coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दुई सातायता विदेशबाट आएकाहरुको तथ्यांक संकलन गरिदै

धरान- धरान उपमहानगरपालिकाले विगत दुई सातामा विदेशबाट आएका व्यक्तिहरुको खोजी गर्न थालेको छ। कोरोना भाइरस(कोडिभ-१९)को संक्रमणको जोखिम न्यूनीकरणको लागि गृहमन्त्रालयको निर्देशन अनुसार उपमहानगरले पनि तथ्यांक संकलन गर्न थालेको हो।

उपमहानगरपालिकाले तीन दिनअघि नै प्रत्येक वडा कार्यालयमा १५ दिनभित्र घर फर्किएका व्यक्तिहरुको खोजी गरेर जानकारी गराउन पत्राचार गरेको थियो। उपमहानगरको पत्र पाएपछि अहिले धरानका वडाहरुले विदेशबाट आएकाहरुको तथ्यांक संकलन धमाधम गरिरहेको छ। ‘मन्त्रालयले १५ दिनभित्र विदेशबाट आएकाहरुको विवरण पठाउन भन्यो, हामीले पनि वडामा पत्राचार गरेर चाडो पठाउन भनेका छौं,’उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले भने।

काठमाण्डौंमा विदेशबाट आएकी युवती कोरोना संक्रमित भएको पुष्टि भएसँगै धरानका वडाहरुले पनि विदेशबाट आएकाहरुको खोजी कार्य तीव्र पारेका छन्। सोही क्रममा वडाहरुमा थुप्रै विदेशबाट आएकाहरु भेटिएको र उनीहरु होम क्वारेन्टाइनमा पनि नभएको पाइएको छ। यसले कोरोना संक्रमणको जोखिम भएको भन्दै जनप्रतिनिधिहरु चिन्तित छन्। ‘हामी टोल, बस्तीहरुमा विदेशबाट आएका मान्छेहरु खोजी गरिरहेका छौं,थुप्रै भेटिसकयौं,’वडा १६ का अध्यक्ष दिलकुमार गिरीले भने,‘केहीलाई वीपी हस्पिटल पनि पठाएका छौं।’

वडाअध्यक्ष गिरीले विदेशबाट आएपछि होम क्वारेन्टाइनमा नबसेको पनि पाइएको बताए। यसले गर्दा वडाबासीहरु भयभित अवस्थामा पनि रहेको उनले बताए। ‘विदेशबाट आएर क्वारेन्टाइनमा बसेको रहेनछ, यसले गर्दा पनि वडाबासीहरुमा एक किसिमको त्रास भएको छ,’अध्यक्ष गिरीले भने। मंगलबार विदेशबाट आएका धरान १६ का ३ जनालाई वीपी प्रतिष्ठान लगिएको थियो। तीमध्ये एक जना कतार, एक जना कोरिया र एक जना मलेसियाबाट आएका हुन्। कतारबाट आएका व्यक्ति उतै क्वारेन्टाइनमा बसेर आएको कागज साथमा भएकोले घर फिर्ता भएका छन् भने अन्य २ जना प्रतिष्ठानमा नै छन्।

डराउनु पर्ने अवस्था छैन : स्वास्थ्य मन्त्रालय प्रवक्ता
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले संक्रमित युवतीसँगै आएका अन्य यात्रुहरुको खोजी भइरहेको भए पनि आत्तिनुपर्ने अवस्था नभएको बताए। उनले यो बेला सबैको सहयोग हुनुपर्ने पनि बताए। ‘को कहाँ कुन अवस्थामा छन् भनेर पहिचान गर्न खोजेका हौं, उपचार चाहिने भयो भने अस्पताल लैजाने हो,’प्रवक्ता देवकोटाले भने,‘होइन भने घरमै अलग्गै बस्ने वा सरकारले तोकेको क्वारेन्टाइनमा १४ दिनसम्म बसेर सहयोग गर्ने हो।’

प्रकाशित: १२ चैत्र २०७६ ०७:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App