१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

खोटाङमा ३६ बेडको क्वारेन्टाइन तयार

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइन ।

खोटाङ – दिक्तेलमा ३६ बेडको क्वारेन्टाइन निर्माण गरिएको छ। कोरोना भाइरसको सम्भावित जोखिमका क्रममा उपयोग गर्ने गरी दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले दिक्तेलको माटिकोरेमा रहेको कडर्बहलमा मंगलबार क्वारेन्टाइन निर्माण गरेको हो। नेपाली सेना र रेडक्रसको सहयोगमा दुई घण्टामै क्वारेन्टाइन निर्माण गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताए। 

संक्रमण फैलिएका देशबाट फर्किएका स्थानीयलाई १४ दिनसम्म स्वास्थ्यकर्मीको निगरानीमा राख्ने गरी क्वारेन्टाइन निर्माण गरिएको हो। क्वारेन्टाइनमा हुनुपर्ने आवश्यक मापदण्ड पुरा गरेर चौबिसै घण्टा स्वास्थ्यकर्मी रहनेगरी क्वारेन्टाइन निर्माण गरिएको नगरपालिकाले जनाएको छ। क्वारेन्टाइनमा हुनुपर्ने बेसिक कुरा पुरा हुनेगरी क्वारेन्टाइन तयार पारिएको हो,’ मेयर रिजालले भने, ‘संक्रमित देशबाट फर्किएका स्थानीयलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिन्छ। समस्या देखिएमा उपचारमा पठाइन्छ। नत्र घर फर्काइने छ।’

क्वारेन्टाइनमा आवश्यक दुरीमा सुत्ने खाट र बस्ने कुर्सी राखिएको छ। क्वारेन्टाइन निर्माणका लागि सरस्वती माबिले फर्निचरसहयोग गरेको नगरपालिकाले जनाएको छ। दिक्तेलकै माउण्ट एभरेष्ट बोर्डिङ स्कुलमा क्वारेन्टाइन निर्माण गर्ने टुंगो गरिए पनि अवरोध आएपछि अन्तमा कबर्ड हलमा सरेर निर्माण गरिएको मेयर रिजालले बताए।

स्वीकृति आएपछि जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङको संयोजकत्वमा सोमबार भएको सरोकारवालाको बैठकले माउण्ट एभरेष्ट बोर्डिङ स्कुलमै क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको थियो। यसअघि जिल्ला अस्पतालमा तीन बेड भएको आइसोलेसन वार्ड निर्माण गरिसकिएको छ। 

खोटाङमा कोरोना रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति गठन गरिएको छ। जिल्ला समन्वय समितिका प्रमुख चाम्लिङको संयोजकत्वमा २१ सदस्यीय समिति गठन गरिएको हो। समितिको सदस्यमा जिल्लाका १० स्थानीय तहका प्रमुख, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान कार्यालय, जिल्ला अस्पताल, रेडक्रस र उद्योग बाणिज्य संघका प्रमुख रहेका छन्। 


 

प्रकाशित: १२ चैत्र २०७६ ०९:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App