८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

अन्यत्रबाट जाजरकोट आएका ४९ जना सैनिक ब्यारेकभित्रको क्वारेन्टाइनमा

नेपाली सेनाको जाजरकोटस्थित ज्वालादल गणमा निर्माण गरिएका क्वारेन्टाइनहरु ।

जाजरकोट- कोरोना भाइरसको संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउदै  जाजरकोटस्थित नेपाली सेनाको गणले जिल्लामा भित्रिएका ४९ जना सैनिकहरुलाई आफैले निर्माण गरेको क्वारेन्टाइनमा राखेको छ। जिल्ला सदरमुकामस्थित ज्वालादल गण मालिका ब्यारेकमा तालिम तथा विभिन्न कार्यक्रम सकेर फर्किएका, घरविदाबाट फर्किएका र सरुवा भइ जिल्लामा आएका ४९ जना सैनिकहरुलाई ब्यारेकभित्रै निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको ज्वालादल गणका गणपति प्रमुख सेनानी सुरेन्द्रप्रताप रावलले बताए। उनले कोरोनाको संक्रमण प्रति उच्च सचेतता अपनाउन र आफनो सुरक्षा आफै गर्ने उपाय अपनाउदै बाहिर जिल्लावाट आउने जो कोहिलाई पनि जिल्लामा भएका सेनाको सम्पर्कमा नरहने गरि १४ दिनको क्वारेन्टाइमा बस्न लगाएर मात्र बाहिर आउन दिइने बताए।

हाम्रो सानो गल्ती र बेवास्ताले पनि ठूलो  क्षति हुन सक्ने भएकोले सबैले  इमान्दारीतापूर्वक सचेतता अपनाउने र सरकारको आदेशलाई पालना गरेमा भविष्यमा हुन सक्ने ठूलो क्षतिबाट बच्न सकिने उनले बताए। गणपति प्रमुख सेनानी रावलले जिल्लामा आइपर्न सक्ने खतरा र आपतलाई मध्यनजर गरि सेनाको ब्यारेकभित्रै आफूहरुले केहि क्वारेन्टाइनहरु बनाएको र शंकास्पद तथा  संक्रमितहरुलाई क्वारेन्टाइनमा राख्न आफूहरुले मद्दत गर्ने बताए। जिल्लाका विभिन्न स्थानहरुमा स्थापना गरिएका हेल्प डेस्क र अन्य चेतनामुलक गतिविधिहरुमा सेनाले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहभागिता जनाउने र सहयोग गर्ने काम गरिरहेको छ।

यस्तै जिल्लामा कोरोना भाइरसको संक्रमण रोक्नका लागि आफूहरुले उच्च सतर्कता अपनाएर काम गरिरहेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए। उनले भारत र अन्य स्थानाबाट जिल्ला भित्रिनेहरुको स्वास्थ्य जाँच तथा शंकास्पदहरुलाई क्वारेन्टाइनमा राख्नेदेखि अन्य सुरक्षाका उपाय अपनाउने काममा जिल्लाका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्थानीय सरकार र अन्य सरोकारवालाहरुले सक्रियतापूर्वक काम गरिरहेको बताए। उनले   सेनाले जस्तै सर्वसाधारणले पनि आफ्नो परिवारबाहेक अरुसंगको सम्पर्कमा नजाने, सरकारले जारी गरेको आदेशको पूर्ण पालना गर्ने, नियमित रुपमा स्वस्थ खानेकुरा खाने, पटक पटक सावुन पानीले हात धुने, भीडमा नजाने जरुरी कामले घरबाहिर निस्कनु परे अनिवार्य मास्क लगाउने, कुनै पनि व्यक्ति भन्दा एक मिटरको दुरी कायम गरेर बस्नेलगाएतका सावधानी अपनाएर साथ दिए कोरोनाको संक्रमणबाट बच्न सकिने प्रमुख जिल्ला अधिकारी पन्तले बताए।

सरकारले जनताको सुरक्षाको लागि घोषणा गरेको लकडाउन अर्थात घरमै बस्ने उर्दीलाई सबैले गम्भीरता र इमान्दारीतापूर्वक पालना गर्नै पर्ने उनले बताए। हाम्रो सानो गल्ती र हेलचक्रयाइले भोलि ठूलो विपत्ती र क्षति हुन सक्ने भएकोले सबैले उच्च सकर्तकता अपनाउदै लकडाउन अवधिभर अनावश्यक हिडडुल नगर्न, भीडभाड नगर्न, होटेलपसल  उद्योग धन्दा नखोल्न र आफ्नो सुरक्षामा आफै सजग र होसियार बन्न प्रमुख जिल्ला अधिकारी पन्तले सर्वसाधारणलाई आग्रह गरे।
 

प्रकाशित: १३ चैत्र २०७६ ०६:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App