७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

संक्रमण नफैलियोस भन्दै नगरपालिकाद्वारा पूजा र बलि

कोरोना भाइरसको सक्रमणको संकटमोचनको लागि पूजा र बलि बोकाको संकल्प गर्दै त्रिपुरासुन्दरी नगरपालिकाका मेयर ओमबहादुर बुढासहितका जनप्रतिनिधि र कर्मचारी ।

डोल्पा- जिल्लामा कोरोना भाइरसको संक्रमण नफैलियोस भन्दै यहाँको एक नगरपालिकाले भगवती मन्दिरमा बलि बोका चढाएर विशेष पूजाआजा गरेको छ। नेपालमा पनि कोरोना संक्रमित युवती फेला परेको समाचारसंगै देश पूर्णरुपमा लकडाउनमा रहेको बेला त्रिपुरासुन्दरी नगरपालिकाले नगरका ११ वटै वडाबासी लगायत जिल्लाबासी र नेपाली जनतामा कोरोना लगायतको कुनै पनि प्रकारको संक्रमणले अकालमा ज्यान नजाओस भन्दै चैते दशैको घटस्थापनाको दिन पारेर बोका बलि चढाएर पूजाआजा गरेको हो।

त्रिपुरासुन्दरी नगरपालिका-१ कोट डाँडामा अवस्थित नेपालकै प्रमुख शक्तिपीठ मध्येको एक श्रीवाला त्रिपुरासुन्दरी भगवतीको मन्दिरमा नगरपालिकाका मेयर ओमबहादुर बुढा वडा नं १ र ४ का वडा अध्याक्ष कर्मसिं थापा श्रीदल बुढा निमित्त कार्यालय प्रमुख रमेश रावत र लेखापाल रुपचन्द्र बुढासहितको टोली मन्दिरमा पुगेर बिशेष पूजाआजा गरि बोकाबलि चढाएर नगर जिल्ला र देशबासीको दिर्घ जीवनको कामनासहित कोरोना नफैलियोस भनेर भगवतीसंग याचना गरेका छन्। नेपाल देश र नेपाली दैवीशक्तिमा आशक्त भएकाले र जस्तोसुकै संकटमा पनि ईश्वरप्रति विश्वास मान्दै संकटमोचनको कामना गर्दै आएको र अहिले पनि विश्भर फैलिएको कोरोना भाइरसबाट नगरका ११ वटा वडा जिल्ला र देशबासिको रक्षाको कामनासहित यस्तो गरेको  नगरका मेयर ओमबहादुर बुढाले बताए।

यसैगरि चैते दशैको अवधिभर मन्दिरमा दर्शनार्थीहरुको भीडभाड हुन नदिन मन्दिर परिसर क्षेत्रमा कुनैपनि किसिमको किराना पसल, होटल तथा मेला सञ्चालन गर्न नपाउने भनिएको छ। देश पूर्णरुपमा लकडाउन भए पनि परम्परा दिगोरुपमा बाचर्य राख्न र विगतका वर्ष झै चैत १९ गते दशैको दिनमा मन्दिरका लिङ्गा फेरबदल गर्न नेपाली सेना र नेपाल प्रहरीलाई सहयोग माग गर्ने निर्णय समेत मन्दिरका मुख्य पुजारी लक्ष्मीप्रसाद उपाध्याय त्रिपुरासुन्दरी नगरका मेयर ओमबहादुर बुढा र सरोकारवालाहरु समेतको उपस्थितीमा गरिएको छ। दशै अवधिभर मन्दिरमा बिशेष सुरक्षाकर्मी परिचालन मन्दिर प्रवेशद्वार मानिएको कोट खौलोमौलामा हेल्थ डेक्स स्थापना गर्ने निर्णय समेत गरिएको मन्दिरका फुलहारा तुलबहादुर विष्टले जानकारी दिए।

यसैबीच त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ४ रंग गाउँको तर्फबाट पनि विश्वभर फैलिएको कोरोनाको लगायतका अन्य रोगहरुको संक्रमण नफैलियोस भन्दै भगवतीकै मन्दिरमा एकरात जागा बसेर बलि बोकासहित पूजाआजा गरि संकटमोचनको कामना गरिएको वडा अध्यक्ष श्रीदल बुढाले बताए।
 

प्रकाशित: १२ चैत्र २०७६ ०८:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App