coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दुई साता यता विदेशबाट आएकाहरुको तथ्यांक संकलन गरिदै

धरान - धरान उपमहानगरपालिकाले विगत दुई सातामा विदेशबाट आएका व्यक्तिहरुको खोजी गर्न थालेको छ। कोरोना भाइरस(कोडिभ १९)को संक्रमणको जोखिम न्युनीकरणको लागि गहृमन्त्रालयको निर्देशन अनुसार उपमहानगरले पनि तथ्यांक संकलन गर्न थालेको हो। उपमहानगरपालिकाले तीन दिन अघि नै प्रत्येक वडा कार्यालयमा १५ दिनभित्र घर फर्किएका व्यक्तिहरुको खोजी गरेर जानकारी गराउन पत्राचार गरेको थियो।

उपमहानगरको पत्र पाए पछि अहिले धरानका वडाहरुले विदेशबाट आएकाहरुको तथ्यांक संकलन धमाधम गरिरहेको छ। ‘मन्त्रालयले १५ दिनभित्र विदेशबाट आएकाहरुको विवरण पठाउन भन्यो, हामीले पनि वडामा पत्राचार गरेर चाडो पठाउन भनेका छौं,’उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले भने।

काठमाण्डौंमा विदेशबाट आएकी युवती कोरोना संक्रमित भएको पुष्टि भएसँगै धरानका वडाहरुले पनि विदेशबाट आएकाहरुको खोजी कार्य तीब्र पारेका छन्। सोही क्रममा वडाहरुमा थुप्रै विदेशबाट आएकाहरु भेटिएको र उनीहरु होम क्वारेन्टाइनमा पनि नभएको पाइएको छ। यसले कोरोना संक्रमणको जोखिम भएको भन्दै जनप्रतिनिधिहरु चिन्तित छन्। ‘हामी टोल, वस्तीहरुमा विदेशबाट आएका मान्छेहरु खोजी गरिरहेका छौं,थुप्रै भेटिसकयौं,’वडा १६ का अध्यक्ष दिलकुमार गिरीले भने,‘केहीलाई वीपी हस्पिटल पनि पठाएका छौं।’

वडाअध्यक्ष गिरीले विदेशबाट आएपछि होम क्वारेन्टाइनमा नबसेको पनि पाइएको बताए। यसले गर्दा वडाबासीहरु भयभित अवस्थामा पनि रहेको उनले बताए। ‘विदेशबाट आएर क्वारेन्टाइनमा बसेको रहेनछ, यसले गर्दा पनि वडबासीहरुमा एक किसिमको त्रास भएको छ,’अध्यक्ष गिरीले भने। मंगलबार विदेशबाट आएका धरान १६ का ३ जनालाई वीपी प्रतिष्ठान लगिएको थियो। ती मध्ये एक जना कतार, एक जना कोरिया र एक जना मलेसियाबाट आएका हुन्। कतारबाट आएका व्यक्ति उतै क्वारेन्टाइनमा बसेर आएको कागज साथमा भएकोले घर फिर्ता भएका छन् भने अन्य २ जना प्रतिष्ठानमा नै छन्।


संक्रमित युवतीसँग यात्रा गरेका ४ जनाको सुनसरीमा खोजी

फ्रान्सबाट कतार ट्रान्जिट हुदै नेपाल आएकी कोरोना संक्रमित युवतीसँगै यात्रा गरेका ४ जनाको सुनसरीमा खोजी प्रहरीले गरिरहेको छ। ती युवतीसँगै आएका ४ जनाको घर सुनसरी भएको खुलेपछि प्रहरीले उनीहरुको खोजी शुरु गरेको हो।

ती चार मध्ये एक जना धरान ६, पानवारीका व्यक्ति सम्पर्कमा आइसकेका छन्। उनलाई हिजो मंगलबार धरान उपमहानगरपालिकाको पहलमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ। उनको स्वाब लिएर क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा पठाउनेबारे निर्णय हुन भने बाँकी नै छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एवं एसपी यज्ञविनोद पोखरेलले ४ जनाको खोजी भइरहेको बताए। ती ४ जना मध्ये एक जना मात्र भेटिएको उनले पुष्टि गरे। ‘सुनसरीको ४ जना हुन् भन्ने कुरा आयो। हामी खोजी गरिरहेका छौं,’एसपी पोखरेलले भने,‘एक जना धरान ६ को भेटिएर वीपी हस्पिटलमा पुर्याएका छौं, अरु कहाँ के गर्दैछन् भनेर खोजी हुदैछ।’

डराउनु पर्ने अवस्था छैन ः स्वास्थ्य मन्त्रालय प्रवक्ता

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले संक्रमित युवतीसँगै आएका अन्य यात्रुहरुको खोजी भइरहेको भएपनि आत्तिनुपर्ने अवस्था नभएको बताए। उनले यो बेला सबैको सहयोग हुनुपर्ने पनि बताए। ‘को कहाँ कुन अवस्थामा छन् भनेर पहिचान गर्न खोजेका हौं, उपचार चाहिने भयो भने अस्पताल लैजाने हो,’प्रवक्ता देवकोटाले भने,‘होइन भने घरमै अलग्गै बस्ने वा सरकारले तोकेको क्वारेन्टाइनमा १४ दिनसम्म बसेर सहयोग गर्ने हो।’

प्रकाशित: १३ चैत्र २०७६ ०२:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App