८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

अलपत्र परेका ९ जना यात्रुको उद्धार

रसुवा – मंगलबारदेखि देश ‘लकडाउन’ भएको घोषणा गरेसँगै बीच बाटोमा अलपत्र परेका ९ जना यात्रुको उद्धार गरिएको छ। हेटौडाबाट रसुवा आउने क्रममा मंगलबार साँझ बीच बाटोमा अलपत्र परेका जिल्लाको राम्चे र ग्राङका ९ जना यात्रुलाई उद्धार गरेर घर पुग्ने व्यवस्था मिलाईएको हो। 

जिल्लाको स्याफ्रुमा रहेका ५ जना विदेशीलाई काठमाडौं पठाउन लागिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए। जिल्लाबासी सेल्फ क्वारेन्टाइनमा बसेका कारण जिल्लामा अहिलेसम्म समस्या सिर्जना नभएको उनको भनाइ छ। 

यस्तै जिल्लामा बुधबारदेखि केही समय पहिले विदेशबाट फर्केका व्यक्तिको घरघरमा पुगेर निरीक्षण गरिने भएको छ। चैत ६ गतेदेखि जिल्लामा सञ्चालनमा रहेका हेल्थ तथा हेल्प डेक्सले विदेशबाट आएका नेपालीको विवरण राखेका थिए। 
सोहि विवरणलाई आधार मानेर आजदेखि उनीहरूको अवस्था बुझ्न लागिएको हो। यसका लागि वडा कार्यालय, स्वास्थ्य चौकी तथा प्रहरी चौकीबाट खटिएका टोलीले विवरण अद्यावधिक गर्ने छन्। 

जिल्लामा खाद्य सामग्री, पोल्ट्री फर्मका लागि ल्याउने दाना, औषधि ल्याउने सवारी साधन र स्थानीयले उत्पादन गरेका तरकारी तथा आलु बजारसम्म पु¥याउनका लागि अनुमति दिएको प्रजिअ भण्डारीले बताए। गएको २४ घण्टामा जिल्लामा अन्य घटना नभएको उनले जानकारी दिए। 

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को शंकास्पद बिरामीहरूको निगरानी तथा उपचारको व्यवस्थापनका लागि जिल्लाको दुई स्थानमा क्वारेन्टाइन स्थापना भएको छ। गोसाइँकुण्ड गाउँपालिकाको धुन्चे र स्याफ्रुमा क्वारेन्टाइन सञ्चालनमा ल्याइएको हो। 

धुन्चेमा रहेको कृषि ज्ञान केन्द्र र पशु सेवा केन्द्रमा ५० शैया र स्याफ्रुको कोमिनस्यामेवाङ्फेल माविमा १५ शैयाको क्वारेन्टाइन सञ्चालनमा आएको हो। जिल्लाको पाँचवटै गाउँपालिकामा बुधबारदेखि २ सय १० शैयाको क्वारेन्टाइन सञ्चालनमा आउने छ। 

प्रकाशित: १२ चैत्र २०७६ ०७:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App