coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कारोना त्रास : प्रदेश २ मा नाममात्रको तयारी

लहान- कतारबाट रोजगार गरि फर्केको तेस्रो दिन खोकीसँगै ज्वरो आएपछि औरही गाउँपालिका–५ का ४० वर्षिय कृष्णको (नाम परिवर्तन) परिवार अतालियो। परिवारजन उनलाई तुरुन्त प्राथमिक स्वास्थ्य केन्द्रमा लगेर स्वास्थ्य जाँच गरायो। स्वास्थ्यकर्मीले ज्वरो कम हुने औषधी दिएर कोरोना भाइरस (कोभिड–१९) को जाँच गराउन  सल्लाह दियो।

सुरुवाती लक्षण तथा ट्राभल हिस्ट्रील (यात्रा विवरण)बाट उनलाई स्वास्थ्यकर्मीले कोराना (कोबिड–१९)  जाँचको सल्लह दिएको औरही गाउँपालिका अध्यक्ष शिद्धार्थ यादवले बताए। जाँचका लागि उनलाई मंगलबार बिहान एम्बुलेन्समा राखेर जनकपुर स्थित जानकी मेडिकल कलेज तथा शिक्षण अस्पताल पठाएको उनले बताए। तर, यस अस्पतालले यहाँ केहि छैन जाँच हुँदैन भन्दै प्रादेशिक अस्पताल पठाइदियो। प्रादेशिक अस्पताल पुर्याउँदा यहाँ जाँच हुँदैन काठमाण्डौं लैजान भनेको एम्बुलेन्स चालक विरेन्द्र प्रसाद यादवले बताए। अब विरामीका एक जना आफन्तलाई लिएर काठमाण्डौंको टेकु स्थित शुक्रराज सरुवा रोग अस्पतात गइरहेको छु', उनले भने। जिल्ला जनस्वाथ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले कोरोनाका शंकास्पद विरामीलाई जनकपुरको जानकी र प्रादेशिक अस्पतालले भर्ना लिन अस्वीकार गरेपछि काठमाण्डौं पठाइएको बताए। प्रमुख जिल्ला अधिकारी सरोज प्रसाद गुरागाइँले भने,‘विरामीलाई जाँचका लागि पठाउँदा दुई वटै असपतालले भर्ना लिएनन्।’

कतारबाट रोजगार गरी शुक्रबार कतारवेजको विमानबाट अवतरण भई शनिबार घर फर्केका सप्तरी सुरुङ्गा नगरपालिकाका २७ वर्षिय युवकलाई पर्सिपल्ट सोमबार खोकीसँगै ज्वरो लाग्यो। गाउँकै उपचार केन्द्रमा औषधि गराउँदा निको भएन। परिवारलाई शंका लाग्यो। नगरपालिकाका मेयर मुक्ति चौधरीले जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवलाई घटना जानकारी गराए। उनले कोरोना भाइरस(कोभिड–१९) जाँचका लागि सल्लाह दिए। ती युवकको परिवार जनकपुर जानुभन्दा विराटनगर रोजे। जनस्वास्थ्य प्रमुख यादवका अनुसार प्रदेश २ मा कतै कोभिड–१९ को जाँच केन्द्र छैन्। उनीहरु जानकपुर बिराटनगर नै जाने भनेपछि हामीले उतै पठाइदियौं, यादवले भने।

उल्लिखित घटनाले प्रदेश २ मा कोरोना विरामीको जाँच तथा उपचारको बेहाल अवस्था वयान गर्छ। कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएका बिरामीको उपचारका लागि प्रदेश २ मा पाँचवटा ‘हब’ अस्पताल तयार पारिएको प्रदेशिक स्वास्थ्य निर्देशनालयका वरिष्ठ अधिकृत विजय झाले दावी गर्दै आएका छन्। क्रिटिकल केयरसहितको एक सय ५० वटा आइसोलेसन वार्ड तयार गरिएको उनको दावी छ।

जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा १०, नारायणी अस्पताल वीरगन्जमा १०, धनुषाको रमदैयास्थित जानकी मेडिकल तथा शिक्षण अस्पतालमा ६०, जनकपुरकै सिटी अस्पतालमा २० र वीरगन्जको नेसनल मेडिकल कलेजमा ५० गरी एक सय ५० आइसोलेसन वार्ड तयारी अवस्थामा रहेको उनी बताउँछन्।

झाले नागरिकसँग भने,‘जनकीबाट पठाइएको शंकास्पद विरामीलाई प्रादेशिक अस्पतालमा भर्ना गरिएको हुनुपर्छ, म अपडेट छुइनँ।’ प्रादेशिक अस्पतालमा त व्यवस्था छ झाले भने,‘यहाँ विरामी भर्ना गर्न आइसोलेसन तयार छ, एक पटक डाक्टर सावलाई सोध्नुस।’

प्रादेशिक अस्प्तालका प्रमुख डाक्टर नागेन्द्र यादवका अनुसार शुक्रबार कतार एयरवेजबाट अवतरण भएका ती यात्रुको लक्षण, ट्राभल हिस्ट्रीलगायत हेर्दा पोजीटिभ हुन सक्ने सम्भावना छ। यस अस्पतालमा उपकरणदेखि चिकित्सकीय सुरक्षा उपकरण नभएकोले रिस्क लिएर भर्ना गर्न सक्ने अवस्था छैन्, उनले भने। हामीसँग अहिले कोरोना विरामीको जाँच तथा उपचार गर्न सक्ने तयार नै छैन् डाक्टर यादवले नागरिकसँग भने,‘पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट नै नभएको अवस्थामा कसरी कोरोना विरामीको उपचारमा खटिन सकिन्छ ?’ हामीसँग मात्र नभई प्रदेशको कुनैपनि अस्पतालले कोरोना विरामीको उपचार गर्ने, जाँच गर्ने अवस्था छैन्, उनले प्रष्ट्याए। हामीले त्यो विरामीलाई काठमाण्डौंको टेकु स्थित शुक्रराज सरुवारोग अस्पताल रेफर गरिदिएका छौं उनले भने,‘त्यहाँ आइसोलेसन लगायतका सबै सुविधा छ।’

हब अस्पतालहरूमा कोरोना संक्रमित बिरामीका लागि भेन्टिलेटर, आइसियूसहितको क्रिटिकल केयर सेवा उपलब्ध भएको झाको दाबी र अस्पतालहरुको बेहाल हेर्दा यस प्रदेशमा कोरोना फैलिए सम्हाल्नै नसक्ने अवस्था आउने चिकित्सकहरु नै बताउँछन्।

जानकी मेडिकल कलेजका साहायक प्रशासक उमेश यादवले नागरिकसँग भने,‘सुरक्षा बिना हामी कोरोना सक्रमित विरामीको उपचार गर्न सम्भव छैन्।’ हाम्रो कलेजमा विद्यार्थी, प्रशिक्षार्थीदेखि अन्य विरामीहरु भर्ना छन, उनले भने,‘कोरोना विरामीलाई भर्ना गरेपछि अरु सेवा प्रभावित हुन्छ। र, स्वास्थ्यकर्मीहरु सुरक्षित अनुभूति गर्ने वातावरण पनि छैन्।’

दावी मात्र, तयारी छैन

पर्सा जिल्लामा ५० सैयाको क्वारेन्टाइन स्थापना भएको दावी गरिएको छ। हामीले एक ठाउँमा क्वारेन्टाइन तयार पारिसक्यौ नारायणी अस्पताल विरगंजका प्रमुख डाक्टर मदन उपाध्यायले नागरिकसँग भने,‘अरु ठाउँमा पनि ठाउँ खोजी गरेर क्वारेन्टाइन खडा गर्छौं।’ उनका अनुसार जिल्लाको तीन अस्पतालमा ५९ वटा आइसोलेसन वार्ड तयार पारिएको छ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा ५० बेड, वयोधा अस्पताल विरगंजमा ४ बेड र नारायणी अस्पताल विरगंजमा ५ बेड आइसोलेसन वार्ड तयार पारिएको डाक्टर उपाध्यायले बताए।

आइसोलेसन वार्ड तयार भएपनि व्यक्तिगत सुरक्षा उपकरण (पिपिइ) प्रयाप्त नभएको उनले बताए। नारायणी अस्पतालमा ४० वटा पिपिइ बाहेक कुनै अस्पतालसँग पिपिइ छैन्, उनले भने।

बारा जिल्लामा ७४ बेड क्षमताको क्वारेन्टाइन तयार भएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले दावी गरे। उनका अनुसार हुलास स्टिल इन्डस्ट्रिज नजीक उक्त  संरचना तयार गरिएको छ। कलैया अस्पतालमा १३ वटा आइसोलेसन बेड तयार पारिएको उनको दावी छ। पिपिइ २५ वटा मात्र भएकोले खरिद गर्न अस्पतालाई निर्देश गरिएको प्रजिअ पण्डितले बताए।

धनुषामा क्वारेन्टाइन छैन्। यहाँ ८५ वटा आइसोलेसन वेड तयार गरिएको प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाको दावी छ। एन –९५ मास्क, थर्मल गन, पिपिइ अभाव रहेको उनले बताए। 

महोत्तरीको जलेश्वर अस्पतालमा २० बेड आइसोलेसन तयार गरिएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको दावी छ। तर, थर्मल गन, मास्क, पिपिइको अभाव छ। प्रजिअ खत्रीले भने उपकरण र उपचार सामग्री खरिदका लागि प्रक्रिया अघि बढाइएको छ।

सिरहामा ४९ बेडसहितको आइसोलेसन कक्ष तयार रहेको प्रमुख जिल्ला अधिकारी सरोज गुरागाइँको दावी छ। फूलकुमारी मेमोरियल अस्पताल कर्जन्हामा २४ बेड, आरके मेडिसिटि धनगढीमाईमा ७ बेड र महेन्द्र गेनाई अस्पताल छपराडीमा १८ बेड आइसोलेसन बार्ड सहित एक सय थान पिपिइ समेत मौजदात रहेको उनले बताए।

सप्तरीमा ६८ वटा आइसोलेसन बेड तयार गरिएको प्रमुख जिल्ला अधिकारी सुनिल खनालको दावी छ। उनकाअनुसार छिन्नमस्ता अस्पतालमा २० बेड, युनिक अस्पतालमा २० बेड, गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा ६ बेड र रुपनी स्थित प्रहरी अस्पतालमा १० बेड आइसोलेसन कक्ष तयारी गरिएको छ। छिन्नमस्तामा ८ बेड आइसियु र युनिकमा ५ बेड आइसियु छ।

 

प्रकाशित: १२ चैत्र २०७६ ०९:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App