नंं. को सुन्दरपुरस्थित वडा भवनमा २ बेड, ६ को बेलटार प्राथमिक स्वास्थ्य केन्द्रमा ६ बेडको क्वारेन्टाइन पनि स्थापना गरिसकिएको छ।

चौदण्डीगढीले १० नं. वडास्थित स्वास्थ्यचौकीमा ५ बेड, ८ नं. वडाको वीरेन्द्र बजारमा ३ बेड र १ नं. को चौदण्डीगढी दरवारस्थित वडा भवनमा २ बेडको क्वारेन्टाइन तयार गरिएको मेयर राईले बताए। वडा नं. २ र ३ मा पनि बिहीबार साँझसम्ममा क्वारेन्टाइन बनाईसक्ने गरी धमाधम निर्माण कार्य भईरहेको छ।

कटारी नगरपालिकाको १ नं. वडा बेलसोतमा रहेको नेपाली सेनाको रणशार्दुल गणलाई ५ दिन अघि नै २ सय बेडको क्वारेन्टाइनमा परिणत गरिसकिएको छ। सदरमुकाम त्रियुगा नगरपालिकाले त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडामा २० बेडको क्वारेनटाइन स्थापना गर्ने तयारी गरिरहेको छ। जिल्ला अस्पताल, स्वास्थ्य कार्यालयलगायत आधा दर्जन नीजि अस्पतालहरु रहेकाले क्वारेन्टाइन स्थापनाको पहल नगरे पनि पछिल्लो समय संभावित संक्रमितको आगमन बढ्दै गएपछि आवश्यक ठानेर क्वारेन्टनाइन स्थापना गर्न लागेको मेयर बलदेव चौधरीले बताए।

जिल्लाको रौतामाई गाउँपालिकाले पनि वडा नंं ७ को मुर्कुचीमा ६ बेडको क्वारेन्टाइन स्थापना गरेर सञ्चालनको तयारी गरेको छ। लिमचुङबुङ, उदयपुरगढी र ताप्ली गाउँपालिकाले पनि पायक पर्ने स्थानका विद्यालय तथा वडा भवनहरुमा क्वारेन्टाइन स्थापना गर्ने काम गरिहेको जनाएका छन्।

 

प्रकाशित: १३ चैत्र २०७६ ०७:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App